• बुधबार-असोज-२३-२०८१

बिपी राजमार्ग : चौकी डाँडामा एकतर्फी अस्थायी सडक निर्माण


काभ्रेपलाञ्चोक, २२ असोज : बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका-६ र रोशी गाउँपालिका-७ सीमास्थल चौकीडाँडामा रोशी खोलाको बाढीले दुई सय मिटर सडक बगाएपछि अवरुद्ध सडक एकतर्फी सञ्चालन हुनेगरी निर्माण गरिएको छ । रोशी खोलाको बहावलाई सोझ्याएर खोला किनारमा अस्थायी रुपमा यातायात सञ्चालन हुनेगरी निर्माण गरिएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको हो । 

 

पाँच दिनको अवधिमा उक्त स्थानमा एकतर्फी सवारीसाधन सञ्चालन हुनेगरी स्थायी सडक निर्माण गरिएको कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर सुमन योगेशले जानकारी दिनुभयो । उहाँका अनुसार आवश्यक जनशक्ति तथा उपकरण परिचालन गरी पाँच दिनमा सोमबारदेखि सवारीसाधन सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो । “रोशी खोलादेखि करिब २० देखि ५० मिटरसम्म उचाइमा अवस्थित उक्त स्थानको सडक तलसम्म नै कटान भएको थियो । हिजोदेखि चौकीडाँडामा एकतर्फी सडक सञ्चालनमा ल्याएका छौँ”, कार्यालय प्रमुख योगेशले भन्नुभयो । खोलाको बहाव नघट्दा ‘क्रस–डाइभर्ट’ गर्न सजिलो र छिटो तरिका अपनाउन नसकिएको उहाँले बताउनुभयो । 

 

अविरल वर्षाका क्रममा यही असोज १२ गते शनिबार उक्त स्थानमा सडकसम्पर्क टुटेपछि रोशी गाउँपालिकाका विपद्पीडित तथा राजमार्ग हुँदै मध्यपहाडी क्षेत्र एवं पूर्वी तराईबाट आएका यात्रु अलपत्र परेका थिए । त्यसको भोलिपल्टदेखि हेलिकप्टरमार्फत उद्धार थालिएको थियो । 

 

विभिन्न स्थानमा बाढीले सडक अवरुद्ध बनाएपछि उक्त राजमार्गमा रोकिएका सवारीसाधन सञ्चालन गर्न काभ्रेपलाञ्चोकको भकुण्डेबेसी र सिन्धुलीको नेपालथोकबाट तेमालको सडक मर्मत गरी दुई दिनअघि सञ्चालनमा ल्याइएको थियो । “कार्यालयले उक्त राजमार्ग सञ्चालनार्थ काभ्रेतर्फबाट चार मेसिन प्रयोग गरेको थियो भने सिन्धुलीको नेपालथोकबाट काभ्रेपलाञ्चोकतर्फ पाँच डोजरलगायत मेसिन प्रयोग गरेको थियो । जनकपुरबाट आएका पाँच मेसिनबाट मङ्गलटार र नार्केसम्म बाटो मर्मत गरेर केही सवारीसाधनलाई नेपालथोक हुँदै सिन्धुलीतर्फ नै फर्काएको थियो”, कार्यालय प्रमुख योगेशले भन्नुभयो । 

 

योगेशका अनुसार भकुण्डेदेखि नेपालथोकसम्मको सडक केकति क्षति भयो भन्ने यकीन तथ्याङ्क नआए पनि २९ मिलोमिटरको यस दूरीमा करिब दुई किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त रहेको अनुमान छ । यस्तै राजमार्गको कूल एक सय ६० किमीमध्ये सिन्धुलीको खुर्कोटदेखि नेपालथोकसम्म ३४ किमी र नेपालथोकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ५० किमी गरी ८४ किमी सडकका विभिन्न स्थानमा बढी क्षति पुर्‍याएको कार्यालयले जनाएको छ । 

 

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले राजमार्ग सडक निर्माण गर्दा प्रति किमी रु ३५ करोड लागत थियो । उक्त रकम हालको हिसाबमा रु ५० करोडभन्दा माथि पर्नेछ । क्षति पुगेको करिब दुई किमी सडक र अन्य स्थानमा भएको क्षतिको मूल्याङ्कन गर्दा रु दुई अर्बभन्दा माथिको क्षति भएको  प्रारम्भिक अनुमान गरिएको जनाइएको छ । 

 

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार बिपी राजमार्गको भकुण्डे–नेपालथोक सडकखण्डको १४ स्थानमा करिब एक हजार नौ सय मिटर सडक अवरुद्ध भएको थियो । अवरुद्ध राजमार्गको नेपालथोक–खुर्कोट सडकखण्ड भने असोज १४ गतेदेखि एकतर्फी सञ्चालनमा ल्याइएको छ । 

 

जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/०५४ बाट बिपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास एक सय ६० किमी सडक) निर्माण कार्य सुरु गरिएको थियो । विभिन्न खण्डमा विभाजन गरी निर्माण भएको सडक विसं २०७२ असार १८ गते औपचारिक रुपमा नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो । तत्कालीन अवस्थामा जापान सरकारको २६ बिलियन जापानी येन र नेपाल सरकारको एक दशमलव एक बिलियन (जापानी येन) लागतमा उक्त राजमार्ग निर्माण भएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ । 
---

 

प्रतिकृया दिनुहोस