• बिहीबार-असोज-३-२०८१

चर्को घाममा गन्धर्व दाइको सारङ्गीले गाडीका यात्रुको आँ सु दर्क्यो

'नसोध मलाई कहाँ लाउँछ माया, मनमा छ हेर' 



काठमाडौं,२ असोज । बुधबारको दिन । बाहिर चर्को घाम  थियो । गौशालामा पशुपतिनाथको दर्शन गर्न पुगेका हामी दर्शन गरिसकेर घर फर्किनको  लागि चौकी नजिकै बस कुरिरहेका थियौं । 


घडीमा झन्डै ४ बज्न  लागिसकेको थियो । नभन्दै चक्रपथको बस आयो । सिट नपाउँला कि भनेर हामी हतारहतार बस चढ्यौँ । एकछिन पछि गाडी आफ्नै रफ्तारले एयरपोर्टतिर अगाडि बढ्यो । निकै गर्मी थियो । एयरपोर्टमा पुगेपछि केही यात्रुहरु ओर्लिए भने केही यात्रु चढे । 


यात्रुसँगै एक जना गन्धर्व दाइ सारङ्गी बोकेर बस चढे । गाडीको ढोकाबाट चढेपछि गन्धर्व दाईले सारङ्गी रेट्दै गीत गाउँन सुरु गरे 'नसोध मलाई कहाँ लाउँछ माया मनमा छ हेर' । 


गाडी स्पिडमा थियो । झ्यालबाट आएको शीतल हावामा मिसिएको गन्धर्व दाइको गीतले गर्मीमा झनै शीतलता दिँदै थियो । दु:ख र पीडालाई टुक्कामा मिलाउँदै उनी गीत गाउँदै थिए । मैलो कपडा । हातभरी काँडाले कोतारेको जस्तो चोटहरु देखिन्थ्यो । तीनै हातले सारङ्गी रेट्दै दु:ख कहदै थिए उनी ।


मलाई उनको बारेमा जान्न मन लाग्यो । नजिक हुँदै मैले केही कुरा सोधे । उनी दाङका कृष्ण गन्धर्व रहेछन् । उमेरले ३८ वर्ष पुगेका उनको दिनचर्या यसै बित्दोरहेछ । कहिले सडक, कहिले गाडीमा गीत गाउँदै सारङ्गी रेट्दै हिँड्दा रहेछन् उनी । दयाले दिएको पैसाले जीविका चलाउँदा रहेछन् ।

 

गाडीमा चढेका मनकारी मान्छेहरूले केही पैसा दिए । यात्रुलाई शुभ आशीर्वाद दिएर उनी कोटेश्वरमा झरे । गन्धर्व  झरेपछि उनका वेदनाका बारेमा यात्रुहरुले कुरा गर्दै थिए । भन्दै थिए,'विचरा ! यसरी कतिन्जेल चुलो बाल्ने होला ? राज्यले केही व्यवस्था गर्दिए त हुन्थ्यो ।'

 

साँच्चै सूचना र संचारको पुरानो माध्यम गन्धर्वको पेशा अहिले एकाएक विस्थापित भएको छ । सूचना र संचार प्रविधि रेडियो, पत्रपत्रिका, टेलिभिजन, फोन मोबाइल  जस्ता अत्याधुनिक सूचना प्रविधिको विकासले गन्धर्वको पेशालाई विस्थापित बनाएको हो ।  त्यसैले त गाउँ घरमा गाइने खबरमूलक मर्मस्पर्शी हृदय विदारक गीत गुञ्जन छाडेका छन् ।


-रिकेश विश्वकर्मा(क्षितिज )
 

प्रतिकृया दिनुहोस