• बुधबार-असोज-२-२०८१

मध्यपहाडी लोकमार्गअन्तर्गत ‘डेउडी-भर्‍याङभुरुङ’ खण्ड अबरुद्ध

त्रिशूली (नुवाकोट), ३० भदौः मध्यपहाडी लोकमार्गअन्तर्गत नुवाकोटको डेउडी-भर्‍याङभुरुङ खण्डमा गए रातिको अबिरल वर्षाले क्षति पुर्‍याउँदा आवतजावत प्रभावित भएको छ ।

 

    विदुर नगरपालिका–१३ सुन्दरेफाँट र हुलाकघर स्थित दहीचिउरे खोलामा आएको बाढीले नुवाकोटको सामरीबाट धादिङहुँदै गोरखा जाने सडक अबरुद्ध भएको हो ।

 

    बाढीले क्षति पुर्‍याउँदा करिब चार किलोमिटर सडकमा आवतजावत गर्न सक्ने अवस्था छैन भने सुन्दरेफाँट र हुलाकघरको सडक आसपासमा बासोबास गर्ने ५५ घरधुरी परिवारको आवासमा क्षति पुगेको विदुर-१३ का अध्यक्ष भरतबहादुर तामाङले जानकारी दिनुभयो ।

 

    उहाँका अनुसार सडक निर्माणको जिम्मेवारी लिएको निर्माण व्यावसायी पछिल्लो एक वर्षदेखि कार्यक्षेत्रमा फर्किएको छैन । साथै राष्ट्रिय गौरवको आयोजनाको कार्यक्षेत्रभित्र पर्ने भएकाले अर्को निकायले काम गर्न नपाउँदा अबरुद्ध सडक सञ्चालनमा समस्या भएको छ ।

 

    मध्यपहाडी लोकमार्गअन्तर्गत नुवाकोटको विदुर-१३ डेउडीबाट सामरीभञ्याङहुदै धादिङको कटुञ्जेसम्म १३ दशमलव पाँच किलोमिटर सडक कालोपत्रसहित लुम्बिनी/मृतसञ्जिवन जेबीले विंस २०७५ असारमा जिम्मेवारी पाएको थियो ।

(फाइल तस्बिर)
---

प्रतिकृया दिनुहोस