• बुधबार-असोज-२-२०८१

स्थानीय निकायले बेवास्ता गरेका भुम्लेली युवालाई एमालेको साथ

काठमाडौँ,३० भदौ । नेपाल कम्युनिष्ट पार्टी(एमाले)ले आत्मनिर्भरता, स्वरोजगार र रोजगारको अवसर सिर्जना गराउन ड्राईभिङ कक्षा सुरु गरेको छ।


विशेषगरी  कामको सिलसिलामा काठमाडौं आएर बसोबास गर्ने काभ्रे जिल्ला भुम्लु गाउँपालिकाका नागरिक लक्षित गरेर नेपाल कम्युनिस्ट पार्टी (एमाले) भुम्लु काठमाडौं सम्पर्क मञ्चले ड्राईभिङ अभिमुखीकरणको कक्षा सुरु गरेको हो  ।


तालिममा ४५ जना सहभागी भएका छन् । जसमा ८ जना महिला छन् । नसक्ने र आर्थिक अवस्था कमजोर भएकाहरुलाई निशुल्क र अरुलाई पाँच हजार रुपियाँमा तालिम दिने बताइएको छ ।


 भुम्लुका नागरिकलाई आत्मनिर्भर बनाउने पहिलो लक्ष्य रहेको उक्त कार्यक्रममा सुरुमा २० दिनको कक्षा लिने र  त्यति दिनमा लाइसेन्स लिन नसकेमा पुनः थप सीप सिकाएर ड्राईभिङको लाइसेन्स निकाल्न सक्ने बनाउने लक्ष्य लिएको सम्पर्क मन्चको भनाइ छ ।


 ड्राईभिङ तालिम लिन आएका युवासँग नेकपा एमालेका पोलिटव्यूरो सदस्य, संघीय सांसद गोकुलप्रसाद बाँस्कोटाले समेत अन्तरकृया गरेका थिए ।


कक्षाको शुभारम्भ गर्दै सांसद एवं पूर्वमन्त्री बाँस्कोटाले नेकपा एमाले भुम्लु काठमाडौं सम्पर्क मञ्चको समन्वयमा भएको तालिमले रोजगारीको आधार सिर्जना गराएको  विचार व्यक्त गरेका थिए ।  'तालिम सीप, श्रम र रोजगारी नै उत्पादन बृद्धिको आधार  हो' उनले भनेका छन् ।


 युवालाई सिप र रोजगारसँग जोड्ने लक्ष्य लिएर कक्षा सुरु गरिएको नेकपा एमाले भुम्लुका अध्यक्ष प्रेम लामाले जानकारी दिए ।

 

'हामीले भुम्लुका युवालाई जहाँ पनि प्रतिस्पर्धा गर्न सक्षम बनाउन नै यो कार्यक्रम ल्याएका हौं, हामी अझै महिलाहरुको लागि पनि छुट्टै कार्यक्रम ल्याउने तयारीमा छौँ' लामाले बताए ।


लामाले सिप र श्रम बिना युवाको भविष्य उज्जव नहुने भएकाले ड्राईभिङ तालिम दिएर स्वरोजगार र रोजगार बनाउने अभियान अघि बढाएको दावी गरे ।


आफू भुम्लुको माटोमा हुर्किएको र भुम्लेली नागरिकलाई आत्मनिर्भर बनाउन पाए बेग्लै आनन्द हुने लामाको भनाइ छ ।


भुम्लुको स्थानीय स्थतरमा नेतृत्व गर्नेहरुले युवाप्रति कुनै चासो नदेखाए पनि एमालेको भुम्लु काठमाडौं सम्पर्क मन्चले  ड्राइभिङ कक्षा सुरु गरेपछि भुम्लेली युवाहरूले खुसी व्यक्त गरेका छन् ।

-क्षितिज सर्गम

प्रतिकृया दिनुहोस