• बुधबार-असोज-२-२०८१

‘निर्वाहमुखी कृषि क्षेत्रलाई निर्यातमुखी बनाइने’ : मुख्यमन्त्री कार्की

 

मोरङ, २७ भदौ : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले निर्वाहमुखी कुषि क्षेत्रलाई निर्यातमुखीको रुपमा विकास गर्ने बताउनुभएको छ ।

 

नेपाल उद्योग व्यापार महासङ्घ कोशीद्वारा आज मोरङको कटहरीस्थित  कृषि थोक बजारमा आयोजित चार दिने कृषि एक्स्पोको उद्घाटन गर्दै उहाँले  सरकारको आवधिक योजनाको मुख्य उद्देश्य, नीति तथा कार्यक्रम र बजेटमा कृषि  क्षेत्रको उत्पादन वृद्धि गर्न दृढ सङ्कल्पित रहेको जानकारी दिनुभयो ।

 

उहाँले मुलुकको आर्थिक क्षेत्रलाई चलायमान गराउन निर्यात प्रवर्द्धन गर्ने र आयात प्रतिस्थापन गर्ने गरी राष्ट्रिय पूँजीको विकास गर्ने कुरामा विशेष ध्यान दिनु आजको आवश्यक्ता रहेको चर्चा गर्नुभयो । उहाँले प्रदेशको विसं २०८१ देखि ८५ सम्मको दोस्रो पञ्चवर्षिय योजनामा कृषि, पर्यटन र सूचना प्रविधिको क्षेत्रलाई विशेष प्रोत्साहन दिने नीति लिएको उल्लेख गर्नुभयो ।

 

मुख्यमन्त्री कार्कीले निजी क्षेत्रको सहकार्यमा विसं २०८१ मै लगानी सम्मेलनको आयोजना गर्ने जानकारी दिँदै यसमा प्रदेश सरकारले राखेका एक सय वटा कृषि, उद्योग, पर्यटन, सूचना प्रविधि र जलस्रोत जस्ता योजनामा स्वदेशी तथा विदेशी लगानीकर्ताको आकर्षण हुने विश्वास राख्नुभयो ।

 

उहाँले निजी क्षेत्रको सहकार्यमा कृषि थोक बजारलाई व्यवस्थित रुपमा सञ्चालन गर्न आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै यसबाट कृषिको बजारीकरण, कृषकलाई उत्पादनमा सहयोग पुग्ने विश्वास राख्नुभयो ।

 

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले दुग्धजन्य पदार्थको विविधिकरण गरी बजार विस्तार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सरकारले कृषि क्षेत्रमा उत्पादन वृद्धि, आत्मनिर्भर गर्न विसं २०८१–९१ कृषि लगानी दशक घोषणा गरेको जानकारी दिनुभयो । उहाँले उक्त कार्यले कृषि क्षेत्रमा निजी क्षेत्रको सहभागिता कायम भइ कृषिमा व्यवसायीकरण हुने विश्वास व्यक्त गर्नुभयो ।

कृषि तथा पशुपंछी विकासमन्त्री रामनाथ अधिकारी र कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की नेपाल उद्योग व्यापार महासङ्घ कोशी प्रदेशद्वारा कृषि एक्स्पोको संयुक्त रुपमा उद्घाटन गर्दै । तस्बिर : मनोज दाहाल/रासस

 

मन्त्री अधिकारीले कृषि थोक बजार केन्द्रलाई प्रदेश र स्थानीय तहले संयुक्त रुपमा सञ्चालन गरी कृषि प्रवर्द्धनमा सहयोग पु-याउनु पर्नेमा जोड दिनुभयो । महासङ्घका प्रदेश अध्यक्ष राजेन्द्र राउत, उपाध्यक्ष ज्योत्सना श्रेष्ठ, स्वीस कन्ट्याक्टका टिम लिडर रिमा श्रेष्ठ, कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले कृषिमा निजी क्षेत्रलाई आकर्षित गरी निर्यात गर्न सकिने धारणा राख्नुभएको थियो ।

चार दिनेसम्म सञ्चालन हुने उक्त एक्स्पोमा एक सय ३० वटा स्टल छन् । स्टलमा कोशी प्रदेश, भारतको विहार र बङ्गालका नविनतम कृषि औजार यन्त्र, प्रविधिको प्रदर्शन, उन्नत जातका पशुपन्छी, पर्यावरणमैत्री ज्ञान, सीप र प्रविधि, कृषि विज्ञसँग छलफल, नयाँ अनुसन्धान र परियोजनाको प्रस्तुति, कृषि पन्छी तथा कृषि उपज प्रतियोगिता, खेतदेखि भान्साको अनुभव आदिको कार्यक्रम रहेका छन् ।

 
कृषिजन्य उत्पादनको प्रवर्द्धन र विस्तार, बजारीकरण, मूल्य अभिवृद्धि एवं रोजगारी सिर्जना गरी राष्ट्रिय अर्थतन्त्रमा सहयोग पु-याउन एक्स्पो आयोजना गरिएको आयोजकले जनाएको छ ।
---

 

प्रतिकृया दिनुहोस