गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे तत्काल एमालेलाई सरकारमा ल्याउन नचाएको बताइएको छ । केन्द्रमा एमाले र माओवादीको गठबन्धन भएका बेलामा गण्डकी प्रदेशमा कांग्रेसको सरकार टिकाएका पाण्डे अहिले सजिलै एमालेलाई सरकार भित्र्याउने पक्षमा नभएको गण्डकीमा चर्चा हुन थालेको छ । त्यही कारण पाण्डे घुँडाको समस्या देखाएर उपचारका लागि दिल्ली पुगेका छन् ।
दिल्ली जानुअघि एमालेसँग सत्ता साझेदारको रुपमा छलफल नगरेको एमाले नेताहरु बताउँछन् । पाण्डे अहिले पनि बहुमतको सरका चलाइरहेका छन् । एमाले र माओवादी केन्द्रबाहिर हुँदा पनि बहुमतमा रहेका पाण्डे एमालेलाई भित्र्याएर सत्ताको भाग लगाउन चाहिरहेका छैनन् ।
सत्ता भाग लगाउँदा हरेक कुरामा एमालेसँग भाग लगाउनुपर्ने हुन्छ । त्यसले एमालेलाई नै बलियो बनाउने भन्दै पाण्डे एमालेलाई साइजमै राख्नुपर्ने पक्षमा रहेका पनि बताइएको छ ।
दिल्ली जानुअघि पनि छलफल नगरेका मुख्यमन्त्री पाण्डे दिल्लीबाट कहिले फर्किन्छन् भन्ने प्रष्ट छैन । साता दिनको लागि भनिएपनि लम्बिन सक्ने बताइएको छ । त्यो बाहेक सत्ता गठबन्धनमा बहुमत पुर्याउन लागि पाण्डेलाइृ संकटमा साथ दिएका फडिन्द्र देवकोटा र दीपक मनांगेलाई हटाउन पाण्डेले चाहेका छैनन् ।
उनीहरु दुवै जना मन्त्री रहेका छन् । एमाले भने उनीहरुलाई हटाएपछि मन्त्रालय भागबण्डा गर्न सजिलो हुने तर्क गरिरहेको छ । उनीहरुको व्यवस्थापन अहिले पाण्डेका लागि चुनौतीको विषय बनेको हो ।
संकटमा प्रदेश सरकार बनाउन सहयोग गरेका प्रदेशका दुई सांसदलाई छोडेर एमालेको भनाइ अनुसार अगाडि बढ्न नसक्ने कांग्रेसका तर्क रहेको छ । तर, एमाले भने उनीहरुलाई हटाउने वा राख्ने मुख्यमन्त्री पाण्डेको जिम्मेवारी भएको तर मन्त्रालय नबढाई सत्ता साझेदारी केन्द्रीय लाइन अनुसार हुनुपर्ने तर्क गरिरहेका छन् ।
त्यसैले ,अहिले गण्डकी प्रदेशमा एमाले र कांग्रेसको सरकार बनाउन समस्या बढेको छ । पाण्डे दिल्लीबाट फर्केपछि उनले सभापति शेरबहादुर देउवासँग छलफल गरेर सत्ता साझेदारसँग छलफल हुने बताएको छ । त्यसैले, एमाले गण्डकी प्रदेश सरकारमा आउन अझै केही साता लम्बिने संभावना रहेको एमाले नेताहरु बताउँछन् ।
प्रतिकृया दिनुहोस