• बिहीबार-असोज-२-२०८२

जेन-जी आन्दोलनमा संयमता देखाएकोमा गृहमन्त्री अर्यालद्वारा नेपाल प्रहरीकाे उच्च प्रशंसा

काठमाडौं, २ असोज । गृह, कानून, न्याय तथा संसदीय मामिला मन्त्री ओमप्रकाश अर्यालले बिहीबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्नुभई प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो ।

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गसहित वरिष्ठ अधिकृतहरूले गृहमन्त्रीलाई स्वागत गरेका थिए । निरीक्षणपछि आयोजित कार्यक्रममा मन्त्री अर्यालले उपस्थित तथा भर्चुअल रूपमा जोडिएका प्रहरी अधिकृत र जवानलाई सम्बोधन गर्दै हालैको जेन-जी आन्दोलनको क्रममा देखाइएको संयमता र सहनशीलताको प्रशंसा गर्नुभयो । उहाँले भन्नुभयो, “यदि प्रहरीले निरन्तर बल प्रयोग गरेको भए संकट अझ गम्भीर बन्थ्यो । नेपाल प्रहरीका संयमित कदमले ठूलो क्षति टार्न सकियो ।”

गृहमन्त्रीले प्रहरी सेवाको आवश्यकता आम नागरिकले अझ प्रष्टसँग बुझेकै कारण हालै तोडफोड र आगजनीमा परेका प्रहरी इकाइहरूको पुनर्स्थापनामा समुदाय आफैं अग्रसर भएको उदाहरण प्रस्तुत गर्नुभयो । उहाँले प्रहरी संगठनको सुदृढीकरण, कर्मचारीहरूको मनोबल वृद्धि र सांगठनिक सुधारका लागि सरकार ठोस कदम चाल्ने बताउनुभयो ।

यसै क्रममा प्रहरी महानिरीक्षक खापुङ्गले जस्तोसुकै चुनौतीपूर्ण परिस्थिति भए पनि नेपाल प्रहरी लोकतान्त्रिक मूल्य र जनअपेक्षा अनुसार कर्तव्यमा अडिग रहेको बताए । उनले अर्बान पुलिसिङका लागि दक्ष जनशक्ति, आधुनिक प्रविधि र कानुनी अधिकारहरू आवश्यक रहेको उल्लेख गर्दै नेपाल प्रहरीको आधुनिकीकरणलाई उच्च प्राथमिकताका साथ सम्बोधन गर्न सरकारसँग आग्रह गरे ।

कार्यक्रममा गृहसचिव गोकर्णमणि दुवाडी, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृह मन्त्रालयका सहसचिवहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ अधिकारीहरूको भौतिक उपस्थिति थियो भने ७ प्रदेश प्रहरी कार्यालयसहित देशभरका प्रहरी एकाइहरूको भर्चुअल सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस