• शनिबार-श्रावण-१२-२०८१

नेपालको सत्ता राजनीतिमा मोदी हलचल : सत्ता गठबन्धनप्रतिको भारतीय आशंका अब के होला ?

 

काठमाडौं । काठमाडौंको राजनीतिक वृत्तमा भइरहने विश्लेषण, तर्कवितर्क र भूराजनीतिक परिघटना भारतको चुनावअघिसम्म फरक थियो । भारतको लोकसभाको चुनावअघिसम्म नेपालमा भावी भारतीय भूमिकाको विषयमा चर्चा भइरहेका थिए । बौद्धिक वृत्त, राजनीतिक वृत्तमा भएका ती विश्लेषण र  अनुमानका लागि फेरि समय खर्चिन पर्ने स्थिति आएको छ । काठमाडौंको एउटा ठूलो पंक्ति भारतीय जनता पार्टी (भाजपा) फेरि पनि बहुमत आउने र  नरेन्द्र मोदी नै प्रधानमन्त्री हुनेमा विश्वस्त थियो । 


लोकसभामा भाजपा बहुमतमा त आएन तर मोदी सबैभन्दा ठुलो दल र गठबन्धन(२९२ सिट)को तर्फबाट तेस्रो पटक प्रधानमन्त्री भने भए । तर, मोदीसँग हिजोको जति पावर हात नहुने अवस्था बन्यो । भाजपाले  बहुमत ल्याएन भाजपाको  गठबन्धनले बहुमत ल्यायो । अघिल्लो चोटी भाजपा एक्लै बहुमतमा थियो । अघिल्लो चुनावमा ३०३ सीट ल्याउको भाजपा अहिले  २४० सीटमा  ओर्लियो । ५४३ सीटको लोकसभामा ४ सय सीट कटाउने सपना देखेको भाजपाका लागि यो नतिजा अनपेक्षित थियो । 


 भारतीय  सञ्चारमाध्यम,  व्यापारी,  बौद्धिकहरुको एउटा ठूलो  पंक्ति  भाजपाकै  लाइनमा उभिएर तर्क गरिरहेका हुन्थे । यो नतिजापछि चाहिँ भारतमा मोदीले  शासन गर्ने भन्दा पनि गठबन्धनले भारतको सत्ता चलाउने परिस्थिति निर्माण  भएको विश्लेषण हुन थालेको छ ।  हिजो गठबन्धनलाई चलाउने मोदी अब गठबन्धनबाट चल्ने अवस्थामा ओर्लिएका छन् । त्यसले भारतीय  भूमिकामा फेरबदल गर्नेछ । अन्तर्र्राष्ट्रिय सम्बन्ध, व्यापार मात्र  होइन, अन्य  धेरै भूमिकामा फेरबदल हुनेछ । हिजोझै फुक्काफाल भएर मोदीले आफ्नो योजना र रणनीति अपनाउन सक्ने अवस्था छैन । त्यसकारणले नेपालप्रतिको नजरमा पनि फरक पर्ने संभावना रहेको छ । 


  लोकसभाको चुनावपछि नेपालको राजनीतिक परिवर्तनका संकेतहरुको विषयमा चर्चा हुने गरेको थियो  । नेपालको संविधान संशोधनसम्मको विषय उठेको थियो  । राजतन्त्र फर्काउने,  हिन्दु राज्य  स्थापना गर्ने ठूलो राजनीतिक परिघटनासँग अहिलेको वाम सत्ताको गठबन्धन नै भत्काउनेसम्मका खेलमा भारत लाग्ने अनुमान थियो । त्यसैले, धेरै भारतीय चुनावपछि एमाले र माओवादीको गठबन्धन भत्किने पनि भनिरहेका थिए । गठबन्धन नभत्किने हो भने पनि धार्मिक वा यस्तै आन्दोलन उठ्ने पनि चर्चा थियो । 


  कमजोर शक्तिसहित सत्तामा रहने अवस्थाका मोदीको भूमिका यी विषयमा फेरि सक्रियतापूर्वक होला त ? भन्ने प्रश्न र आंकलन चाहिँ काठमाडौमा हुन थालेको छ । काठमाडौं मोदीका लागि अब जटिल हुने अनुमान पनि भइरहेको छ । कतिपयले  भने काठमाडौंमा चीन र पश्चिममा उपस्थिति  जति छ,  भारतको त्योभन्दा धेरै छ । तर, त्यसको प्रभाव भने कमजोर हुँदै गएको भन्न थालेका छन् । त्यसैले, नेपालको राजनीतिमा भारतीय हस्तक्षेप कम हुने अवस्थामा सरकार स्थिर हुने  संभावना पनि हुन्छ । त्यो बाटोमा नेपाल अगाडि  जान सक्ने संभावना रहेको पनि बताइन्छ । 


सायद, त्यही  राजनीतिक परिदृश्यको आंकलन गरेर नै प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्ड मोदीको शपथ ग्रहणमा सहभागी भएका हुन् ।  उनले मोदीसँग विश्वास आर्जन गर्न र भारतीय  भूमिका आफ्नो अनुकूल बनाउने कुराको अवस्था सिर्जना गर्नका लागि  अहिलेको भ्रमण प्रभावकारी बनाउन सक्छन् । त्यसो हुँदा विगतमा चर्चा  गरेजस्तो भारतले अहिलेको गठबन्धन फेरबदलमा भूमिका खेल्दैन् ।  


  भारत जति अस्थिर र कमजोर  बन्छ,  त्यसले चीन र पश्चिमलाईमात्र होइन, छिमेकीलाई पनि फाइदा हुन्छ । भारत  कमजोर हुँदा पाकिस्तान र बंगलादेशले शक्ति  आर्जन गर्न सक्छन्  ।  त्यसको अर्को प्रभाव पर्छ । त्यसैले, अबको भारतीय राजनीति र भूमिकाले प्रधानमन्त्री प्रचण्ड सरकारको भविष्य पनि निर्धारित हुने अनुमान भएको हो । 


  मोदीले जसरी भारतमा आफूलाई देवत्वकरण गरेर चुनावी प्रचार गरेका थिए, त्यसबाट उनले पाठ सिके भने नेपालको राजनीतिमा भारतीय हस्तक्षेप  कम हुनेछ । मोदी कमजोर  हुनुमा मातृ संस्था  आरएसएससँग दूरी बढ्नुलाई पनि मानिएको छ । भाजपा र आरएसएसको दूरी बढ्दो क्रममा रहेको भनिरहेका बेलामा आरएसएस नेपालमा निकै सक्रिय थियो । अब  नेपालमा आरएसएस सक्रिय हुन्छ कि भाजपा भन्ने प्रश्न पनि छ । 


 त्यसो त, भारतमै पनि अग्निपथप्रति नकारात्मक देखिएको विश्लेषण भइरहेको छ । जहाँबाट भारतीय सेनामा युवाहरु भर्ति हुन्थे त्यो क्षेत्रमा भाजपाले चुनाव हारेको छ । त्यसो हुनुको अर्थ भारतीय सेनामा सुरु  गर्न खोजिएको अग्निपथप्रति प्रतिरोध हो भन्ने पनि गरिएको छ । नेपालमा पनि अग्निपथको विरोध भइरहेको छ । त्यसले नेपालमा भारतीय सेनामा हुने सैन्य भर्ति नै बन्द भएको छ । 


  त्यसैले, मोदीको अबको शासनमा नेपालमाथि भारतीय भूमिका हिजोभन्दा फरक र शान्त प्रकृतिको हुने अनुमान भइरहेको छ । त्यसो भएमा नेपाल र भारतका केही महत्वपूर्ण विवादहरु सल्टिने संभावना पनि हुन्छ । ठूलो विवादहरु सल्टिने अवस्थामा सम्बन्ध पनि प्रगाढ बन्न मद्दत पुुग्ने छ अनि मोदीले सन् २०१४ पछि नेपाल आउँदाझै वाहीवाही कमाउने अवसर पनि पाउनेछन् । (साँघु साप्ताहिक, २०८१ जेठ २८)
 

प्रतिकृया दिनुहोस