काठमाडौं । रेशम चौधरी र सीके राउतको राजनीतिक पृष्ठभूमि र स्कुलिङ फरक हो । मधेश आन्दोलनको खास विपक्षी मोर्चामा थारु समुदाय उभिएको थियो । अनि मधेश प्रदेशको मागमा उठेका मधेश आन्दोलनभन्दा एक कदम अघि बढेर मधेश देशको अभियानमा लागेका थिए राउत ।
त्यसैले, राजनीति एजेण्डाको हिसाबले र बुुझाइको हिसाबले पनि फरक फरक हुन् चौधरी र राउत । तर, पछिल्ला दिनमा रहस्यमय रुपमा उनीहरुवीच कुरा मिल्न थालेको छ । तर, त्यो कुरा किन र केका लागि भन्ने चाहिँ अहिलेसम्म प्रष्ट छैन । हुन त, उनीहरुवीचको एकताको प्रक्रिया २०८२ वैशाख १७ गते भाँडियो । सर्वोच्च अदालतका अधिकृत महिमानसिंह विष्टले चौधरीलाई पक्राउ गरेर जेलमै पठाउनुपर्ने नक्कली पत्र प्रहरीलाई पठाएपछि चौधरी पार्टी एकताका लागि प्रज्ञा भवन पुुगे लगत्तै त्यही नक्कली पत्रकै आधारमा पक्राउ परेर डिल्ली बजार खोरमा पु¥याइए । त्यही कारणले उनीहरुको एकता भड्कियो ।
लगत्तै एकताका लागि पुुगेका जनमत पार्टीका नेता सीके राउतले पक्राउको विरोध गर्दै एकता प्रक्रिया तत्काललाई स्थगित भएको जनाएका थिए । त्यसपछि उनीहरु कहिले एकता गर्छन् ? भन्ने चाहिँ प्रष्ट भएको छैन । तर, तत्कालका लागि एकता विथोलिएको छ । रेशम चौधरीको पार्टी र राउतको पार्टी दुवैमा एकताको विषयमा चर्को विवाद विद्यमान रहेको छ । चौधरीको पार्टीमा रञ्जिता चौधरी श्रेष्ठसहितको एउटा समूह एकताको विपक्षमा रहेका थिए । तर, रेशम चौधरीले अति बल गरेपछि रञ्जिता एकताका लागि बाध्य भएकी थिइन् । रेशम चौधरीको पक्षमा बहुमत सांसदहरु (तीन जना) रहेको र केन्द्रीय सदस्यको संख्या पनि ठूलो रहेकोले रञ्जिता निर्णायक हुन सकेकी छैनन् । तर, उनको समूह भने एकताको पक्षमा थिएन । तर, अन्तिम समयमा आएर रञ्जिताले राउतसँग मिलेमतो गरिन । एकता गर्ने नै भएपछि रञ्जिता र राउतले सहमतिमै अघि बढ्ने गरी सहमति गरेका थिए ।
त्यसो गर्दा पहिला तीन नेताहरुको नाममै सार्वजनिक गर्ने पनि सहमति भयो । संरक्षक रेशम चौधरी, अध्यक्ष सीके राउत र सहअध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी हुने भन्ने गरी सहमति भयो । वैशाख १७ गते तिनै तीनजनाको नाम मात्रै सार्वजनिक गर्ने सहमति भएको थियो । तर, त्यसमा रेशम चौधरी पक्ष भने सहमत थिएन । उनीहरु केन्द्रीय सदस्य र सचिवालयसमेत टुंगो लगाएर जानुपर्ने अडानमा थिए ।
तर, सहमति जुटेकेको भने थिएन । अन्तिम समयमा आएर रेशम नै पार्टी एकताको पक्षमा थिएनन् भन्ने चर्चा पनि सुरु भइसकेको थियो । तर, एकता गर्दा तीनजनाको मात्रै नाम राख्न नहुने अडानमा रेशम चौधरी पक्ष थियो । त्यसो भन्नुको कारण भने केन्द्रीय समिति र सचिवालयमा राउत र रञ्जिताले आफ्नो अनुकूलको मान्छेहरु बनाउने डर थियो । रेशम चौधरीलाई एक्लो बनाउन रञ्जिताले राउतसँग मिलेर सूची आफू अनुुकूलको बनाउँदा रेशमले रोक्न सक्ने अवस्था हुने थिएन । किनभने निर्वाचन आयोग र अदालतले राउत र रञ्जिताको हस्ताक्षरलाई नै आधिकारिक मान्ने अवस्था रहेको छ ।
सोही डरका कारण रेशम चौधरी पछिल्ला दिनमा भने एकताको विपक्षमा रहेको पनि चर्चा भइरहेको थियो । अहिले एकता नभएर खासमा रञ्जिता समूहलाई भने फाइदा नै भएको छ । किन भने उनीहरु पहिलादेखि नै एकताको विपक्षमा रहेका थिए । अब फेरि सहमति जुटाएर एकता गर्नलाई केही समय भने लाग्ने निश्चित नै छ । रञ्जिताको पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ । उता जनमत दलले भने मधेश प्रदेशमा सरकारको नेतृत्व गरिरहेको छ । (साँघु साप्ताहिक, २०८२ वैशाख २२)
प्रतिकृया दिनुहोस