• मंगलबार-जेठ-८-२०८१

प्रचण्ड सरकार फाल्ने र जोगाउने कसरत : माधव आउट भए राप्रपाको साथ लिने प्रयास 

 

काठमाडौं । राजनीतिक दलहरु बेमौसममा सरकार ढाल्ने र जोगाउने खेलमा व्यस्त हुन थालेका छन् । सत्तामा बसेर आफ्नै सरकारविरुद्ध छुरा धस्ने खेल पनि भइरहेको छ । यो हदको नालायकी प्रदर्शन गरेर दल र नेताहरु निरन्तर  रुपमा नागरिकको नजरमा घृणित पात्र बन्दै गिरिरहेका छन् । सरकार पक्ष जसरी पनि सरकार जोगाउने र  विपक्षी जसरी ढाल्ने खेलमा लागेका छन् । त्यो खेलमा सत्तामै बसेका दलहरुसमेत सामेल हुनुलाई भने अनैतिकताको पराकाष्ठा भनिदैछ । त्यो पराकाष्ठामा अहिले प्रधानमन्त्रीको सपना बुन्ने माधव नेपाल देखिएका छन्  । 


  तत्कालीन नेकपाभित्र विवाद निकाल्ने र त्यो विवादमा पुष्पकमल दाहाललाई तान्ने अनि त्यो विवादकै बिचबाट पार्टी फुटाउने परिस्थितिसम्मको निर्माण गरेर नेपालले नेपालको वाम आन्दोलनमा गम्भीर धक्का दिएका थिए । अहिले फेरि त्यही  खेलोफड्कोमा लागेका छन् । प्रचण्ड प्रधानमन्त्री भएका वाम सरकारमा  नेपालको एस पार्टी पनि सक्रिय सहभागी रहेको छ । तर, तिनै माधव नेपाल भने सरकार ढाल्न लागेका छन् । सरकार ढाल्न कांग्रेस र विदेशी शक्ति केन्द्रको बुई चढेका माधव नेपालले पहिला पनि विदेशीहरुको उक्साहटमा नेकपालाई तीन दलमा विभाजन गर्न कप्टी खेल खेलेको टिप्पणी पनि हुन थालेको छ । 


 अहिले कांग्रेस प्रचण्ड नेतृत्वको सरकार ढाल्नका लागि एसबाहेक उपेन्द्र यादवको जसपालाई पनि प्रयोग गर्न खोजिरहेको छ । जसपालाई मधेश प्रदेशमा सरकारको निरन्तरतासहित काठमाडौंमा सरकारमा राम्रो मन्त्री दिने प्रस्ताव गरेको छ । जसपालाई डर भनेको नै मधेश प्रदेशमा सरकार ढल्ला भन्ने छ । एसले छोडेको अवस्थामा सरकार ढल्ने भएकोले जसपा अहिले एसको साथमा देखिएको चर्चा पनि गरिन्छ । उपेन्द्र यादव र माधव नेपाल पछिल्ला दिनमा कलेक्टिभ बार्गेनिङको अवस्थामा रहेको पनि बताइन्छ । तर,  उपेन्द्र यादवले प्रचण्डलाई छोडीहाल्ने अवस्था नभएको चर्चा गरिन्छ । त्यसैले, पछिल्ला दिनमा सरकार ढाल्नका लागि उपेन्द्र  यादव र माधव नेपाललाई प्रयोग गर्न खोजिएको अर्थमा हेरिदैछ । 


 सुदूरपश्चिम प्रदेशको सरकार बन्ने वा भत्किने खेलले पनि अबको गठबन्धनको भविष्य कस्तो हुन्छ ? भन्ने देखिन्छ । अहिले सुदूरपश्चिमको सरकार बचाउन माधव नेपालले कांग्रेसको साथ खोजेको र त्यो साथ पाएमा केन्द्रसम्मै हलचल हुने अवस्था रहेको छ । त्यसका लागि  नागरिक उन्मुक्ति  पार्टी पनि सक्रिय रहेको छ । त्यो सक्रियताका कारणले नै बुढाबुढीको झगडा मिलेको नाटक गरिदैछ । त्यो विवादका कारण अहिले सुदूरपश्चिम, लुम्बिनी र केन्द्रकै सरकारको भविष्य संकट पनि पर्ने कांग्रेसको विश्लेषण रहेको छ । उन्मुक्ति पार्टीभित्र पनि विदेशीले खेल्न थालेपछि थप लफडा भएको पनि विश्लेषण भइरहेको छ । 


  यता, एमाले र रहेका छन् । त्यसैले, अहिले माधव नेपाललाई बाह्य शक्तिको आडमा कांग्रेसले बोक्न थालेका कारण उनी अस्वभाविक रुपमा उत्तेजित भएर बोल्न थालेको टिप्पणी भइरहेको छ । नेपालले आफ्नो सचिवालयसहितका नेताहरुलाई चाहिँ यो सरकारले  बजेट नै ल्याउन नपाउने भन्दै फुरंग परेको अवस्थामा देखिन्छन् । त्यसैले, अहिलेकै अवस्था रहेका सुदूरपश्चिम प्रदेशमा कांग्रेसको समर्थन लिएर माधव नेपालले मुख्यमन्त्री दीर्घ सोडारीको सरकार जोगाउने खेल पनि खेल्दैछन् । 


काठमाडौको सरकार ढाल्न सुदूरपश्चिमबाट थाल्ने नेपाल र शेरबहादुर देउवाको रणनीति देखिएको छ । त्यही  रणनीति अनुसार अहिले सोडारीले विश्वासको मत लिनका लागि  नयाँ रणनीति पनि बनाइरहेका छन् । त्यसैले, अहिले प्रचण्डको सरकारले नयाँ अध्यादेश ल्याईदिएर एसलाई फुटाईदिन सक्ने चर्चा पनि चल्न थालेको छ । वामपन्थी सरकार ढाल्ने खेल अझ उत्कर्षमा लागेर माधव नेपाल सक्रिय भएमा एसका सम्मानित नेतासहितको टोलीले पार्टी फुटाउन सक्ने चर्चा चलेको हो । खनाललाई भावी राष्ट्रपतिको आश्वासनसहित एमाले र माओवादीले एस दल फुटाई दिनसक्ने चर्चा चलेको हो ।  त्यस्तो अवस्थामा माधव नेपालको पार्टी पनि नरहने र प्रधानमन्त्रीको सपना पनि तुहिन सक्ने चर्चा भइरहेको छ । एसकै नेताहरु अहिले यो चर्चा गर्दै हिडेका छन् । (साँघु साप्ताहिक, २०८१ वैशाख १७)
 

प्रतिकृया दिनुहोस