• बुधबार-बैशाख-१९-२०८१

राप्रपाको नेतृत्व सत्ताको सपना देख्दै 

 

काठमाडौं । नयाँ गठबन्धनको सरकारलाई सहयोग गर्ने कि नगर्ने भन्ने विषयमा राप्रपामा दुईवटा धार देखिएको छ । बाहिर चर्को कुरा गर्ने गरेको भएपनि अध्यक्ष राजेन्द्र लिङ्देन प्रदेशमा नयाँ गठबन्धनलाई सहयोग गर्ने पक्षमा देखिएका छन् । तर, पार्टीभित्र उनको पक्षमा माहोल नभएका कारणले गर्दा बाहिर विरोध गर्ने गरेको भन्दै राप्रपाभित्र चर्चा हुन थालेको छ । अध्यक्ष लिङ्देनसँगै पशुपति शमशेर राणा पनि सरकारमा जानुपर्ने पक्षमा रहेको पनि बताइन्छ । कुनै बेला राणा सरकारमा जान नहने पक्षमा उभिने गरेका थिए । अहिले अध्यक्ष लिङ्देनसहित राणा, वुद्धिमान तामाङ, विक्रम पाण्डेलगायतका प्रभावशाली नेताहरु सरकारको पक्षमा उभिन थालेका छन् । प्रदेश सरकार निर्माणमा राप्रपा बलियो शक्ति बनेका कारणले पनि कतिपय स्थानमा उनीहरुवीच यस्तो कुरा हुन थालेको हो । 


राप्रपाको सहयोग विना गण्डकी प्रदेशमा सरकार टिक्न नसक्ने अवस्था रहेका कारणले गर्दा राप्रपामा अहिले सुषुप्त रुपमा यो आवाज बलियो बन्दै गएको छ ।प्रदेशका नेताहरु नै दुई कित्तामा विभाजित भएको पनि राप्रपा नेताहरु बताउँछन् । राप्रपाका एक नेताका अनुसार गण्डकी प्रदेशका २ जना सांसद अहिले सरकारमा सहभागी हुनुपर्ने पक्षमा रहेका छन् । उनीहरु सरकार गएर मन्त्री हुने चाहनामा रहेका भएपनि पार्टीभित्रको किचलोका कारणले बोल्न सकेका छैनन् ।  त्यसो त, राप्रपाका सांसदले मध्यवाधि चुनावमा जान नदिने बताइरहेका छन् ।

 

अहिले एमालेका खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भएका छन् । उनको पदको विषयमा अर्को साता सर्वोच्च अदालतले अन्तिम निर्णय सुनाउँदैछ । तर, राप्रपाले मध्यावधिमा जान नदिने बताएका कारण अधिकारीलाई सहयोग गर्न सक्ने अनुमान पनि गरिएको छ । एमाले अध्यक्ष केपी ओलीसँग दोस्ती रहेका कारणले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले ग्रिनसिग्नल दिने संभावना रहेको पनि बताइन्छ । त्यहीकारण अधिकारीले हिम्मत जुटाएको पनि बताइन्छ । लिङ्देनको ग्रिनसिग्नल पाएको अवस्थामा राप्रपाका सांसदले मध्यवधिमा जानबाट रोक्नलाई विश्वासको मत दिएको भन्दै फेससेभिङ गर्न सक्ने आंकलन भइरहेको छ । अधिकारीका लागि दुईजना सांसद आवश्यक पर्नेछ । 


 माओवादीले सभामुखलाई राजीनामा गराएर भएपनि सरकारका लागि आवश्यक ३१ सीट पु¥याउन सक्ने आंकलन पनि रहेको छ । कोशी प्रदेशमा सभामुखसहित मुख्य पदहरु गुमेका कारण अहिले माओवादी सभामुख कृष्ण धिताललाई कायममै राखेर राप्रपालाई नै तान्ने प्रयासमा रहेको पनि बताइन्छ । दीपक मनाङे मन्त्रीका लागि सुरेन्द्र पाण्डेको पक्षमा गएका भएपनि अहिले फेरि अधिकारीकै कित्तामा आएका छन् । 


 त्यसैले, राप्रपाको एकजनाले भोट दिएपनि अधिकारीको सरकार भने बच्ने अवस्थामा रहेको छ । त्यसैले, केन्द्रमा पनि राप्रपा अहिले दुईधारमा विभाजित भएको  छ । सरकारलाई सहयोग गरेकै कारण कोशीमा सभामुख पद पाएको थियो । प्रकाशचन्द्र लोहनीको समूहले चर्को विरोध गरेर फिर्ता हुन आग्रह समेत गरेका थिए । तर, कोशीमा उनीहरुले विरोध गरेजस्तो केही भएन । त्यसैले अहिले गण्डकीमा पनि त्यही अभ्यास हुन सक्ने पनि बताइन्छ । (साँघु साप्ताहिक, २०८० वैशाख ३) 
 

प्रतिकृया दिनुहोस