• मंगलबार-बैशाख-१८-२०८१

डीपफेक भिडियोविरुद्ध आमिरले दिए उजुरी


काठमाडौं । बलिउड अभिनेता आमिर खानले कुनै पनि राजनीतिक दलको समर्थनमा आफू नरहेको स्पष्ट पारेका छन् । भारतमा नजिकिँदै गरेको निर्वाचनमा आमिर यतिबेला एक राजनीतिक दललाई समर्थन गरेको डीपफेक भिडियोको सिकार बनेका छन् । 

 

हालै एक राजनीतिक पार्टीले चुनावी प्रचारका लागि अभिनेताको एक भिडियो बनाएको छ । यो भिडियो सार्वजनिक भएपछि अधिकांशले आमिरले उक्त पार्टीलाई समर्थन गरेको चर्चा चुलिएको छ ।

 

आमिरले यो मामलामा प्रहरीमा उजुरी दिँदै एक विज्ञप्ति जारी गरेका छन् । उनले विज्ञप्तिमा कुनै पनि राजनीतिक दल प्रति आफ्नो लेनादेना नरहेको उल्लेख गरेका छन् । मंगलबार आमिरका आधिकारिक प्रवक्ताले एक विज्ञप्ति जारी गर्दै उक्त विशेष क्लिप ‘झुठो’ रहेको बताएका छन् । उनले अभिनेता आमिरले यो विषयमा मुम्बई प्रहरीमा एफआईआर पनि दर्ता गराएको उल्लेख गरेका छन् ।

 

‘हामी स्पष्ट पार्न चाहन्छौं कि आमिर खानले आफ्नो ३५ वर्षे करियरमा कहिल्यै पनि कुनै राजनीतिक दलको समर्थन गरेनन् । उनले पछिल्ला कैयौं चुनावमा चुनाव आयोगको जन जागरुकता अभियानको माध्यमबाट जागरुकता बढाउने प्रयास गरेका छन् । हामी हालै भाइरल भिडियोबाट चिन्तित छौं । भिडियोमा आमिर खान एक विशेष राजनीतिक दललाई बढावा दिइरहेको आरोप छ । हामी यो स्पष्ट पार्न चाहन्छौं कि त्यो फर्जी भिडियो हो र पूर्ण रुपमा झुठो हो’, विज्ञप्तिमा उल्लेख छ ।

 

कामको कुरा गर्दा आमिर चाँडै ‘सितारे जमीन पर’मा देखिँदैछन् । यसबाहेक उनी ‘लाहोर १९४७’ निर्माण गर्दैछन् । उनको पछिल्लो रिलिज फिल्म ‘लाल सिंह चढ्ढा’ हो ।
 

प्रतिकृया दिनुहोस