• शनिबार-बैशाख-१५-२०८१

अर्थात जेमन्त : शरदराज गौतम

 

सही गलत, न्याय अन्याय र पाप धर्म
सबका सबको विवेकीय क्षमता बिराएको कालखण्डमा
यतिखेर कोही,
मुलुकमा राजनीति र अपराधबीचको भेद छुट्टयाउने कुरा गर्दछ भने
त्यो सर्बथा बेमानी हुन्छ, फजुल र बकबास पनि ।
बहुदलीय प्रतिस्पर्धाको नाजायज सन्तानको रुपमा घुलमिल भएको हो, अपराध ।
यो बेग्लै कुनै एन्टिटी हुँदै होइन ।
यसलाई बेग्ला बेग्लै अस्तित्व दिएर
राजनीतिकर्मी र अपराधकर्मीहरु दुबैथरि आफूलाई साँखुल्ले देखाउने मात्र हुन् ।
आजको दिनमा,
राजनीति र अपराध दुबैको ब्लर्र फोटु मानिसको हाथ हाथमा छ ।
यो कुन पहिला र कुन पछि भएर आएकै होइन ।
समाजमा ज्ञानी कम भएकोले अपराध बढ्ने नै होइन ।
शासकीय स्वरुपको अपराध दमन गर्ने क्षमता नभएर बढ्ने हो ।
संसदमा पुग्नेहरु दंगदास किन पनि छन् भने
बस्तु, घटना व्यक्ति जस्तो देखिने हो, त्यस्तो देखिन छोडेका छन् ।
र, जुन देखिनु पर्ने थियो, त्यो अलप हुन थालेका छन् ।
पुर्वीय शास्त्रीय विद्वान चाणक्य के भन्थे
त्यो बिल्कुलै सन्दर्भ छैन ।
आजको मानिस आफ्नै फरेबमा फसेको छ ।
उसलाई कसैले फसाएकै होइन ।
कृष्ण बहादुर महराको अनुहारमा 
जो जो आफूलाई आफ्नो अपराधमा साँखुल्ले भएको भेट्छन
तिनको चिहान त्यतै कतै उंधो छ ।
वा विनोद चौधरीको अर्वपति बकबासमा
जो आफ्नो आफ्नो व्यवसायको निष्ठा बकपत्र भर्न चाहन्छन् 
ती सबको गैरआवासीय पहिचान देखिन पनि बेर लाग्ने छैन ।
रवि लामिछाने त सरकसका जोकर मात्र हुन, परफर्मर ।
लेखेको जति पढ्न जान्ने, निर्देशकले भने जस्तो प्रदर्शन गर्न सक्ने ।
सबका सब द्विअर्थी शब्दका सम्राट ।
सबका सब दोहोरो अनुहारका बादशाह ।
मुलुकसित सफा अनुहार भएको फोटु देख्न पाइँदैन ।
मुलुकको राजनीतिको डिजिटल चित्र सर्बथा भिन्न छ ।
कुनै तथ्याङ्क र कुनै अन्तर्बस्तु कसैसित मेल खाई रहेको छैन ।
यस्तोमा कसैले गरेको बकबास केबल सिर्कनो मात्र हुन् ।
बकबास इजेकुलेसन ।
यतिखेर मुलुकसित बिग्रिन बाँकी नै के पो छ र ?
सामान्य मानिसहरु आहत होउन ।
सरकार सरकार जस्तो छैन,
संसद संसद जस्तो ।
न्यायपालिका मधेशतिरका छोटि भंसार जस्ता ।
र, कानूनचीहरु जति सबका सब नगरबधुका भर्चुअल दलाल जस्ता ।
समाजका हरेक तप्का र तहमा अपराध र अपराधी झुसिएका छन ।
यस्तोमा कोही आफूलाई मुलुकसित जोडेर बखान लाइरहेका भेट्नु हुन्छ भने
खुसुक्क सोध्नुहोला, भिसा लागेको हो ?
भास्सिने बुद्धिजीवीहरुको लर्को कामदारको दरमा कम भने होइन ।
मुलुकको डिजिटल पाश्र्वचित्र अकल्पनीय र अकथनीय छ ।
र, यसले नै एउटा निर्धो र निर्दोष नागरिकलाई
आफ्नो मुलुक मै बेघर र सुकुम्बासी बनाएको छ ।
कम्तीमा पश्चातापका लागि पनि 
मुलुकमा मसानघाटहरु कम भएका छन् । (साँघु साप्ताहिक, २०८० चैत १२)

प्रतिकृया दिनुहोस