• शनिबार-श्रावण-१२-२०८१

साढे तीन वर्षमा पनि बनेन अस्पताल भवन, स्वास्थ्य उपकरण कोठामै थन्कियो



रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकामा निर्माणाधीन १५ शैयाको अस्पतालको निर्माणकार्य अलपत्र परेको छ । गाउँपालिकाले आफ्नै लगानीमा निर्माण सुरु गरेको अस्पताल भवन समयमा निर्माण नहुँदा अस्पताल सञ्चालनमा आउन सकेको छैन ।  


खाँडादेवी गाउँपालिका–५ पकरवासको गोगनपानीमा निर्माण सुरु गरिएको सो अस्पताल निर्माणको लागि आत्रिया शिव बस्नेत जेभिले जिम्मा लिएको थियो । ३ करोड ७२ लाख रुपैँयामा ठेक्का सम्झौता गरेको सो कम्पनिले समयमा काम नगरिदिँदा निर्माण अलपत्र परेको छ । 


भवन निर्माण नहुँदा अस्पतालको लागि ल्याएको स्वास्थ्य उपकरण त्यतिकै थन्किएर बसेका छन् । समयमा नै अस्पताल नबन्दा स्थानीय स्वास्थ्य उपचारका लागि जिल्ला सदरमुकाम मन्थली र राजधानी काठमाडौँ लगायतका अस्पताल धाउन बाध्य छन् । 


अस्पताल निर्माणको जिम्मा लिने कम्पनीको लापरबाहीका कारण ढिलाइ भएको खाँडादेवी गाउँपालिका–५ पकरबासका वडा अध्यक्ष मनोज पौडेल बताउँछन् । ‘समयमा नै काम भइदिएको भए अहिले अस्पताल सञ्चालन भइसकेको हुनेथियो, निर्माणको काम अलपत्र हुँदा स्थानीयले समान्य स्वास्थ्य सेवा लिन पनि दुःख पाए’, वडाध्यक्ष पौडेलले भने । 


अस्पतालको एक तला ढलान गरेर त्यतिकै छाडिएको छ । लामो समयदेखि रोकिएको निर्माण कार्य अघि बढ्न सकेको छैनन । त्यो ढलाको काम पनि निर्माण कम्पनीले गाउँपालिकाको पटक पटकको ताकेता पछि गएको आर्थिक वर्षको जेठ महिनामा गरेको थियो । त्यस पछि पुनः काम सुरु भएको छैन । 


निर्माण कम्पनीको लापरबाहीका कारण अस्पताल बन्न नसकेको खाँडादेवी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ओमप्रकाश श्रेष्ठ बताउँछन् । निर्माण कम्पनी सम्पर्कमा नआउँदा गत गएको आर्थिक वर्षमा गाउँपालिकाले छुट्याएको १ करोड ३० लाख रुपैँयाँ बजेटबाट काम नै हुन नसकेको उनले बताए । 


चालु आर्थिक वर्षमा पनि सङ्घीय सरकारबाट प्राप्त ४८ लाख रुपैयाँ बजेट भवन निर्माणको लागि स्वीकृत भएको छ । तर निर्माण कम्पनी सम्पर्कमा नै आएको छैन । 


यस वर्ष पनि निर्माणका काम अघि नबढाएमा निर्माण कम्पनी माथि कारबाही प्रक्रिया अघि बढाउने तयारीमा गाउँपालिका लागेको छ ।

प्रतिकृया दिनुहोस