• मंगलबार-असार-३१-२०८२

विपक्षी दलको बहिष्कारका बीच मधेस प्रदेशसभाबाट बजेट पारित

 

महेन्द्रनगर (धनुषा), ३० असार: मधेस प्रदेश सरकारको बजेट विपक्षी दलको बहिष्कारबीच पारित भएको छ । आजको प्रदेससभा बैठकमा विपक्षी दलको अनुपस्थितिका बीच सत्ता दलहरूको बहुमतले बजेट पारित गरिएको हो । सभामुख रामचन्द्र मण्डलले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को विनियोजन विधेयक बहुमतले पारित भएको घोषणा गर्नुभयो । 

 

विपक्षी दलका प्रदेशसभा सदस्यले सांसदलाई उपलब्ध गराइएको र अर्थ मन्त्रालयले कार्यदललाई उपलब्ध गराएको रेडबुकमा २९४ पाना फरक परेको भन्दै विरोध जनाएका छन् । सरकारले आर्थिक अपराध गरेको भन्दै विपक्षी दलहरूले आज बिहान कार्यदल बैठक र पछि प्रदेशसभा बैठकसमेत बहिष्कार गरेका थिए । त्यसपछि सत्ता पक्षीय दलका सदस्यहरूको उपस्थितिमा मात्रै बैठक अगाडि बढेको थियो । 
विपक्षी दलले अर्थमन्त्रीको राजीनामा र त्यसपछि बन्ने अर्थमन्त्रीले ल्याएको बजेट मात्र स्वीकार गर्ने अडान राखेका थिए । 

 

गत असार १ गते अर्थमन्त्री सुनिल यादवले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि रु ४६ अर्ब ९८ करोड ३३ लाख ५१  हजारको बजेट प्रस्तुत गर्नुभएको थियो । पूर्वमुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशसभा बैठकमा पेस गरिएको र अर्थ मन्त्रालयसँग रहेको बजेट फरक परेकाले अर्थमन्त्रीको राजीनामाको माग गर्दै आफूहरूले बैठक बहिष्कार गरेको बताउनुभयो ।

 

सत्ता पक्षका केही प्रदेशसभा सदस्यले पनि बजेटमा फरक परेको भन्दै विरोध जनाएका छन् । लोकतान्त्रिक समाजवादी पार्टीका प्रदेशसभा सदस्य उपेन्द्र महतोले बजेटबाट २९४ पाना गायब गरिएको भन्दै विरोध जनाउनुभएको थियो । नेपाली कांग्रेसका वीरेन्द्र सिंहले पनि विगतमा रु ५० लाखभन्दा कमको बजेट नल्याउने बाचा गरिए पनि रु पाँच लाखसम्मको योजना ल्याएर जनताको अगाडि मुख नदेखाउने अवस्था बनाएको टिप्पणी गर्नुभयो ।

 

मुख्यमन्त्री सतिष सिंहले भने योजना प्रणालीमा प्रविष्ट गर्दा केही फरक परेको र विगतमा पनि शून्य तथा  कम बजेट भएका योजना रेडबुकमा नल्याउने गरिएको बताउनुभयो । यसपटक पनि त्यहीअनुसार गरिएकाले विरोध गर्न आवश्यक नरहेको उहाँको भनाइ थियो ।

 

 

प्रतिकृया दिनुहोस