• बुधबार-असोज-२३-२०८१

तानसेन (पाल्पा)को बदलिंदो चित्र(१) : गहकिलो विगत, मनमोहक वर्तमान र सुनौलो भविष्य 

 

महाकवि लक्ष्मी प्रसाद देवेकोटाले आफ्नो पाल्पा तानसेन आगमनको सन्दर्भमा आफ्नै हस्तलिलिपिमा लेखेका छन् “चैत ६, २००९ अपरान्ह, म तानसेन आएर मनमन विचार गरे यो अविकसित नेपाली बृहत् दोर्जीलिंग रहेछ, यसमा ज्ञान प्रचारका साधन कस्ता  होलान भन्ने स्वाभाविक जिज्ञासाले प्रेरित भएर धवल पुस्तकालयमा अहिले आएर सरसरी दृष्टि लगाएँ...” भन्ने भनाईबाट समेत तानसेनको महत्व झल्किन्छ ।  

 

साथै, मास्टर मित्रसेनले लेखेको कुरा तत्कालीन समयका व्यक्ति  भन्दछन्, 

 

तानसेन रमाईलो बाबु साहेब  !  
तानसेन रमाईलो बाबु साहेब  ! 

शिल्खानको वरपर बस्ने रैछन् बाडा  !  
बनाउने रैछन झिलिमिली भाँडा  !!  

 

 भगवान गौतम बुद्धको जन्मस्थलको रूपमा परिचित लुम्बिनी प्रदेशका जिल्लामध्ये पहाडकी रानीका रूपमा समेत चिनिने तानसेन र आसपासका क्षेत्रको विकासका लागि स्थानीय बासिन्दा नै सक्रिय भएर लाग्नु पर्ने कुरामा कुनै दुइ मत छैन  । 


इतिहासको सर्सरी  समीक्षा गर्दा समुद्र सतहदेखि चार हजार ४३० फिटको उचाइमा रहेको पाल्पाको सदरमुकाम तानसेन इतिहासको कुनै कालखण्डमा पश्चिमाञ्चलकै प्रमुख व्यापारिक केन्द्र थियो । “नेपालको प्रशासनिक इतिहास” पुस्तकमा डा. भवेश्वर  पंगेनी लेख्छन, “अंग्रेजसंग भएको युद्धमा नेपालको पराजय भए तापनि पाल्पा गौंडा एउटा  मात्र यसतो क्षेत्र हो जहाँबाट अंग्रेज सेनालाई पराजित गरिएको थियो ।’’ साथै डा. पंगेनी लेख्छन, ‘‘पाल्पालाई नेपालमा मिलाए  पछि पश्चिमी नेपालको प्रशासनको निरीक्षण  एवं संचालन गर्नका लागि यसलाई काठमान्डू पछिको दोस्रो राजधानीका रुपमा प्रयोग एवं विकास गर्दै लगियो ।’’


 ‘‘त्यसो भएको हुनाले पनि एकीकृत नेपालमा गाभिए पनि यसको महत्व घटेन । पश्चिमी  नेपालको राजधानीका रुपमा स्थापित भएकोले पाल्पा र सो देखि नेपालको पश्चिमी सिमानासम्मको भूभागबाट हुने आम्दानी(मालपोत लगायत अन्य करहरु) पाल्पामा नै जम्मा गरिन्थ्यो । त्यति मात्र नभएर पश्चिमी नेपालको ब्यापारिक क्षेत्र पनि पर्ने भएकोले यस गौंडाको आर्थिक स्थिति झन् बलियो भएको थियो ।”   भनि उल्लेख गरेबाट पनि ऐतिहासिक कालमा यसको कति महत्व थियो भन्ने कुराको अनुभूति  हुन्छ ।    


एकीकृत नेपालको बिच भागमा पर्ने पाल्पामा राणाकालका उत्तरार्धतिर ९ जिल्ला पर्दथे । त्यस बखत उत्तरमा भोट, पूर्वमा काली गण्डकी, दक्षिणमा बुटवल र पश्चिममा प्युठान रहेका गुल्मी, अर्घखाँची, ईस्मा, मुसिकोट, पर्वत, गल्कोट र धुर्कोट पाल्पाको प्रशासनिक सिमानाभित्र पर्ने कुरा रामजी उपाध्यायले आफ्नो पुस्तक “नेपालको इतिहास अर्थात् दिग्दर्शन”मा उल्लेख गरेका छन् ।  २००७ साल तिर यस जिल्लाको जनसंख्या ३ लाख ७७ हजार थियो । 


 सर्सरी समीक्षा गर्दा, यस जिल्लाको सदरमुकाम  तानसेनमा गौंडा, अपिल, माल, अदालत, अस्पताल, आयुर्वेदिक औषधालय आदि अड्डा र स्वाथ्य सेवाको सुविधा रहेको थियो भन्ने सहज अनुमान र पुष्टि हुन्छ । ९ जिल्लाको सदरमुकामका रुपमा रहेको पाल्पाको सरकारी ढुकुटीमा आन्दोलन सम्पन्न भए पछि कति रकम नगद तथा जिन्सी थियो भन्ने कुरा पनि कतै प्रकाशमा आएको पाइँदैन । 


पाल्पा राज्य एक चौबिसे राज्य थियो । चौबिसे राज्यहरूमा पाल्पालाई सबैभन्दा शक्तिशाली मानिन्थ्यो । खस राज्यको विघटन पछि यो राज्य बनेको थियो । यस राज्यको स्थापना रिप्दिकोटका शासक रुद्र सेनले वि.सं. १५५० मा गरेका थिए । 


यो राज्यको स्थापना हुनु भन्दा पहिले यस क्षेत्रमा स–साना थुम राज्यहरू थिए । जहाँ मगर मुखियाहरूले शासन गर्दथे । त्यस्तै  कुनै समयमा यो क्षेत्र खस साम्राज्यको अधिनमा परेको पाइन्छ । 


खस राज्यका राजा अशोक मल्लको शासनकालमा (बि.सं १३१२–१५) सम्ममा उक्त साम्राज्यको पूर्वी सिमाना त्रिशुली नदीसम्म पुगेको थियो । खस साम्राज्य गण्डकी प्रदेशसम्म फैलिएको र पाला पनि यही क्षेत्रमा पर्ने हुनाले मध्यकालामा पाल्पा क्षेत्र पनि उक्त साम्राज्यमा थियो भन्ने स्पस्ट हुन्छ । 


इतिहासको सर्सरी समीक्षा गर्दा, विक्रमको नवांै शताब्दीतिर नेपालको पश्चिमी  सिमाना काली  गण्डकी भन्दा  धेरै परसम्म रहेको थियो ।  त्यसैले यसकालमा पाल्पा भेग स्वत्रन्त्र राज्य नभएर  लिच्छवीहरुकै अधिपत्य भित्र रहेको देखिन्छ ।  पूर्व मध्यकालतिर पाल्पा मगरातको नामले प्रसिद्ध थियो । कुनै बेला पश्चिमाञ्चल क्षेत्रकै प्रमुख व्यापारिक केन्द्रको रूपमा रहेको पाल्पाको तानसेन अहिले ऐतिहासिक शहरका रूपमा मात्र चिनिन्छ भन्दा तानसेनसंग सम्बन्ध राख्ने सरोकारवालालाई  सबैलाई  असहज महसुस हुनु पर्छ । 


विकेन्द्रित :
शहरबाट गाउँ–गाउँमा यातायातको पहुँच र बजार विकेन्द्रित  हुन थालेपछि ब्यवसायिक बजार तानसेनको बजार संकुचित र साँगुरिदै गएको देखिन्छ । फलस्वरूप त्यहाँ व्यापार गर्ने लघु, घरेलु र साना, उद्यमी व्यवसायीहरु पनि बुटवल, भैरहवा, नारायणघाट,  नेपालगंज, दांग, काठमाडौँ, पोखरालगायत अन्य  सम्भाबना बोकेका क्षेत्र र बजारमा  बसाई सराई र सम्भावनाको खोजिमा हिंडे र यो स्थानमा जोडिएका ठाउँहरुबाट मानिसहरु यहाँ बसोबास खास  गरि बालबालिकाको स्वास्थ्य र उपचारको लागि घर घडेरी किनेर बस्न थालेको र नेवार समुदाय क्रमसः विस्थापित भएको सहज  अनुमान लागाउन सकिन्छ ।  


हाल मुलुकको नयाँ संविधान २०७२ तथा स्थानीय निकाय  सम्बन्धी ऐनले पाल्पा जिल्ला संघीय संरचनासँगै ८ वटा गाउँपालिका र २ नगरपालिकामा विभाजित भएर गाउँमा अधिकार सम्पन्न स्थानीय सरकारले शासन व्यवस्था गरिरहेका छन् । 


तानसेन : सदरमुकाम 
पाल्पाको सदरमुकाम  तानसेनले शिक्षा, स्वास्थ, पर्यटन र घरेलु  उद्योगको नारालाई अगाडि बढाएर आफूलाई विस्तारित गर्ने प्रयास भने गरी नै राखेको छ । तर सफल हुन सकेको अनुभूति आम जनताले अनुभूत गर्न सकेको छैनन् । यसमा संरचनात्मक चिन्तनमा परिवर्तनको  खाँचो, सरकारको  प्रतिबद्धता, जनताको समर्थन र सहयोगको ठुलो भूमिका र अपेक्षा रहेको हुन्छ ।


रुद्र सेन :
यसै क्रममा, खस राज्यको विघटन पछि रिब्दीकोटका शासक रुद्र सेनले वि.सं. १५५० मा पाल्पा राज्यको स्थापना गरेका थिए । पाल्पा जिल्लाको प्रभास भन्ने ठाउँमा रहेको शिवालय जिर्णोद्धार गर्दा पाइएको एक शिलालेखमा वि. सं. १५४९ मा रुद्र सेन राजा भएको देखिएको छ । 


पाल्पा राज्यको स्थापना वि.सं. १५५० मा रुद्र सेनले गरेका थिए । पछि यसको अस्तित्व वि.सं. १८६१ सम्म कायम थियो ।  यस राज्यमा सेनवंशका बाह्र जना राजाहरूले तीन शताब्दीसम्म शासन गरेका थिए । मुकुन्द सेन प्रथमको शासनकालमा यो राज्यको भौगोलिक क्षेत्र विशाल भू–भागमा फैलिएको थियो ।  “गण्डकी महात्म्य’’ मा यस राज्यको सिमाना पूर्वमा बराहक्षेत्रसम्म, पश्चिमामा रुरु क्षेत्रसम्म, उत्तरमा मुक्तिक्षेत्रसम्म र दक्षिणमा हरिहर क्षेत्रसम्म फैलिएको कुरा उल्लेख गरिएको छ । (क्रमशः) 
 

प्रतिकृया दिनुहोस