• शनिबार-बैशाख-१५-२०८१

ट्रेड युनियन नेतालाई काठमाडौं नै चाहियो : सरूवा गराउन प्रदेशदेखि केन्द्रसम्म दौड

 

सिन्धुपाल्चोक । नेपाल निजामती कर्मचारी संगठनका पूर्वअध्यक्ष तथा पेशागत महासंघका उपाध्यक्ष केदारप्रसाद देवकोटा समायोजन संशोधन गर्न  बर्षदेखि लगातार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा धाइरहेका छन् । दुर्गममा कामै नगरी अधिकृतमा बढुवा भएका देवकोटाको समायोजन सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाको लेखा अधिकृतको रुपमा भएको थियो । र, उनको दरबन्दी त्यहीँ छ । तर, उनी नेतागिरी देखाएर ३६५ दिनमा ६५ दिन पनि कार्यालयमा नगएको सेवाग्राहीकै गुनासो रहेको छ । 


अहिले उनी सामान्य प्रशासन मन्त्रालयदेखि शक्तिकेन्द्र धाउनुको मुख्य कारण सरुवा गराएर काठमाडौंका टोखा र बुढानीलकन्ठ नगरपालिकामा आउन खोज्नु हो । मंसिर ४ को निर्वाचनपछि गठन भएको एमाले सम्मिलित सरकारका पालामा संघीय मामिला एमालेको भागमा पर्ने अपेक्षा उनको थियो । 


 एमालेको भागमा संघीय मामिला नपरेपछि उनको टोखा र बुनपामा सरुवा हुने चाहना तत्काललाई टरेको थियो । तर, अहिले उनी फेरि संघीय मामिला मन्त्री अमनलाल मोदी निकट बिचौलियाहरुलाई प्रयोग गरी आफू ट्रेड युनियनको नेता भएको र उपत्यकाबाहिर दरबन्दी भएकाले अप्ठेरो भएको गुनासो गर्दै सरुवा गरिदिन हारगुहार गरिरहेका छन् । सामान्य प्रशासन मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाका प्रमुख हेमराज तामाङसँग केही दिनअघि सरुवाकै विषयलाई लिएर उनको ठाकठूक परिसकेको चर्चा कर्मचारीहरुले गर्ने गरेका छन् ।

 

एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई प्रयोग गरी उनी एमालेले जितेका काठमाडौंका टोखा र बुनपाको लेखा अधिकृतमा सरुवा हुनका लागि जोडबल लगाइरहेको कर्मचारी स्रोत बताउछ । जसका लागि पोखरेलकै निर्देशनमा उनले दुवै नगरपालिकाका मेयर र प्रमुख प्रशासकीय अधिकृतलाई समेत भेटिसकेका छन् । दोहोरो सहमतिका आधारमा विगतमा सरुवा गर्दैआएको सामान्यले सर्वोच्च अदालतको पछिल्लो आदेशपछि त्यस्ता प्रकृतिका सरुवा गर्न रोक लगाएको छ । अदालतको आदेशले देवकोटालाई थप समस्या पर्ने भएको छ ।

 

बागमती प्रदेश सरकारले पनि प्रदेश निजामती ऐन ल्याइसकेको छ । उक्त ऐनमा प्रदेशभित्रको स्थानीय तहका कर्मचारीको सरुवा प्रदेश सरकारले नै गर्नसक्ने प्रावधान राखिएको छ । तर उक्त ऐन कार्यान्वयनमा आएको छैन । स्रोतका अनुसार, बागमती प्रदेशका मुख्यमन्त्री शालिग्राम जम्कट्टेल र प्रमुख सचिव मुकुन्द निरौलालाई पटक पटक भेटेर देवकोटाले आफ्नो सरुवा टोखा वा बुनपामा गरिदिन आग्रह गरिरहेका छन् । तर जम्कट्टेल र निरौलाले हुन्छ भन्ने तर काम भने नगरिदिएकोमा देवकोटा आक्रोशित छन् । निरौलाले त देवकोटाको आतिथ्यता समेत धेरै पटक ग्रहण गरेर पनि काम नगरेको बताइन्छ । प्रदेश कानून कार्यान्वयन गराएर आफ्नो सरुवा चाहेकै ठाउँमा गराउनका लागि देवकोटाको केन्द्रदेखि प्रदेशसम्म दौडधूप बाक्लो छ । 

 

 एमाले निकट कर्मचारीहरुका अनुसार, ट्रेड युनियनका नाममा फाइदा लिनेमा देवकोटा निकै अगाडि छन् । लेखापाल हुँदै लेखाअधिकृत भएका उनको सम्पत्तिको लेखाजोखा गर्ने हो भने जोकोहीका लागि विश्वास गर्न गाह्रो हुने खालको रहेको उनलाई चिन्ने कर्मचारीहरु बताउँछन् ।उनले ट्रेड युनियन नेताको आडमा दर्जन भन्दा बढी आफन्तलाई करारमा जागिर खुवाएका छन् । श्रीमतीको मावली बहिनी भिमला बास्तोलालाई शहरी विकासमा ४० बर्ष कटेपछि जागिर खुवाएका छन् । ठूलीआमाको बुहारी कमला गौतमलाई नापी विभागमा र भतिजो रेवती देवकोटालाई कमलामाई नगरपालिकामा करारमा जागिर खुवाएका छन् । यी केही उदहारण हुन्, अरु धेरै आफन्तलाई उनले दवाव र सोर्सफोर्समा जागिर खुवाएको आरोप छ ।
 

प्रतिकृया दिनुहोस