• बिहीबार-बैशाख-१३-२०८१

बैंकहरूले बुझेनन् व्यवसायीको मर्का, धितो लिलाम गरेर सम्पत्ति लुट्ने दाउ

 

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले कर्जा असुली तथा धितो लिलामका लागि धमाधम सूचना निकाल्न थालेका छन् । कृषि विकास बैंक, एनआएसी एशिया, प्रभु, माछापुच्छ«े, सिद्धार्थ बैंकले कर्जा असुली र धितो लिलामका लागि भन्दै बारम्बार सूचना निकाल्न थालेका छन् । मुक्तिनाथ विकास बैंक, सिटिजन बैंक, लुम्बिनी विकास बैंक साङ्ग्रिला, आइसीएफसी फाइनान्स, गोर्खा फाइनान्सले पनि कर्जा चुक्ता, ऋण असुली र धितो लिलाम भन्दै निरन्तर सूचना प्रकाशित गरिरहेका छन् । 


मुलुकमा बढ्दै गएको आर्थिक संकट र तरलताका कारण पनि व्यवसायीले समयमा नै कर्जा चुक्ता गर्न सकेका छैनन् । बैंकले कर्जा लिंदाको ब्याजदर निर्धारण गरे पनि ब्याजदर समायोजन भन्दै समय समयमा व्याजदर परिवर्तन गरेका कारण पनि समयमा कर्जा तिर्न नसक्दा धितो लिलामीमा पर्ने गरेको गुनासो ऋणीले गरेका छन् ।


ऋणीले गरेको गुनासोलाई बैंकले आफ्नो नियम अनुसार हुने भन्दै वेवास्ता गर्दै आएको बताइएको छ । व्यापार व्यवसाय चौपट भएको समयमा बैंकले सूचना निकालेर आफ्नो सम्पत्ती हड्प्ने योजना बनाएको ऋणीहरुले आरोप लगाएका छन् । व्यवसाय हुँदाको समयमा हामीले बैंकले तोकेको ब्याजदर तिरेर बैंकको पुँजी बढाउन सहयोग गरेपनि हामीलाई अफ्ठ्यारो अवस्थामा घाँटी समातेको ऋणीहरुले गुनासो गरेका छन् ।


उनीहरुले भनेका छन् –‘हामीले सहज वातावरणमा बैंकलाई साँवा र ब्याज बुझाएकै हो । अहिलेको परिस्थितिमा व्यापार घट्यो । अन्य आयकास्रोतहरु पनि बन्द भए । साथीभाइसँग ऋण वा सहयोग लिऊँ भने सबैको अवस्था उस्तै छ । कोसँग ऋण वा सहयोग लिने’ एक व्यापारीले गुनासो गरेका छन ।


एक व्यापारी भन्छन् ‘सतप्रतिशत मूल्याङ्कन गरेको धितोमा ४० प्रतिशत मात्र ऋण पाइयो । अहिले धितोको मूल्य बढेर १ सय ४० प्रतिशत पुगेको छ ।’ तर, बैंकले पुरानो मूल्यमा नै धितो लिलामीको सूचना निकालेर जानाजानी सतप्रतिशत नाफा कमाउन खोजेको ऋणीको भनाइ रहेको छ । हामीले लिएको ऋणको पचास प्रतिशत ऋण तिरिसकेको र बाँकी पचासप्रतिशत ऋणका लागि धितो लिलाम गर्नु अन्यायपूर्ण रहेको उनीहरुको भनाइ रहेको छ । 


सुचना प्रकाशन गर्नुपर्ने विषयमासमेत छलफल हुन नसकेको ऋणीहरुको गुनासो छ । लिलामीका लागि ४५ दिनको समय सीमा दिनुपर्नेमा कतिपय बैंकले त १५ दिनको मात्र समय दिएर सूचना प्रकाशन गर्नुले धितो हड्प्ने दाउ हो भन्ने प्रष्ट पारेको पीडित व्यवसायी, उद्योगी र व्यापारीले बताएका छन् ।

प्रतिकृया दिनुहोस