• शुक्रबार-बैशाख-१४-२०८१

तीन महिनामै सिडिओहरुको सरुवा ! : काठमाडौंमा फेरिंदै–ललितपुरमा कनिष्ठ

 

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं जिल्लाको प्रमुख जिल्ला अधिकारी (सिडिओ) घनश्याम उपाध्यायको एक वर्ष पूरा भएकाले सरूवा गर्ने तयारी गरेको स्रोत बताउछ । नयाँ सिडियोमा मन्त्रालयको शान्ति सुरक्षा महाशाखाका प्रमुख तथा प्रवक्तासमेतको जिम्मेवारीमा रहेका जितेन्द्र बस्नेतलाई पठाउने तयारी गरिरहेको बुझिएको छ । स्रोतका अनुसार, आगामी २०८० असार ३ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अतिरिक्त समूहमा रहेका यादवप्रसाद कोइराला सचिवको पाँच वर्षे कार्यकाल पूरा गरी अनिवार्य अवकासमा जान लागेका छन ।


उनी अवकास भएसँगै प्रशासन समूहबाट हाल काठमाडौंका सिडिओ घनश्याम उपाध्याय वरिष्ठताका आधारमा सचिवमा बढुवा हुने लाइनमा रहेका छन् । उपाध्यायको बढुवा लगत्तै रिक्त हुने काठमाडौंको सिडिओमा सरूवा हुन बस्नेतले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको मनजित्न सफल भइसकेको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।


 धनकुटा घर भएका बस्नेतकाजीले यस अघि गोर्खा र चितवनको जिल्लाको सिडिओ र राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको महानिर्देशकको जिम्मेवारी सम्हालिसकेका छन । गोरखा र चितवनको सिडिओ हुँदा बस्नेतले नारायणकाजी श्रेष्ठ, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र  भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालसँग राम्रो सम्बन्ध कायम गर्न र मन जित्न सफल भएकाले गृहबाट काठमाडौं जस्तो महत्वपूर्ण जिल्लाको प्रमुख जिल्ला अधिकारी बन्ने अवसर पाउन लागेको स्रोत बताउछ । 


रवि लामिछाने गृह मन्त्री भएको बखत तात्कालीन सहसचिव गोविन्द प्रसाद रिजाल र सचिव विनोदप्रकाश सिंहले एउटा नम्स तयार पारेका थिए । (क) वर्गको जिल्लामा बसेर काम गरेका सिडिओलाई (क) वर्गका जिल्लामा मात्र सरूवा गर्ने मापदण्ड बनाएका थिए । उक्त मापदण्डलाई उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ठाडै अस्वीकार गरेका छन् । एक वर्ष अगाडि मात्र सहसचिव बढुवा भएका र ‘क’ वर्गका जिल्लामा सिडिओ नभएका रूद्रप्रसाद पण्डितलाई यस अघिको मापदण्ड मिचेर अघिल्लो हप्ता मात्र ललितपुर जिल्लाको सिडिओमा सरूवा गरिएको छ ।


अघिल्लो हप्ता मन्त्रालले ६ महिना अवधि पुगेका ललितपुर, कास्की, तेह्रथुम र रूकुमपूर्वका सिडिओको सरुवा गरेको थियो । तीन महिना अवधि नपुग्दै धादिङ, अर्घाखाँची, गुल्मी र अछाम गरी ८ जिल्लाका सिडिओहरूको पनि सरूवा गरेको थियो । ललितपुरका प्रमुख जिल्ला अधिकारी रहेका जयनारायण आचार्यलाई मन्त्रालयमा सरुवा गरे पनि कुनै जिम्मेवारी दिइएको छैन ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका महानिर्देशक रहेका पण्डितलाई भने ललितपुर जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएर खटाइएको छ । उनी सहसचिवमा बढुवा भए लगत्तै सहकारी विभागको रजिस्ट्रार र त्यसपछि मन्त्रालय सरूवा गरेर लगत्तै २०७९ माघमा पञ्जिकरणको महानिर्देशक बन्ने मौका पाएका थिए ।


सहसचिव बढुवापछि उनले दुई विभागको महानिर्देशक र ललितपुर जस्तो (क) वर्गको जिल्लामा सिडिओ हुने अवसर पाएका छन ।  एकीकृत सामाजिक सुरक्षा लगतसम्बन्धी ठेक्का विवादमा परेपछि पण्डितले सरुवा माग्दै आएका थिए । पण्डित उपसचिव हुँदा पनि मालदार जिल्ला मानिने तनहुँ, सिरहा र बारा जिल्लाको कामु सिडिओ भएका थिए । यी जिल्लामा राजपत्रांकित प्रथम श्रेणीका सिडिओ हुने व्यवस्था रहेको छ । तर उनले कामु सिडिओ भएर काम गर्ने अवसर पाएका थिए । उक्त विभागमा भने आन्तरिक राजस्व विभागको महानिर्देशकको जिम्मेवारी सम्हालिसकेका झक्कप्रसाद आचार्यलाई सरूवा गरिएको छ ।   


 यसैगरी, कास्की जिल्लामा गृहको बरण्डामा रहेका सहसचिव वासुदेव घिमिरेलाई खटाइएको छ । उनले यस अघि कारागार व्यवस्थापन विभागको महानिर्देशक र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय प्रमुखको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिसकेका छन । त्यस्तै, गृहले उपसचिव कृष्ण पौडेललाई तेह्रथुम र माधवराज शर्मालाई रुकुम पूर्वको सिडिओमा सरूवा गरेको छ । यी जिल्लामा ६ महिना अवधि नपुग्दै सिडिओ परिवर्तन गरिएको छ । 


त्यसैगरी, गृह मन्त्रालयले राजपंत्राङ्गित प्रथम श्रेणीका सिडिओ दरबन्दी रहेका धादिङ, गुल्मी, अर्घाखाँची र अछाम जिल्लामा पनि जेठ ३ गते सिडिओ परिवर्तन गरेको छ । मन्त्रालयले चार महिना नपुग्दै यी चार जिल्लाका प्रमुख जिल्ला अधिकारी  सरुवा गरेको हो । २०८० जेठ ३ गते सहसचिव बद्रीनाथ गैरेलाई धादिङ, टेकबहादुर केसीलाई गुल्मी, कमलराज ढकाललाई अर्घाखाँची र  शिवराम न्यौपानेलाई अछामको सिडिओमा सरूवा गरेको छ ।


धादिङमा कार्यरत सिडिओ रमेश ढकाल, अर्घाखाँचीकी मीना अर्याल, गुल्मीका सागरमणि पाठक र अछामका लक्ष्मण ढकाललाई २०७९ माघको दोस्रो साता मात्र ती जिल्लामा खटाइएको थियो । छोटो अवधिमै  हटाइए पछि उनीहरू असन्तुष्ट भएका छन । पाठकलाई नक्कली भुटानी शरणार्थी ठगी काण्डमा प्रहरीले बोलाएर सामान्य सोधपुछ समेत गरेको थियो ।


गुल्मीका सिडिओ पाठक शरणार्थीसम्बन्धी प्रतिवेदन कीर्ते गरिएको समयमा सो प्रतिवेदन रहने स्थानीय प्रशासन तथा प्रदेश समन्वय शाखामा कार्यरत रहेको बुझिएको छ । अहिले गृहको बरण्डामा मोरङको सिडिओबाट तानिएका सहसचिव तीर्थराज भट्टराई र ललितपुरबाट मन्त्रालयमा सरुवा भएका आचार्य मात्र रहेका छन । (साँघु साप्ताहिक, २०८० जेठ ८)
 

प्रतिकृया दिनुहोस