• बिहीबार-चैत-१५-२०८०

नक्कली भुटानी शरणार्थी मुद्दामा पाँच वर्ष कैद ! : अभियोगपत्रसँगै अर्को फाइल अख्तियारमा जाने

 

काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिकामा मानव तस्करी गर्ने प्रपञ्चमा सामेल योजनाकारहरुमाथि भ्रष्टाचारमा समेत छानविन हुने भएको छ ।आरोपीविरुद्ध जिल्ला अदालतमा अभियोगपत्र पेश भएपछि जिल्ला सरकारी वकिलको कार्यालयले कागज प्रमाणसहितको फाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाउने भएको छ । भ्रष्टाचार कानूनका विज्ञहरुले नक्कली भुटानी शरणार्थी प्रकरणमा अख्तियारले अलग्गै अनुसन्धान गर्नुपर्ने धारणा राख्दै आएका छन् । 


भ्रष्टाचारमा पनि छानविन अघि बढे आरोपीले संगठित अपराध, ठगी, मानव तस्करी, कीर्ते र भ्रष्टाचार गरी पाँचवटा मुद्दा खेप्नुपर्ने छ ।  ठगी प्रकरणमा हाल एक सय ६ पीडितका २० वटा जाहेरी प्रहरीमा दर्ता रहेको छ । ठगीमा परेका पीडितले आफूहरूबाट रु. २३ करोड २५ लाख रकम असुल गरिएको जाहेरीमा दावी गरेका छन् । यद्यपि जाहेरी बाहेक पनि प्रहरीको सम्पर्कमा नआएका ठगिने पीडित थुप्रै रहेको बताइन्छ । सबै हिसावकिताव गर्दा रु. एक अर्ब भन्दा बढी ठगी भएको प्रहरी अनुमान छ । 


  मुलुकी फौजदारी संहिता ऐन अनुसार आरोपी उच्चपदस्थ अधिकारीलाई राज्यविरुद्धको कसुरमा मात्र सजाय हुँदा पनि पाँच वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना हुने व्यवस्था छ । रकम लेनदेन गरेको प्रमाणित भए सबै रकम राज्यले जफत गर्नसक्छ । हालसम्मको अनुसन्धानबाट नक्कली भुटानी शरणार्थी बनाउने कार्यमा राज्यका बहालवाला सचिवदेखि पूर्वमन्त्री, उपप्रधानमन्त्रीसम्म संलग्न देखिएका छन् । भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार राष्ट्रसेवक र सार्वजनिक पदाधिकारीले आफ्नो अधिकार दुरुपयोग गरेको देखिएमा अख्तियारलाई जहिले पनि अनुसन्धानको बाटो खुला हुनेछ । 


प्रहरी अनुसन्धानको प्रतिवेदन प्राप्त भएपछि जिल्ला सरकारी वकिलको कार्यालयले आरोपपत्र तयार गरी पहिले सामान्य अदालतमा मुद्दा दर्ता गर्ने छ । सोहीक्रममा आरोपितहरुको भ्रष्टाचार छानविन गर्न अख्तियारलाई निर्देशन दिन पनि माग गर्न सकिने छ वा ठाडै भ्रष्टाचारजन्य कसुर देखेमा आवश्यक कागजातसहित सरकारी वकिलले सोझै अख्तियारलाई लेखि पठाउन सक्ने कानूनी बाटो पनि रहेको छ । प्रहरीले सरकारी वकिल समक्ष बुझाउने  मिसिलमा हालसम्म फेला परेका प्रमाणहरूसहित सबै कागजपत्र हुने भएकाले अख्तियारलाई धेरै तथ्य प्रमाण खोजिरहनुपर्ने झञ्झट पनि हुँदैन ।

 

प्रहरीको मिसिल, संचारमाध्यममा आएका समाचार र अख्तियारमा परेको भिन्नै उजुरीका आधारमा आरोपीसँग एकसरो बयान लिएर ‘घुस,’ ‘कीर्ते कागज भ्रष्टाचार’ र ‘गैरकानूनी सम्पत्ति आर्जन’ मा कारवाही चलाउने संभावना समेत जीवित रहेको महान्यायाधिवक्ताको कार्यालयबाट अख्तियारमा खटिएका मुद्दा महाशाखाका सरकारी वकिल बताउँछन् । ‘अख्तियारले प्रहरीको अनुसन्धान प्रतिवेदनपछि सरकारी वकीलको कार्यालयमार्फत आउने सिफारिसलाई पर्खेर बसेको छ,’ ति सरकारी वकिल भन्छन्, ‘विगतमा यही शरणार्थी भ्रष्टाचार प्रकरणमा अख्तियारले तामेलीमा राखेको उजुरी पुनः जगाएर छानविन गर्ने ठाउँ पनि छ ।’ 


अख्तियार निकट अर्को स्रोतका अनुसार, नक्कली शरणार्थी प्रकरणमा प्रमुख आयुक्त प्रेम कुमार राईको विषयमा पनि पुरानो उजुरी रहेकाले छानविन अघि बढाउन अलमल भएको छ । यसरी काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएपछि भ्रष्टाचारमा अख्तियारको ‘रोल’ हुने छ । कानूनविद्का अनुसार अहिले भएको अनुसन्धानले अख्तियारको अनुसन्धानलाई कुनै बाधा पार्दैन । शरणार्थी प्रकरणमा यी अपराधबाहेक सम्पत्ति शुद्धीकरणमा पनि छानविन अघि बढ्ने संभावना छ ।

 

नक्कली शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाण, पूर्व उपपप्रधानमन्त्री टोपबहादुर रायमाझी, गृह मन्त्री रामबहादुर थापाका पूर्व सुरक्षा सल्लाहकार ईन्द्रजित राई, बहालवाला सचिव टेकनारायाण पाण्डे, नेपाल हज कमिटीका अध्यक्ष शमशेर मियाँ, भुटानी शरणार्थी नेता टेकनाथ रिजाललगायत मुछिएकाले पक्राउ र नियन्त्रणपछि  बयान र अनुसन्धान भइरहेको छ । नेपाल हज कमिटीका अध्यक्ष शमशेर मियाँले प्रहरी समक्ष आत्मसमर्ण गरेपछि तात्कालीन गृह सचिव हाल अख्तियारका प्रमुख प्रेम कुमार राई समेत संकटमा पर्न सक्ने चर्चा सुरु भएको छ । (साँघु साप्ताहिक, २०८० जेठ ८)

प्रतिकृया दिनुहोस