• शनिबार-बैशाख-१५-२०८१

यी हुन् माओवादी निकट उच्चतहका मस्तराम कर्मचारी !

काठमाडौं । राज्यसत्तामा हस्तक्षेप बढाउन नेकपा माओवादी केन्द्र निकै सिपालु रहेको छ । २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौतापछि माओवादीको दशवर्षे सशस्त्र जनयुद्धमा ब्रेक लागेको थियो । त्यसपछि गठित माधव कुमार नेपालको १८ महिने सरकारका पालामाबाहेक अन्य सबै सरकारमा नेकपा माओवादी सम्मिलित हुँदै सत्ता र शक्तिको रस राम्ररी नै उपभोग गर्दै आएको छ । तर, सर्वहारा जनताकाे नारा दिएर संगठन निर्माण गरेर याे अवस्थामा पुगेकाे माओवादीले सर्वहारा जनताकाे भलाेकाे त कुरै छाडाैं मन छुने कामकाे रेकर्ड भने अहिलेसम्म राख्न सकेकाे छैन ।


 माओवादी केन्द्रले नेपाली सेनामा १ हजार ३ सय ५२ जना लडाकुलाई समायोजन गराएर राज्यसत्तामा आफ्नो हस्तक्षेप बढाएको थियो । त्यसयता सर्वहाराकाे दल भन्ने तर, उनीहरूकै धज्जी उडाउँदै 'जनयुद्ध'मा ज्यान गुमाएका त्यागी आफ्ना कार्यकर्ताका परिवारलाई लत्याएर सेनाका पूर्व जर्नेल कुमार फुदोङ, प्रहरीका पूर्व आइजीपी रविन्द्रप्रताप शाह र पूर्व सचिव जनकराज जोशीलाई सांसद बनाएको थियो ।

 

पूर्व सचिव गणेशराज जोशीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त र प्राध्यापक अयोधीप्रसाद यादवलाई निर्वाचन आयोगको प्रमुख आयुक्त बनाएर संसदीय राजनीतिमा हस्तक्षेपलाई निरन्तरता दिंदै आएको छ ।


  माओवादी अहिले निजामती प्रशासन भित्रका अवसरवादीलाई सचिव, सहसचिव, उपसचिव र शाखा अधिकृत आफ्ना पक्षका भन्दै मालदार र अतिरिक्त कमाई हुने निकायमा सेटिङ गरी राज्यसत्तामा तीव्र हस्तक्षेप बढाउदै लगेको कर्मचारीहरू बताउछन् । यसै सिलसिलामा अवसरवादी मानिएका मुख्य सचिव डा. शंकर दास बैरागी  अहिले माओवादी केन्द्र निकट हुन पुगेको हल्ला सिंहरदरवार परिसरमा चल्दै आएको छ ।


  नेपाल सरकारका ७४ जना सचिवहरू मध्ये माओवादी निकट सचिव भनेर चिनिएका शिक्षा, विज्ञान तथा प्रविधि सचिव रामकृष्ण सुवेदी र संघीय मामिला तथा सामान्य प्रशासन सचिव कृष्णहरि पुष्कर रहेका छन । सचिव दिनेश भट्टराईलाई पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका ज्वाईंको जीवन आचार्यको सिफारिसमा गृह सचिव बनाइएको चर्चा छ । मालदार मन्त्रालय भौतिक पूर्वाधार तथा यातायात सचिव केशव कुमार शर्मा बिडारी र सञ्चार, सूचना तथा प्रविधि सचिव कृष्ण बहादुर राउत पनि प्रधानमन्त्री दाहालकै जोडवलमा ती मन्त्रालयमा लगिएको चर्चा निजामतीमा चल्ने गर्दछ  ।


यसैगरी, माओवादी निकट सहसचिवहरूमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत प्रधानमन्त्री प्रचण्डका निजी सचिव नवराज ढुंगाना, रामकृष्ण लामिछाने, अर्जुन भण्डारी, ललितपुरको सिडिओमा हालै सरूवा भएका रूद्रप्रसाद पण्डित रहेकाे चर्चा निजामती क्षेत्रमा गरिन्छ। गृह मन्त्रालयका प्रशासन महाशाखा प्रमुख केदारनाथ शर्मा, शान्ति सुरक्षा महाशाखा प्रमुख जितेन्द्र बस्नेत पनि यही कोटरीमा परेका छन ।


संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव कमल प्रसाद भट्टराई, भन्सार विभागबाट भर्खरै सरुवामा परेका चक्र बहादुर बुढा, हाल राजस्व अनुसन्धान विभागको महानिर्देशक रहेका नारायणप्रसाद सापकोटा पनि हाल चाहिं माओवादी निकट भनेर चिनिन्छन ।

 

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक तारानाथ अधिकारी, अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारी, काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी र उद्योग मन्त्रालयका रामचन्द्र तिवारीलाई भने निजामती कर्मचारी पंक्तिमा अवसरवादी कर्मचारीका रूपमा लिने गरिएको छ ।


यी मध्ये तारानाथ अधिकारी र तिवारी विगतमा नेपाली कांग्रेस निकट भए पनि अहिले मालदार निकायमा सरुवा भएरअवसर छोप्न  मुख्यसचिव डा. बैरागीमार्फत माओवादी निकट हुन पुगेकाे चर्चा यिनीहरूलाई लामाे समयदेखि चिन्दै आएका कर्मचारीहरू बताउँछन् । माओवादी केन्द्रले यी सचिव र सहसचिवहरूलाई महत्वपूर्ण र सजिलै आर्थिक सहयाेग जुटाउन सक्ने निकायमा वारम्वार फिट गर्दै आएको कर्मचारी स्रोत बताउँछ ।

 

प्रतिकृया दिनुहोस