• शनिबार-बैशाख-६-२०८२

बुद्ध एयरका दाजु भाईबीच सेयर स्वामित्वको विवाद के हाे ?

काठमाडौं । नेपालको हवाइ उड्डयनका क्षेत्रमा ख्यातिप्राप्त र प्रतिष्ठित बुद्ध एयरका सञ्चालक वीरेन्द्रबहादुर बस्नेत र उनका भाइ शिवेन्द्रबहादुर बस्नेत बिचमा बुद्ध एयरको सेयर स्वामित्व र सम्पत्तिलाई लिएर विवाद बढेको सार्वजनिक भएकाे छ ।

 

२०७९ पुस १० गते बुद्ध एयरका संस्थापक तथा पूर्व मन्त्रीसमेत रहेका अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतको निधन भएको थियो । त्यसपछि बस्नेत दाजुभाईबीच सम्पत्तिको अंशबण्डा विवाद बढेर गएको बताइन्छ ।


सम्पत्ति विवाद बढेसँगै शिवेन्द्रले यो विवादलाई प्रेस समक्ष आएर दावी प्रस्तुत गर्दै न्याय माग गरेका छन् । सुरेन्द्रका कान्छा छोरा शिवेन्द्रले २०८० बैशाख २७ गते पत्रकार सम्मेलन गर्दै आफू बुद्ध एयरको ४० प्रतिशत सेयरको हकदार भएपनि ६० प्रतिशत सेयर रहेका दाई वीरेन्द्रले ठूलै आर्थिक घोटाला गरेको आरोप लगाएका थिए ।


  आफ्ना सहाेदर दाई वीरेन्द्रबहादुर बस्नेतले बुद्ध एयरको सम्पत्ति र दायित्वबारेको हिसाब पारदर्शी रुपले नदेखाएको उनको आरोप छ । बुद्ध एयरमा ६० प्रतिशत सेयर स्वामित्व भएका दाई वीरेन्द्रले हिसाव किताब गोलमाल गरेको उनको आशंका रहेको बताए ।


उनका अनुसार बुद्ध एयरमा बाबु सुरेन्द्रबहादुर बस्नेतको ८० प्रतिशत र दाजु वीरेन्द्रबहादुर बस्नेतको २० प्रतिशत सेयर स्वामित्व रहेको थियो । सुरेन्द्रबहादुरले आफ्नो स्वामित्वमा रहेको ८० प्रतिशतमध्येको आधा वीरेन्द्र बहादुर र आधा शिवेन्द्र बहादुरको परिवारको नाममा गरिदिएको उनको दावी रहेको छ । जसअनुसार ६० प्रतिशत वीरेन्द्रबहादुर र ४० प्रतिशत सेयर शिवेन्द्रको परिवारको नाममा आएको उनले दाबी गरेका छन ।


आफू कामका लागि अमेरिका बस्न थालेपछि बुद्ध एयरमा प्रत्यक्ष रुपमा जोडिएर काम  गर्न नपाएको शिवेन्द्रले बताएका छन् । शिवेन्द्रले बुद्ध एयरको सेयर बेचेर माउन्टेन एयर खोलेका थिए । त्यसपछि पाइलट उत्पादन गर्ने विद्यालय खोलेका उनले कतिपयकाे तालिमेसँग उठाएकाे कराेडाैं रकम पचाएकाे विवादमा फसेका थिए । पाइलट उत्पादन गर्ने  व्यवसायमा असफल भएपछि शरणार्थी बनेर अमेरिका पसेका थिए । त्यसबेला उनले पाइलट उत्पादन गर्ने भनेर धेरैको पैसा पनि डुबाएका थिए ।

 

बाबुको निधनपछि उनी सेयर स्वामित्वअनुसारको अधिकार चाहियो भन्दै दाईसँग विवाद गर्न पुगेका छन् । तर, विगतमा उनले पाइलट उत्पादन ट्रेनिङ स्कूल खोल्दा सर्वसाधारणसँग संकलन गरेको रकम हिनामिना बारे पत्रकारहरूकाे प्रश्नमा त्यस्ताे सबै रकम राफसाफ गरेको दावी पत्रकार सम्मेलनमा गरेका थिए ।


“४० प्रतिशत सेयर स्वामित्वको अख्तियार प्राप्त व्यक्तिको नाताले कानून बमोजिम लिखित रुपमा सम्बन्धित कागजात माग्ने काम भयो । तर, हाम्रो त्यो माग अनुरुप कम्पनीबाट कुनै आधिकारिक हिसाब किताब दिइएन ।आफूले  हिसाब माग्दा दाईबाट कुनै सुनवाई नभएको उनले गुनासो गरेका छन ।

 

४० प्रतिशतको स्वामित्वको त्यसको यकिन हिसाबबारे दाईले  थाहा नै नदिइएको बताउदै उनले  वीरेन्द्रबहादुरको परिवारको काठमाडौंमा ४ वटा र पोखरा, रामेछाप र भैरहवामा घरहरु बन्दै गरेको आरोप लगाउदै उनले त्यसको स्रोतकोबारेमा समेत प्रश्न उठाएका थिए ।

 

   कम्पनीको काम कारबाही, आर्थिक हिसाबकिताब र योजनाहरुका बारेमा थाहा पाउनु आफ्नो अधिकार भएको भन्दै शिवेन्द्रले बुद्ध एयरलाई माथि उठाउनकै लागि जानकारीहरु माग गरेको बताए । तर त्यसकै कारण विभिन्न आरोप लगाएर कम्पनीको कार्यालय प्रवेशमा नै आफूलाई रोक लगाएको शिवेन्द्रले पत्रकार सम्मेलनमार्फत गुनासाे गरेका छन ।


उनले कम्पनी ऐन २०६३ को धारा १४६ ले सेयर धनीको हिसाब किताब निरीक्षण गर्ने अधिकार दिएको पनि प्रेस विज्ञाप्तिमार्फत स्मरण गराएका छन् ।

कानूनअनुसार साधारण सभा र सञ्चालक समितिको निर्णय पुस्तिका, वाार्षिक आर्थिक विवरण, सेयर दर्ता किताब, र कम्पनीको लेखा हेर्न सकिने भएपनि आफूलाई हेर्न नदिइएको गुनासाे गरेका छन् ।


नाै वटा बीचक्राफ्ट विमान बेच्दा, १७ वटा विमानहरु खरिद गर्दा तथा करिब ५० करोड लागतमा आरजु राइस मिल खोल्दा आफूसँग परामर्श समेत नगरिएको उनले गुनासो गरेका छन । आरजु राइस मिलमा बुद्ध एयरको इन्जिनियरलाई काम लगाएपछि उनले गडबडीको आरोप पनि लगाएका छन ।


यस बाहेक पैतृक सम्पत्ति र बुद्ध एयरबाट आर्जन गरेर कमाएका अन्य सम्पत्ति लुकाइएका  हुन सक्ने भन्दै उनले त्यस्तो सम्पत्तिको खोजी गरिरहेको पनि शिवेन्द्रले बताए ।

 

कम्पनीको नाफा, बोनसबाट भएको आम्दानीसँग सम्पत्तिको मूल्य नमिलेको उनको दाजु वीरेन्द्रसँग गुनासो  उनले भने । कम्पनीको हिसाबमा घोटाला गर्न फाइनान्स कन्ट्रोलरको पनि सहयोग वा संलग्नता रहेको हुनसक्ने शिवेन्द्रले आशंका गरेका छन ।


अहिले बुद्ध एयरले नयाँ दुई वटा जहाज खरिद गर्न लाग्दा समेत आफूलाई कुनै जानकारी नदिइएको शिवेन्द्रको गुनासो छ । उनले कम्पनीको हरहिसाबबारे जानकारी नदिएपछि कम्पनी रजिष्ट्रारको कार्यालयमा पनि कम्पनीको वास्तविक अवस्था र त्यहाँ पेस गरिएका काजगपत्रका विषयमा जानकारी माग गरेको बताएका छन ।


‘यो समग्र पृष्ठभूमिमा हामीले न त बुद्ध एयरको छविलाई नराम्रो गर्ने उद्देश्य राख्यौं न त अन्य लाभको कुरा ग¥यौं, हामीले त केबल यो कम्पनीले सेयर स्वामित्वको हिसाब र कानूनले दिएको अधिकारको प्रयोग गरी ४० प्रतिशतको दायित्व अनुरुप सबै कुरा हुनुपर्छ भन्यौं ।’ उनले विज्ञाप्तिमा भनेका छन ।

 

आफूहरुले कम्पनीलाई अझै उचाइमा पु¥याउन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा गुणस्तरीय सेवा दिने र नेपालमै रोजगारी सिर्जना गर्नसक्ने कम्पनी बनाउन चाहेको भन्दै ६० प्रतिशत हिस्सेदार दाई पक्षले गरेको व्यवहारले कानून बमोजिम नै अधिकार प्राप्तिको लागी आवश्यक पहल गर्नु परेको शिवेन्द्रले बताएका छन ।


   २५ वर्षअघि निजी वायुसेवा कम्पनीमार्फत हवाइ सेवा थालेको बुद्ध एयरले अहिले १७ वटा विमानमार्फत सेवा दिंदै आएको छ । दैनिक ७० देखि ८० उडानहरू गर्ने यो कम्पनीले करिब ६० प्रतिशत आन्तरिक उडानको हिस्सा ओगट्दै आएको बताइन्छ ।

 

भारतको बनारसमा समेत सेवा दिंदै आएको बुद्ध एयरले अहिले आफ्नै दाजुभाईबीच सेयर विवादमा फस्न पुगेको छ । अमेरिकी शरणार्थी शिवेन्द्र बस्नेतले कानूनी प्रकृया सुरू नगरेर किन हतारमा प्रेसमा आए भन्ने कुराको रहस्य भने खोलेका छैनन् ।

 

प्रतिकृया दिनुहोस