• शुक्रबार-बैशाख-१४-२०८१

जहाज दुर्घटना दैव–दशा कि लापरवाही ? : अठ्सठ्ठी वर्षमा नौ सय सन्ताउन्नको इहलिला समाप्त 

 

काठमाडौं । नेपाल नागरिक उडड्यन प्राधिकरणको तथ्यांक अनुसार नेपालमा पहिलो पटक सन् १९५५ को मार्चमा जहाज दुर्घटना भएको थियो । अन्तर्राष्ट्रिय उडानको कालिंगा एयरको भीटी–एजेटएक्स डीसी–३ जहाज बाराको सिमरामा दुर्घटना हुँदा दुई जनाले ज्यान गुमाएका थिए । त्यस यता नेपाली आकाशमा १ सय २४ दुर्घटना भएका छन् । सन् १९५५ यता यात्रुको ज्यान जाने गरी ३५ आन्तरिक, आठ अन्तर्राष्ट्रिय विमान र १७ हेलिकोप्टर दुर्घटनामा परेको तथ्याङ्क छ । यी सबै दुर्घटनामा परी नौ सय ५७ जनाको ज्यान गएको छ । 


१९५८ मा नेपाल वायुसेवा निगमको स्थापना भएको थियो । हवाई सेवाको यो तथ्यांकले बर्सेनी ज्यानै जाने गरी भएका दुर्घटनाको डरलाग्दो तस्बिर उजागर गर्दछ । अन्तर्राष्ट्रिय उडान दुर्घटनापछि सन् १९६१ मे ११ मा नेपाल वायुसेवा निगमको जहाज भैरहवामा दुर्घटना भएको थियो । उक्त दुर्घटनामा ४ जनाको ज्यान गएको तथ्याङ्क छ । नेपाली आकासमा वर्षमा सरदर दुइटा हवाई दुर्घटना हुने गरेको तथ्याङ्क छ । नेपाली आकाशमा भएको सबैभन्दा ठूलो जहाज दुर्घटना सन् १९९२ मा ललितपुरकोे भट्टेडाँडामा पाकिस्तान इन्टरनेसनल एयरलाइन्स (पीआईए)को जहाज दुर्घटना हो । त्यो जहाज दुर्घटनामा एक सय ५७ जनाले ज्यान गुमाएका थिए । त्यही वर्ष नुवाकोटको घ्याङ्फेदीका भएको थाई एयरवेजको जहाज दुर्घटनामा एक सय १३ जनाको मृत्यु भएको थियो । 


जहाज दुर्घटनाको इतिहास खोतल्दा नेपाल वायुसेवा निगमको जहाज १९७५ मार्च ३१ मा काठमाडौंको बौद्धमा दुर्घटनामा पर्‍यो । उक्त जहाजमा पाँच जना यात्री थिए । त्यसको ६ वर्षपछि निगमकै जहाज सन् १९८१ अक्टोबर ३० मा विराटनगरमा दुर्घटनामा पर्दा १० जनाले ज्यान गुमाए । त्यसलगत्तै १९८४ नोभेम्बर २२ मा दुर्घटना हुँदा १५ जनाले ज्यान गुमाउनुपरेको थियो । १९९३ जुलाई ३१ मा एभरेस्ट एयरको जहाज दुघर्टना हुँदा १८ जना यात्रीले मृत्युवरण गरे । १९९५ जनवरी १७ मा निगमकै जहाज दुर्घटना हुँदा दुई जनाले ज्यान गुमाएको तथ्याङ्क छ । 


त्यसपछि पनि जहाज दुर्घटनाको श्रृङ्खला नै छ । सन् १९९८ अगस्ट २१ मा एएसडी क्यानको जहाज दुर्घटना भयो । उक्त जहाजमा सवार १८ जनाले ज्यान गुमाए । सोही बर्ष (१९९८ डिसेम्बर २०) मा निगमकै जहाज सोलुखुम्बुमा दुघर्टनामा प¥यो र एक जनाको ज्यान गयो । सन् १९९९ जनवरी १७ मा नेकोन एयरको जहाज जुम्लामा दुर्घटना भयो । त्यस जहाजमा पाँच जनाले जिवन गुमाए । त्यस लगत्तै १९९९ अक्टोबर ५ मा निकोन एयरको जहाज थानकोटमा दुर्घटना भयो । त्यो दुघर्टनामा १५ जनाको ज्यान गयो ।


यता सन् १९९९ नोभेम्बर २५ मा स्काइलाइन एयरवेजको जहाज दुर्घटना भयोे । मकवानपुरमा भएको त्यो दुर्घटनामा १० जना यात्रीले मृत्युवरण गर्नुपर्‍यो । २००० फेबु्रअरी २६ मा निगमकै जहाज बझाङमा दुर्घटना हुँदा एक जनाको ज्यान गयो । २००० जुलाई २७ मै वायुसेवा निगमको ट्विनअटर विमान बझाङबाट डडेलधुरा जाने क्रममा दुर्घटनामा पर्‍यो । त्यस जहाजमा सवार २५ जनाको जिवन लिला समाप्त भयो । यस्तै २००२ जुलाई १७ मा स्काइलाइन एअरलाइन्सको जहाज सुर्खेतमा दुर्घटना हुँदा सवार चार जना यात्रुले मृत्युवरण गर्नुपर्‍यो । 


सन् २००२ को अगस्ट २२ मा सांग्रिला एयरको ट्विनअटर विमान पोखरामा दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको प्राधिकरणको तथ्यांकले देखाउँछ । त्यसपछि २००४ को अप्रिल २१ मा बुद्ध एयरको जहाज त्रिभुवन विमानस्थलमा दुघर्टना हुँदा एक जना यात्रुले ज्यान गुमाए । २००४ मे २५ मा यति एयरलाइन्सको ट्विनअटर विमान लुक्ला विमानस्थल नजिक लाम्जुरा पहाडमा ठोक्किँदा चालक दलका तीन सदस्यको जिवन समाप्त भयो । यस्तै सन् २००६ जुन २१ मा यति एयरलाइन्सको ट्विनअटर जहाज जुम्ला विमानस्थलमा दुघर्टनामा पर्‍यो । त्यस दुर्घटनामा परी नौ जनाको मृत्यु भयो । २००८ को अक्टोबर ८ मा जुम्ला विमानस्थलमा यति एयरलाइन्सको जहाज दुघर्टना हुँदा १८ जनाको जिवन सकियो । अवतरणका क्रममा उक्त जहाज दुर्घटनामा परेको थियो । 


त्यस यता पनि जहाज दुर्घटनाको फेहरिस्त लामै छ । अग्नि एयरको जहाज सन् २०१० को अगस्ट २४ मा मकवानपुरमा दुर्घटनाग्रस्त भयो । जहाँ १४ जना यात्रुले मृत्युवरण गरे । लगत्तै २०१० डिसेम्बर १५ मा तारा एयरको ट्विनअटर जहाज ओखलढुंगाको मानेडाडाँमा दुघर्टनामा पर्‍यो । त्यसमा पनि २२ जनाको मृत्यु भयो । २०११ को सेप्टेम्बर २५ मा ललितपुरको विशंखु नारायणमा बुद्ध एयरको विमान दुर्घटना हँ‘दा १९ जनाको जीवन सकियो । फेरि २०१२ मे १४ मा अग्नि एयरको डोर्नियर जहाज जोमसोम विमानस्थलनजिकै दुर्घटना हुँदा १५ जनाको ज्यान गयो । २०१२ सेप्टेम्बर २८ मा सीता एयरको डोर्नियर जहाज भक्तपुरको मनोहरा खोला किनारमा दुर्घटनाग्रस्त भयो । उक्त दुर्घटनामा १९ जनाको मृत्य भएको तथ्याङ्क छ । 


त्यसपछि २०१४ फ्रेबुअरी १६ मा वायुसेवा निगमको ट्विनअटर जहाज अर्घाखाँचीको खिदिममा दुर्घटनामा प¥यो । जहाँ १८ जनाले ज्यान गुमाए । २०१६ फ्रेबुअरी २४ मा तारा एयरको फ्लाइट–१९३ दुर्घटनामा प¥यो । उक्त दुर्घटनामा २३ जनाको मृत्यु भएको थियो । यसपछि एअर काष्ठमण्डप जहाज २०१६ फ्रेबुअरी २६ मा कालिकोटमा दुर्घटनामा प¥यो । उक्त दुर्घटनामा दुई जना यात्रुको ज्यान गयो । त्यसलगत्तै फेरी २०१७ मे २७ मा गोमा एयरको कार्गो जहाज लुक्लामा दुर्घटना भयो । त्यो दुर्घटनामा गरी दुई जनाले मृत्युवरण गरे । २०१८ मे १६ मा सुर्खेत विमानस्थलबाट हुम्लाको सिमिकोट उडेको मकालु एअरको विमान दुर्घटना भयो । त्यस्मा चालक दलका दुई सदस्यको मृत्यु भयो । 


२९ मे २०२२ मा पोखराबाट जोमसोमका लागि उडेको तारा एअरको जहाज म्याग्दीमा दुर्घटनाग्रस्त हुँदा २२ जना यात्रुको मृत्यु भयो । गत आइतवार मात्रै काठमाडौंबाट पोखराका लागि उडेको यति एयरको विमान दुर्घटना भयो । पोखरा महानगरपालिका–१५ स्थित सेती नदीको खोचमा दुर्घटनाग्रस्त हुँदा ७२ जनाले ज्यान गुमाए । 


अन्तर्राष्ट्रिय ‘फ्लाइट’ पनि उस्तै :
नेपाल नागरिक उडड्यन प्राधिकरणको तथ्यांक अनुसार नेपालमा पहिलो पटक सन् १९५५ को मार्चमा अन्तर्राष्ट्रिय उडानको कालिंगा एयरको भीटी–एजेटएक्स डीसी–३ जहाज बाराको सिमरामा दुर्घटना हुँदा दुई जनाले ज्यान गुमाएका थिए । त्यसपछि सन् १९९२ जुलाईमा ३१ मा थाइ एयरलाइन्सको जहाज काठमाडौंमा अवतरण गराउने क्रममा पहाडमा ठोक्किएर दुर्घटना हुँदा चालक दलका १४ सदस्यसहति एक सय १३ जनाको ज्यान गयो । 


सन् १९९२ सेप्टेम्बर २८ मा पाकिस्तान एयरलाइन्सको फ्लाइट–२६८ त्रिभुवन विमानस्थानमा अवतरणका क्रममा दुर्घटनामा प¥यो । उक्त दुघर्टनामा परी एक सय ६७ जनाको ज्यान गयो । सन् २०१८ मार्च १२ तारिखका दिन यूएस–बंगलाको विमान त्रिभुवन विमानस्थलमा अवतरणका क्रममा दुर्घटना हुँदा ४९ जनाको ज्यान गयो । 


हेलिकप्टरको पनि निको छाँट छैन  :
सन् १९७९ नोभेम्बर २७ का दिन लाङटाङमा हेलिकप्टर दुघर्टना हुँदा ६ जनाको ज्यान गएको तथ्याङ्क छ । १९९७ अक्टोबर ३० मा कर्णाली एअरको हेलिकप्टर दुघर्टना हुँदा एक जनाको ज्यान गयो । १९९८ अक्टोबर २४ मा एसियान एअरलाइन्सको हेलिकप्टर मुलखर्कमा दुर्घटनामा पर्दा तीन जनाको मृत्यु भयो । 


सन् २००१ नोभेम्बर १२ मा फिस्टेल एयरको हेलिकोप्टर मुगुमा दुर्घटनामा प¥यो । उक्त, दुर्घटनामा चार जनाको ज्यान गयो । २००३ मे २८ मा सिम्रिक एयरको हेलिकप्टर एभरेस्ट बेसक्याम्पमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भयो । २००५ जनवरी ४ मा एयर डाइनेस्टीको हेलिकप्टर रामेछापमा दुर्घटनामा पर्‍यो । त्यस दुर्घटनामा तीन जनाको जिवन गयो । २००६ अगस्ट २९ मा श्री एयरलाइन्सको हेलिकप्टर ताप्लेजुङको घुन्सामा दुर्घटनाग्रस्त भयो । त्यस  दुर्घटनामा तत्कालिन वन तथा भू संरक्षण राज्य मन्त्री गोपाल राई, भूगोलविद् हर्क गुरुङ, वन–वातावरणविज्ञसहित २४ जनाको ज्यान गएको थियो । २००९ सेप्टेम्बर १५ मा मनाङ एयरको हेलिकोप्टर हुम्लामा दुघर्टना हुँदा एक जनाको मृत्यु भयो । 


यी दुर्घटनासहित हेलिकोप्टर दुर्घटनाको फेहरिस्त पनि लामै छ । २०१० सेप्टेम्बर ७ मा फिस्टेल एअरको हेलिकप्टर आमदब्लाम हिमालमा दुर्घटना हुँदा दुई जनाले ज्यान गुमाए । यता २०१३ जुन १९ मा फिस्टेलकै हेलिकप्टर सिमिकोटमा दुर्घटना हुँदा एक जनाको ज्यान गयो । २०१४ अगस्ट ३ मा पनि फिस्टेलकै हेलिकप्टर सिन्धुपाल्चोकमा दुर्घटनामा पर्‍यो । जहाँ एक जनाको ज्यान गयो । यसैगरी २०१५ मे १२ मा भूकम्पपीडितको राहत बोकेको अमेरिकी हेलिकप्टर सिन्धुपाल्चोकमा दुर्घटना भयो । उक्त दुघर्टनामा ११ जनाको ज्यान गएको तथ्याङ्क छ । त्यस यता सन् २०१५ जुन २ मा माउन्टेन हेलिकोप्टर दुर्घटनामा पर्‍यो । सिन्धुपाल्चोकमै  भएको त्यो दुर्घटनामा पनि चार जनाको ज्यान गयो । सन् २०१६ अगस्ट ८ मा फिस्टेल एयरको हेलिकप्टर नुवाकोटमा दुर्घटनामा प¥यो । त्यसमा पनि ७ जनाले ज्यान गुमाए । 


सन् २०१८ सेप्टेम्बर ८ मा गोरखाबाट उडेको अल्टिच्युट एअरको हेलिकप्टर हेलिकप्टर धादिङमा दुघर्टना भयो । त्यो दुर्घटनामा ६ जनाको मृत्यु भएको थियो । २६ फेब्रुअरी २०१९ मा ताप्लेजुङमा एअर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा प¥यो । त्यो दुर्घटनामा पर्यटन मन्त्री रविन्द्र अधिकारीसहित सात जनाको ज्यान गयो ।  

प्रतिकृया दिनुहोस