• बिहीबार-बैशाख-१३-२०८१

अर्काको लेख चोर्ने काम नगरौं न हजुर !

 अहिले लेखनीय तथा पठनीय संस्कृतिमा ह्रास आएको देखिन्छ । सायद अहिलेको श्रवणीय तथा दृश्यात्मक प्रविधिको विकासले पनि हुन सक्छ । ठूला ठूला विद्वानहरुले लामो समय र अनुसन्धान गरेर लेखेका पुस्तकहरु खोजेर अध्ययन गर्ने परिपाटीको करिब करिब अन्त्य हुनै लागेको जस्तो अनुभव गरिएको पाईन्छ । यस्तो अवस्था आउनुमा व्यक्ति आफूमात्र जिम्मेवार छ भन्न पनि सकिदैन । 


किनकि कुनै पनि व्यक्ति अहिले छोटो समयमा धेरै कुरा सिक्न चाहेको हुन्छ प्रविधिको माध्यमबाट । उ अनेक कार्यमा ब्यस्त भएको हुन्छ । सबै काम उसले छोटो समयमा सम्पन्न गर्नु पर्ने हुन्छ । त्यसकारण सहजताको लागि उसले प्रविधिको सहयोग खोजेको हुन्छ ।


  विकास हुँदै गएको सामाजिक संजाल र प्रविधिको कारणले गर्दा धेरै अपत्यारिला काम पनि संभव भएका छन् । ईन्टरनेटको माध्यमबाट घरमै बसेर अनेक ग्रन्थ सुतीसुती सुन्न पाईन्छ । त्यसैगरी देख्न र पढ्न पनि पाईएको हुन्छ । त्यसकारण मानिस दुःख गरेर पढ्न चाहँदैन । अनि पुस्तक पसल धाएर खोजतलास गर्न पनि उसलाई आवश्यक पर्दो रहेनछ । अर्को कुरा प्रविधिको माध्यमबाट सजिलै अनुवाद पनि गर्न सकिने हुँदा मानिसले आफ्नो हात किन खियाउनु प¥यो र ? त्यस्तै गरेर कसैले अरुको कृति नक्कल गर्न मन लाग्यो भने केही सेकेण्ड भित्रै नक्कल गर्न सकिने हुन्छ पनि । यसरी बाठा मानिसहरु जो प्रविधिमा अभ्यस्त भएका हुन्छन्, धेरै कुरा सहजै ग्रहण गर्न सकेका हुन्छन् ।

 

जो प्रविधिसंग परिचित हुन सकेका हुँदैनन् उनीहरु प्रविधिबाट पनि ठगिएका हुन्छन् । हुन त अहिले प्लागारिजमको पनि विकास भएको छ । कसैले कसैको सिर्जना नक्कल गरेको छ भने यो प्रविधिले पत्ता लगाएको पनि हुन्छ तर नेपालमा भने यसको त्यति विकास भएको देखिंदैन । विगतमा विश्वविद्यालयका एक उच्च प्राध्यापक डाक्टर साहेवले अन्य व्यक्तिको कृति नक्कल गरेको बारे पत्रपत्रिका र सामाजिक सञ्जालमा निकै आलोचनापूर्ण प्रचारप्रसार भयो । पछि ती महोदयलाई केही चेतावनी तथा कारबाहीसम्म हुन सकेन । अहिले यो विषय त्यसै सेलाएर गएको छ । कसले यो विषय अघि बढाउने ?


यहाँ मैले यसरी भूमिका बाँध्नुमा म आफैले पनि केही यस्ता अनुभव गरेको छु । गत वर्ष मैले कुनै एक स्थापित साप्ताहिक पत्रिकामा  ‘किन ठूला मुद्दा सेलाउँदै छन् भन्ने लेख प्रकाशनार्थ पठाएको थिएँ । संधै जसो प्रकाशित हुँदै आएकोमा त्यो लेख किन प्रकाशित भएन मलाई थाहा हुने कुरो पनि भएन । त्यसपछि मैले लेख पठाउने पनि गरिन ।


गत वर्ष त्यही साप्ताहिक पत्रिका म पढ्दै थिएँ । अनायास मैले प्रकाशनको लागि पठाएको त्यो लेख त  सम्पादकीयमा जस्ताको तस्तै छापिएको रहेछ । मलाई अचम्म लागेर आयो । लेखकलाई एक शब्दपनि नसोधी किन यसरी सम्पादकीयमा छापियो आश्चर्य लाग्नु स्वभाविकै थियो । यस सम्बन्धमा पत्रिकाका सम्पादकलाई सम्पर्क गर्न धेरै पटक फोन गरें, फोन उठ्दै उठेन । मलाई भने जिज्ञासा भईनै रह्यो र ईमेल पठाएँ । ईमेलबाट पनि उत्तर पाउन सकिन र अहिलेसम्म पनि जिज्ञासा मेटाउन सकेको छैन ।


   अर्को प्रसंग पनि यसैसंग मिल्दो जुल्दो छ । कुनै एक अनलाईन    पत्रिका पढ्दै थिएँ । मेरो आँखा आमासंग सम्बन्धित लेखमा पर्न गयो । भेटेसम्म आमासँग सम्बन्धित लेख मैले पढेको हुन्छु, किनकि मलाई आमा जति मनपर्ने अरु कोही छैनन् । जति म लेख पढ्दै जान्छु, उतिउति मलाई शंका लाग्दै गयो । आफूले लेखेको विषय, त्यस भित्रको सार र आफ्नो बुझाई राम्रैसंग जो कोहीलाई थाहा हुनु स्वभाविकै हुन आउँछ । लेख आद्योपान्त पढेपछि मलाई थाहा भयोकि त्यो लेख मैले लेखेको आमाको ममता भन्ने लेखसंग अधिकांश कुरा मिलेका छन् । त्यसैले मेरो दिमाग चक्करायो र पुराना लेखहरु खोजतलास गर्न थालें । नभन्दै २०७५ सालमा लेखेको मेरो लेखलाई आधार लिएर ‘आमा डराएकी भए.... भन्ने शीर्षकमा उक्त लेख प्रकाशित भएको रहेछ । त्यो लेखमा मेरो लेखको सारमात्र लिईएको थिएन कि कतिपय पाराग्राफका पाराग्राफ जस्ताकोतस्तै नक्कल गरिएको रहेछ ।


उहाँ यसरी अर्काको लेख सार्ने लेखिका हुनुहुँदो रहेछ अनि डाक्टर पनि । उहाँ जस्तो विद्वान व्यक्तिले म जस्तो सामान्य भर्खर बामेसर्न लागेको मानिसको लेख किन नक्कल गर्नु प¥यो होला मैले बुझ्न सकिन र सम्पादकलाई पत्र लेख्ने विचार गरें । लेखिकाको कुनै सम्पर्क नम्बर मसँग नभएको कारणले गर्दा उहाँसंग सम्पर्क गर्न सक्ने अवस्था नै रहेन । त्यसैले गर्दा सम्पादकलाई इमेलमार्फत पत्र लेखें । अहं, उहाँले पनि केही जानकारी दिनु भएन ।


 अहिले पनि त्यो अनलाईन पत्रिका मैले पढेकै हुन्छु , कतै यस बारे प्रष्ट पारिएको छकि भनेर । अनि म अन्दाज गर्छु सायद उहाँलाई त्यस पत्रिकामा लेख छपाउन रोक पो लगाईएको छ कि भनेर । अहं, त्यो पनि देखिंदैन, किनकि उहाँका लेखहरु बारंबार अनलाइन र पत्रिकामा छापिएकै छन् ।


अर्को कुरा लेखक बन्न त्यति सजिलो पनि रहेनछ । लामो अध्ययन अनुसन्धान गरेर बडो मेहनत गरेर पुस्तक प्रकाशन गरे पनि त्यसले बजार पाउन खुबै मुस्किल पर्दो रहेछ । स्थापित लेखकहरुलाई सजिलो भएपनि भर्खर अघि सरेकाहरुलाई भने फलामे चिउरा चपाए जस्तो हुँदो रहेछ । एकातिर पब्लिसर नपाउनु अर्कोतिर आफैले प्रकाशन गरेपनि बिक्री गर्न नसक्नु । हो अहिले यही रोगबाट ग्रस्त छन् हाम्रा लेखकहरु ।


विद्यालय, क्याम्पस र विश्वविद्यालयलाई लक्षित गरी प्रकाशन गरिएका पुस्तकहरुको सम्बन्धमा त्यति समस्या नआउला किनकि त्यस्ता पुस्तकहरु सजिलै बिक्री  हुन सक्दछन् तर अन्यको हकमा भने समस्या ज्युँका त्युँ रहेका छन् नै ।


हो, साँच्चि नै हो, हामी जस्ता भुराभरीलाई पुस्तक लेखनमा निकै समस्या छ । येनकेन लेख्यो,  प्रकाशक पाउन सकिदैन । आफैले छपाई गर्न झनै समस्या हुने नै भयो । कथंकदाचित आफैले प्रकाशित गरे पनि बिक्री भण्डार पाउन सकिदैन । बिक्री भण्डार पाउन सकेपनि हिसाबकिताब मिल्दैन । पुस्तक बिक्री भएको अवस्थामा पनि मूल्यको ३५ देखि ४० प्रतिशतमात्र लिएर सन्तुष्ट हुनु पर्ने परिस्थिति विद्यमान छँदैछ ।


वर्तमान अवस्थामा पुस्तक लेखनमा धेरै समस्या रहेका छन् । समस्या समाधानको लागि कुनै पहल गरिएको छैन । लेखकहरु सेलाउँदै  गएका छन् अनि ठगिएका पनि देखिन्छन् । त्यसैले यसमा सरकार र सम्बन्धित पक्षले ध्यान दिनु आजको आवश्यकता हो ।
 

प्रतिकृया दिनुहोस