• बिहीबार-जेठ-५-२०७९

बी डिभिजन लिग: श्री भगवतीको जरिवाना बढ्दा नयाँबस्तीको घट्यो

काठमाडौं, २७ वैशाख । अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गत अनुशासन कमिटीले शहीद स्मारक ‘बी’ डिभिजन लिग क्लब श्री भगवती क्लबमाथि लगाएको जरिवाना बढाउने निर्णय गरेको छ । 

 

अब भगवतीले एक लाख जरिवाना तिर्नु पर्नेछ । यसअघि ‘बी’ डिभिजन लिगअन्तर्गत बाँसबारी क्लबविरुद्धको खेलपछि श्री भगवतीका खेलाडी तथा अफिसियलहरु रेफ्रीमाथि हातपातमा उत्रिएको भन्दै एन्फाले क्लबका अफिसियल राजाराम श्रेष्ठ र विक्रम डंगोलसँगै खेलाडी अनिस श्रेष्ठलाई एक वर्षको प्रतिबन्ध र ५० हजार जरिवाना लगाएको थियो । 

 

२०७९ वैशाख २७ गते मंगलबार बसेको कमिटीको बैठकले ‘बी’ डिभिजन लिगकै अर्को क्लब नयाँबस्ती यूथ क्लबमाथिको जरिवाना एक लाख ५० हजारमा घटाएको छ । 

 

‘बी’ डिभिजन लिगअन्तर्गत मध्यपुर यूथ एसोसिएसनसँग ३–१ पराजित हुँदा नयाँबस्तीका खेलाडी र अफिसियलहरुले रेफ्रीहरुमाथि अभद्र व्यवहार गरेको एन्फाले जनाएको छ । 

 

यसअघि एन्फाले नयाँबस्तीलाई तीन लाखको जरिवाना लगाउने निर्णय गरेको थियो ।

 

यस्तै, अनुशासन कमिटीले नयाँबस्तीका व्यवस्थापक विकाश राईमाथि ६ महिना र खेलाडी मनोज राईलाई एक वर्ष प्रतिबन्ध लगाउने लिग कमिटीको निर्णयमा भने समर्थन जनाएको छ ।

 

हिजोनै बसेको लिग कमिटीको बैठकले आरसी ३२ स्पोर्ट्स एकेडेमीलाई १  लाख ५० हजार जरिवाना तोकेको थियो ।

 

आइतबार ‘सी’ डिभिजन लिगअन्तर्गत पुल्चोक स्पोर्टस् क्लबविरुद्धको खेलपछि रेफ्री र म्याच अफिशियलहरुविरुद्ध अभद्र व्यवहार गरेको भन्दै एन्फाको अनुशासन कमिटीले आरसी ३२ का खेलाडी अनिस श्रेष्ठलाई दुई वर्ष र विदुर रिजाल र प्रविन राईलाई समान एक वर्षको प्रतिबन्ध लगाएको हो ।

 

प्रतिबन्धसँगै उनीहरूले एन्फाले अनुमति दिएको कुनै पनि प्रतियोगितामा सहभागिता जनाउन पाउने छैनन् । यस्तै, आरसी ३२ का अफिसियल सञ्जीव कार्की र टिम व्यवस्थापक अनुप भट्टराईलाई लिगका आगामी खेलमा प्रतिबन्ध गरेको छ । 

 

यस्तै, अनुशासन कमिटीले आरसी ३२ का प्रतिनिधि रविन चन्दलाई फुटबल गतिविधिबाट एक वर्षसम्म प्रतिबन्ध लगाउने निर्णय गरेको छ । प्रतिबन्ध सोमबारदेखि नै लागू भएको एन्फाले जनाएको छ ।

न्युज कारखाना

प्रतिकृया दिनुहोस