• बिहीबार-बैशाख-१३-२०८१

जनताले दिएको अभिमत सबैले मान्नु पर्छ र स्वीकार्नु पर्छ 

ढिलो चाँडो वाम पार्टी एकीकरणको विकल्प छैन 

 

(बलराम बास्कोटा कम्युनिष्ट आन्दोलनमा सुपरिचित नाम हो । २०२८ सालदेखि नै विद्यार्थी राजनीतिबाट कम्युनिष्ट आन्दोलनमा होमिएका बाँस्कोटा लामो समयसम्म नेकपा एकता केन्द्रमा रहेर काम गरेका वरिष्ठ नेता हुन् । जीवनको लामो उर्वर समय कम्युनिष्ट आन्दोलनमा खर्चिए पनि उनी कुनै लाभको पदमा भने पुग्न सकेनन् । राजनीतिक अवसर प्राप्त नगरेका थोरै कम्युनिष्ट नेता भित्र नेता बाँस्कोटा पर्दछन् । २०७४ सालमा भएको आम चुनावपछि भने उनी नेकपा एमालेको तर्फबाट राष्ट्रिय सभा सदस्य बनेका थिए, त्यो पनि दुई वर्षको लागि । हाल नेकपा एकीकृत समाजवादीको स्थायी समिति सदस्य र अखिल नेपाल किसान महासंघको अध्यक्षसमेत रहेका नेता बाँस्कोटासँग मुलुकमा आगामी २०७९ बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचन, समसामयिक राजनीति, कम्युनिष्ट आन्दोलन र भावी राजनीतिलगायत विषयमा केन्द्रित रहेर साँघु साप्ताहिकका लागि रामहरी चौलागाईं र बोधराज पौडेलले गरेको संवादको मुख्य अंश : सम्पादक)


० तपाई, नेकपा एकीकृत समाजवादी पार्टीको स्थायी समिति सदस्यको हैसितमा हुनुहुन्छ, आगामी ३० गते हुन गइरहेको स्थानीय तहको चुनावी परिणामलाई कसरी आँकलन गरिरहनु भएको छ ?


–चुनावी परिणामको विषयमा साथीहरुले विश्लेषण र अनुसन्धान गरिरहेको अवस्था छ । जनताले दिएको अभिमत सबैले मान्नु पर्छ र स्वीकार्नु पर्छ । चुनावी परिणामबाट एमालेलाई आत्मआलोचना र आफूले गरेका हिजोको दिनका राजनीतिक गल्तीको महसुस गराउन सकियोस् । आगामी बैशाख ३० गने हुन गइरहेको स्थानीय तहको निर्वाचनले सरकारमा रहेका पाँच दलीय राजनीतिक गठबन्धन दल र एमालेलगायत अरु राजनीतिक दलहरुलाई एउटा नयाँ पाठ पक्कै सिकाउने छ । देखेको सत्यभन्दा भोगेको सत्यलाई सत्य मान्न यसले पक्कै सहयोग गर्नेछ । हाम्रो पार्टी नेकपा समाजवादीले पनि सन्तोषजनक परिणाम ल्याउँछ भन्ने कुरामा मलाई विश्वास छ । 


० मुलुक चुनावमय भइरहेको समयमा कम्युनिस्ट आन्दोलनमा लामो समय योगदान गरेका चर्चित नेता वामदेव गौतम अहिले बेखवर र गुमनाम बसेका छन्, यसको कारण के हो ?


–वामदेव गौतमको नेपालको कम्युनिस्ट आन्दोलनमा अद्वितीय भूमिका छ । त्यसको हामी सबैले मूल्याङ्कन गर्नुपर्छ । राजतन्त्रको विरुद्धमा संघर्षमा जानुपर्छ भन्ने नेताहरु मध्ये माधव नेपाल र बामदेव गौतम हुन् । यस बारेमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजतन्त्र फाल्न संभव हुँदैन भन्ने मत राख्नु भएको थियो । नेता गौतम एउटा अग्रगमनको यात्रामा अघि बढेको व्यक्ति हो ।

अहिले पनि हामीसँगै रहेर सहकार्य गर्नका लागि उनीसँग हामीले अनुरोध गरेका छौँ । हेरौँ के हुन्छ । हिजोका दिनमा सँगै बसेर जसरी काम गरिया,े फेरि पनि सँगै काम गरिन्छ भन्ने विश्वास मलाई छ । उहाँ अहिले पनि कम्युनिष्ट आन्दोलन अगाडि बढाउन विचार मिल्नेहरु विभाजन भएर होइन, एकै ठाउँमा उभिनु पर्छ भनेर अभियान चलाइरहनु भएको छ । 


० संघीय र प्रदेश सभाको आगामी चुनाव भन्दा अगाडि नै वामदेवको नेकपा एसमा इन्ट्री संभव होला त ?


–अर्को बाटो नभएका कारण आउनु हुन्छ भन्ने मेरो धारणा हो । प्रतिक्रान्तिकारी विचारलाई स्वीकार गर्ने स्वभाव उनीमा छैन । एउटै कमिटीमा बसेर पच्चिस वर्ष काम गरेको मेरो अनुभवले म गौतमलाई राम्रोसँग बुझ्दछु । अग्रगमनलाई स्वीकार गरेर अगाडि बढ्ने व्यक्ति भएको हिसाबले हामीसँगै हुनुपर्छ भन्ने हाम्रो धारणा छ । एमालेमा वामदेव गौतम बस्नु हुन्छ भन्ने मलाई लाग्दैन । हिजोको लडाइँ र स्वभावलाई हेर्दा बाटो समाजवादीले तय गरेको नै सही हो । गौतमबाट बेलाबेला आएका भनाइले हामीलाई नजिक पारेको छ भन्ने मेरो बुझाइ छ । एक दुई चरणको वार्तामा सहभागी भएको हिसाबले जनताको बहुदलीय जनवादलाई अनुसरण गरेर अगाडि बढ्नु पर्छ भन्ने उहाँको माग छ । अहिले देखिएका समस्यालाई महाधिवेशनबाट समाधान गर्नुपर्छ । उहाँका विचारमा हामी सहमत छौं ।


० अहिलेको निर्वाचन प्रणाली अति महंगो भएको गुनासो बढिरहेको छ, यसलाई तपाईले कसरी लिनु भएको छ ?


–हो, अहिलेको निर्वाचण प्रणाली भड्किलो, खर्चिलो र महंगो हुँदै गएको छ । यसलाई सुधार गर्नुपर्छ । त्यसको लागि शतप्रतिशत समानुपातिक र कार्यकारी प्रमुख प्रत्यक्ष निर्वाचित गर्ने बाटोमा अगाडि बढ्नु पर्छ । नत्र चुनावका कारण नै हाम्रो देश आर्थिक संकटमा पर्छ र समाजवादको बाटोको अन्त्य हुन्छ । तसर्थ राजनीतिक प्रणालीलाई सुधार गर्नुपर्छ । 


० नेकपा एमालेले तय गरेको बाटो अनि व्यवहार खराब हो भन्दै विद्रोह गरेर नेकपा एस पार्टी गठन गरियो, तर व्यवहारमा परिवर्तन देखिएन, चुनावमा उम्मेदवार घोषणाले पनि यो कुरा प्रमाणित गरिसकेको छ, सात महिनामै गन्हाउन थालेको पार्टीले एमालेलाई गाली गर्नुको औचित्य समाप्त भएन र ?


–हामी एमालेको फोहोरको चाङबाट यहाँ आएका हौँ । हामीले अहिले योे फोहोरभित्र बस्नु हुँदैन भनेर सरसफाइ कार्यक्रम गरिरहेका छौं । पानीले मात्र नजाने फोहोरलाई साबुन, स्याम्पुको प्रयोगले सफा गर्ने काम भइरहेको छ । यसले हामीलाई रोगी बनाउँछ भनेर नै सरसफाइको काम भइरहेको हो । सरसफाइमा ध्यान नदिने हो भने रोगका कारण हाम्रो मृत्यु हुन्छ भन्ने लागेर हामी अस्पताल गएका छौं । अब डाक्टरको सल्लाहका अनुसार औषधि उपचार भइरहेको छ । हाम्रो डाक्टर भनेको जनता हुन । उनीहरुले हाम्रो यो रोगको चाडै अन्त्य गर्नेछन् । 


० ०५४ सालमा एमाले विभाजनपछि गठन गरिएको मालेकालमा पनि यी कुरा उठेका हुन्, फेरि एकजुट भएको पार्टीमा यी कुरा सुधार हुनुको साटो पार्टी नै विभक्त भयो, अब फेरि पार्टी मिल्ने संभावना कतिको देख्नु हुन्छ ?


–त्यतिवेला नेकपा एमाले विभाजन भएर र नेकपा माले पार्टी गठन गर्नुपर्ने कारण भनेको महाकाली सन्धि थियो । हिजो जो महाकाली सन्धिको समर्थनमा थिए, आज तिनै विरुद्धमा छन् । हिजोका ती विरोधी आज राष्ट्रवादी भएका छन् । पार्टी एकता गर्ने मूल कारण महाकाली सन्धिका विषय जनतामा लाने भन्ने थियो ।  तर, पछि त्यो कार्यान्वयन भएन । पार्टीमा विचारधारात्मक व्यवस्था अनुसार ०५४ मा पार्टी फुटेको हो । त्यो बेला नै यस्ता विरोधी कुरालाई नियन्त्रण गर्न सकेको भए आजको यो दुर्घटना रोकिने थियो । त्यसको कुशल व्यवस्थापन नहुनु नै आजको समस्या हो । नेकपा एकीकृत समाजवादी यो पाठ सिकेर अगाडि बढ्छ । पार्टी अनुशासन विभागले पार्टीको नीतिको विषयमा बुझाउँछ तर विद्रोह रोक्न सक्दैन । 


० चुनावी गठबन्धन गर्दा अघिल्लो स्थानीय निर्वाचनमा एमालेले चुनाव जितेका ठाउँमा एसले टिकट पाउनु पर्छ भन्ने तपाईहरुको माग त पूरा भएको देखिएन नि ?


–सबै पक्षका आ–आफ्नै माग हुन्छन् । गठबन्धन दलका बिचमा यस बारेमा छलफल भएको पनि हो र हुन्छ पनि । यसले एउटा निर्णयक मोड लिन्छ । हाम्रो शक्ति के हो भनेर अहिले हामीले देखाउने ठाउँ छैन । गठबन्धन भित्रका केही राजनीतिक दलहरुले तिम्रो केही छैन भन्ने गर्छन् । यो विषयलाई चिर्नका लागि हाम्रो यो माग हो । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि माधव नेपालले आफ्नो हैसियत भन्दा बढी सिट मागेका कारण यो समस्या आएको भन्ने आरोप लगाएको सबैले सुनेकै विषय हो । हाम्रो माग अनि जनाधार के हो भन्ने कुरा देखाउन पनि यो माग जायज हो र छ । 


० नेकपा माओवादी केन्द्रको सांगठनिक अवस्था कमजोर भएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादीप्रति यस्तो आरोप लगाएको बताइदैछ नि ?


–राजनीतिक र सांगठानिक हिसावले प्रचण्ड स्वभाविक रुपमा कमजोर भइसकेका छन् । कारण के भने उनका राजनीतिक गुरु मोहन वैद्य, विप्लव, आहुती, गोपाल किराती, बाबुराम भट्टराई पार्टीबाट अलग भएका छन । हुँदा हुँदा नेता रामबहादुर बादलको टोलीले पनि उनलाई छोड्यो । कमजोर भएको तथ्य यही हो । तर पनि यो होइन कि प्रचण्ड अनुभव नभएको नेता हो । धेरै उकाली ओरालीको राजनीतिक यात्रा तय गरिसकेको अनुभव अध्यक्ष प्रचण्डसँग छ । हामी पनि आफ्ना समस्याको निराकरण गर्दै, बाधा पन्छाएर अगाडि बढिरहेका छौं । राजनीतिक रुपमा नेकपा एस कमजोर छ भनेर शंका गर्नु आवश्यक छैन । हाम्रो एउटै मात्र अभीष्ट इच्छा भनेको मृत्युवरण नगरी जीवन्त रहने हो । सोभियत संघको क्रान्तिबाट हामीले सिकेको पाठ पनि यही हो । 


० विद्रोहको वहानामा पदको लोभ र स्वार्थ गाँसिएर एमालेबाट अलगिर बाक्लो दाल खाएको मात्र देखियो, यसको दृष्टान्त सरकारमा गएका अहिलेका मन्त्रीले देखाएरहेका छन्, खै त यहाँहरुले खोजेको समाजवाद, कि यो फेरि माछा मार्ने दुवाली मात्र हो ?


 –कम्युनिस्ट आन्दोलन विचार, सिद्धान्त, नीति र राष्ट्रियताको सवालमा र जनतन्त्रका विषयमा नौसर्गिक अधिकारका लागि विद्रोह हुन्छ । यो नैसर्गिक अधिकार प्रयोग गर्नुको कारण के हो भने एमाले बनाउनका लागि खर्चिएको समय र रगत पसिनाको लागि हो । त्यसमा पनि विद्रोह गर्नुको कारण नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टीगत एकता किन गरियो र भत्काइयो । २०७५ जेठ ३ मा दुई पार्टी एकता भएपछि नेतृत्वमा अहंमता बढ्यो ।

कम्युनिस्ट पार्टीलाई एकीकृत गरेर लानुपर्नेमा त्यो विखण्डनको दिशामा अघि बढ्यो । नेतृत्वले नेता, कार्यकर्ता र जनताको विश्वास जित्न सकेन । अन्तर्राष्ट्रिय शक्तिले नेपालमा कम्युनिस्ट पार्टीको एकीकरण चाहँदैनन् ।

अदालतले पनि एक भएको पार्टीलाई अलग बनाउने कहिँ नभएको नजिरको प्रयोग ग¥यो । यसले प्रतिक्रियावादीलाई बल पु¥यायो । यसमा ऋषि कट्टेल त एउटा पात्रको रुपमा देखा परे । तर, त्यसको आन्तरिक भूमिका भने बाह्य शक्तिले खेले । 


० नेताको स्वार्थका कारण पार्टी फुट्यो, सर्वोच्च अदालतले दुई पार्टीलाई अलग गर्ने आदेश दिएको दिनमा एमाले पक्षधरले दीपप्रज्वलन गरे, माधव नेपाल पक्षले कालो दिन भन्छन्, कम्युनिस्ट पार्टीको संस्कार नेता पिच्छे फरक हुन्छ हो ? 


–कम्युनिस्ट इतिहासमा यसलाई कालो दिन मानिन्छ । जसले नेपालको कम्युनिस्ट एकतालाई तहसनहस पा¥यो । तर, यो दिन केपी ओली पक्षमा रहेका व्यक्तिले कुन अर्थले हो यसलाई  दीपावली पर्वको रुपमा लिए । जसरी सोभियत संघमा गोर्वाचोवले कम्युनिस्ट आन्दोलन विघटन गर्दा प्रतिक्रियावादीले ठाउँ पाए, ओलीले पनि त्यो स्थान दिएको अवस्था आयो । 


० अदालतले गरेको निर्णयले पार्टी दुई टुक्रामा विभक्त भयो, त्यसलाई रोक्ने प्रयास गर्नुको साटो पचण्डको पुच्छर समाउनु पर्ने बाध्यता के थियो नि ?


–लोकतान्त्रिक पद्धति अवलम्वन गरेको पार्टीले अदालतको निर्णय मान्नु राम्रो हो । यही ठम्याइका साथ अन्तर संघर्ष गर्ने योजना बन्यो । त्यसले नै पार्टीलाई बलियो बनाउँछ, र नेताहरुलाई जिम्मेवारी बोध गराउने उद्देश्य थियो । तर परिस्थिति बदलियो । केन्द्रीय कमिटीमा खेमागत व्यवहार गरियो । अन्यलाई बाहिर राख्ने काम भयो ।

आफूखुसी केन्द्रीय सदस्यको मनोनयन भयो । केन्द्रीय कमिटी विघटन गरेर केन्द्रीय महाधिवेशन कमिटी निर्माण भयो । कम्युनिस्ट पार्टी एउटा विधि र पद्धति र सिद्धान्तले चल्नु पर्नेमा त्यसो हुन सकेन । फ्रान्सको राज्य क्रान्तिमा नेपोलियन बोनापार्टको बाटोमा अग्रसर रहेका ओलीलाई रोक्नका लागि  विद्रोह गर्नुप¥यो ।

सन् १९५६ मा माओले चीनमा जुन अवस्थाको सामना गर्नुप¥यो । त्यो समाजवादको अवधारणको विषयमा उनको धारण अल्पमतमा प¥यो । माओले मेरो विचार सही र त्यो विचार लागू नगर्ने हो भने आफूले पार्टीवाट राजीनामा गर्ने र पार्टी छोड्ने र जनताको बिचमा जाने बताएका थिए । अब यसका लागि क्रान्ति गर्नुपर्छ भन्ने लागेर सन् १९४९ मा माओको नयाँ जनवादी क्रान्ति सम्पन्न भएको थियो । त्यो विषयमा तत्कालीन केन्द्रीय समितिले त्यसलाई अनुमोदन ग¥यो । 


० नेपाल पक्षधर नेताहरुले पनि दुई तिहाइको सरकार ढाल्न र पार्टी फुटाउन त खुब खेल खेल्नु भो नि हैन ?


–केपी ओलीले पनि माधव नेपाल खेमामा रहेकालाई बैठकमा नबोलाउने । अन्तरपार्टी संघर्ष गर्न नदिने । यी प्रयासका सबै ढोका बन्द भएपछि विद्रोह भएको हो । नत्र पार्टी फुटाउने रहर कदापी होइन । पार्टीलाई विचारधारात्मक प्रकृयाले संचालन गरौँ भन्ने हो । त्यो संभव नभएपछि यो विद्रोह भएको हो । त्यसरी यो पार्टीको जन्म भएको । अहिले यसले सात महिना पूरा गरेको छ । ७७ जिल्लामा संगठन निर्माण गरेर बलियो राजनीतिक शक्ति बनेको छ ।


० त्यति बलियो संगठन भएको पार्टीले स्थानीय तहको निर्वाचनमा गठबन्धन चाहिँ किन गरेको नि ?


–स्थानीय निर्वाचनमा चुनाव लड्ने सांगठनिक क्षमता पार्टीले बनाइसकेको छ । हामी सक्षम र सवल पनि छौँ । अहिलेको यो परिवेश भनेको लोकतन्त्र विरोधी बिरुद्धमा गठबन्धन बनेको छ । यो बाध्यात्मक परिवेश हो । यो नेकपा एसको लागि मात्र नभएर, काँग्रेस र माओवादीको पनि बाध्यता हो ।

यो कस्तो बाध्यात्मक अवस्था हो भन्दा संविधान र लोकतन्त्रको रक्षाको लागि लिएको संवैधानिक बाटो हो । समाजवादीको यात्रामा सँगै जाने सहयात्रीको रुपमा गठबन्धन भएको हो । 


० तपाईले त सिद्धान्त र विचारको कुरा गर्नु भयो, गठबन्ध पनि आफ्नो विचार मिल्नेसँग गर्ने हो, काँग्रेससँग एसको कसरी विचार र सिद्धान्त मिल्यो नि ?
–क्रान्तिले समाजवादको बाटो खोज्छ । यसमा लोकतान्त्रिक शक्ति पनि हुन्छ । नेपाली काँग्रेसको इतिहासलाई संझिने हो भने सामन्तवादसँग गठजोड गर्ने काम पनि गरेकै हो । पुष्पलालको भनाइ मान्ने हो भने तानाशाही सामन्तवादको एउटा अवस्था पनि हो । विपीले पनि यो कुरालाई स्वीकार गरे । निरंकुश राजतन्त्रलाई संविधानको दायरमा राख्ने काम सबै पार्टी मिलेर गरेको हो । यो कुनै एक पार्टीको प्रयास मात्रले गरेको होइन । संविधान सभाको एजेण्डा पनि हाम्रो थियो । त्यसलाई नेपाली काँग्रेसले स्वीकार ग¥यो । राजा फाल्ने कुरालाई उसले सघायो । उसको विधानमा जुन कुरा छँदै थिएन । आन्दोलन एउटा निरन्तर प्रवाह हो । अहिलेको चुनावको मूल एजेण्डा भनेको अग्रगमन कि पश्चगमन भन्ने हो । यसले अग्रगमनको प्रतिनिधित्व गरेको हुनाले गठबन्धन गरेको अवस्था हो । 


० तपाईंहरु क्रान्तिकारी र लोकतन्त्रवादी, नेकपा एमाले र त्यस पार्टीका अध्यक्ष केपी ओलीलाई चाहिं कसरी पश्चगमनकारी हुनु भयोे ?
–हो, यो कुरा अहिलेको चुनावी साँठगाँठले देखाएको छ । राप्रपाका कमल थापा, राजेन्द्र लिङ्देन अनि ह्दयेश त्रिपाठी र सिके राउतहरुसँग चुनावी गठबन्धनबाट प्रष्ट भएन ? यी शक्तिलार्ई अग्रगामी शक्ति मान्न सकिन्न । पश्चगामी र अग्रगामीको जुन अहिलेको गठजोड छ, यसैले अहिलेको अवस्थाको प्रतिनिधित्व गर्छ । यसमा धेरै कुरा भन्न जुरुरी छैन । जनताले अग्रगमन स्वीकार गर्छन् भन्ने हाम्रो विश्वास हो । यसैलाई आधार मानेर हामी चुनावी मैदानमा छौँ । अग्रगमनले विजय हासिल गर्छ भन्ने मेरो बुझाइ हो । 

प्रतिकृया दिनुहोस