• मंगलबार-माघ-२२-२०८१

वीरगञ्ज भंसारका हाकिमहरु नै तस्करका संरक्षक ? 

 

 

काठमाडौं । २०५७ सालमा खरिदार पदबाट जिल्ला विकास समिति धादिङमा काम गरी निजामती सेवा शुरु गरेका अरुण पोखरेल अहिले सहसचिवका रूपमा हाल वीरगञ्ज भंसारको प्रमुख भंसार प्रशासक रहेका  छन् । जागिरे जीवनको दौरान खरिदार, नासु, अधिकृत, उपसचिव, सहसचिव सबै पदमा खुला प्रतिस्पर्धाबाटै भिडेर नाम निकालेका उनले महालेखा परीक्षकको कार्यालय, मालपोत कार्यालय कावासोती, पर्यटन र शान्ति तथा पुनर्निर्माण मन्त्रालयमा काम गरेका थिए ।

 

उपसचिव भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालय स्थापना गरे, उद्योग मन्त्रालयमा रहे, स्थानीय विकास अधिकारी भएर रौतहट खटिए, वीरगन्जको सहायक सिडिओ भएर केही समय काम गरे । सहसचिवमा बढुवा भएसँगै डिल्लीबजार कारागार र राष्ट्रिय विपद जोखिम प्राधिकरणमा ६ महिना बिताए । सिन्धुपाल्चोक सिडिओ बन्ने अवसर पनि पाए । 


अर्थ मन्त्री जनार्दन शर्माका प्रिय पात्र रहेका र उनकै कृपाले वीरगञ्ज भंसारको प्रमुख भंसार प्रशासक रहेका अरुण पोखरेलको नेतृत्वमा रहेको वीरगञ्ज भंसार हाल तस्करका लागि सुवर्ण नाका बन्न गएको छ । भंसार विभाग, अर्थ मन्त्रालय कसैसँग पनि समन्वय नगर्ने प्रवृत्तिका प्रमुख भंसार प्रशासक रहेका अरुण पोखरेल, प्रमुख भंसार अधिकृत दिलीप केसी पनि अर्थ मन्त्री जनार्दन शर्माकै प्रिय पात्र हुन् । अर्का प्रमुख भंसार अधिकृत हुन्, हरिहर पौडेल । प्रमुख भंसार अधिकृत पौडेल आफूलाई नेपाली कांग्रेसको खाँटी कार्यकर्ता भएको बताउछन् ।

 

प्रमुख भंसार प्रशासक पोखरेल र प्रमुख भंसार अधिकृतद्वय बीच कामको समन्वय सहकार्य समेत हुन नसकेको कर्मचारी स्रोत बताउछ । विदेशी मुद्राका अभावका कारण हाल आयातमा नियन्त्रण गरिनु अनि राजश्व संकलन हुने प्रमुख नाका वीरगञ्ज भंसार नाकाबाट ट्रकका ट्रक तस्करी खुल्ला गरिएपछि हाल सुरक्षा निकायका र प्रशासनका कर्मचारीहरुले आश्चर्यमा परेको खबर छ । भंसारकै सेटि¨ र मिलेमतोमा तस्करी र तस्कर चम्किएको स्रोत बताउछ । वीरगञ्ज भंसार नाकाबाट प्रज्ञापत्र विनाका तस्करीका मालसामान लाखँैको होइन करोडौंको फेला पर्ने गरेका छन् । उदाहरणका लागि प्रहरी निकायले २०७८ चैतको अन्तिम हप्ता बरामद गरेका घटना र त्यससम्बन्धी समाचार यहाँ प्रस्तुत गरिएको छ । 


सशस्त्र प्रहरीद्वारा करोडौं मूल्यका
सामान बरामद

पर्सा जिल्लाको वीरगंज महानगरपालिका १४ स्थित गण्डक ईलाकाबाट चैत २२ गते सशस्त्र प्रहरीले प्रज्ञापन पत्र नभएको करीव ९४ लाख ५३ हजार रुपैयाँ बराबरको औषधिजन्य सामाग्री र किराना सामान बरामद गरेको खबर छ । हिजोआज वीरगञ्ज भंसार नाकाबाट   अत्याधिक तस्करी हुने गरेको पुष्टि प्रज्ञापन पत्र नभएको लगभग एक करोडको मूल्यका सामान एकै पटक बरामद भएबाट हुन्छ ।

 

वीरगंजबाट पथलैयातर्फ आउँदै गरेको ना २ ख ९५४३ नम्बरको ट्रकमा राखेर ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । त्यसवेला उक्त सामान ल्याउन प्रयोग भएको सो ट्रक समेत बरामद गरिएको छ ।  बरामद सामान तथा ट्रक राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको छ । उक्त ट्रकको भन्सार दाखिला मुल्य २५ लाख रुपैयाँ रहेको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साबाट खटिएको सशस्त्र प्रहरीले चैत २२ गते नै प्रज्ञापन पत्र नभएको करीव ५१ लाख ९२ हजार रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको छ ।


लाखौंका सामान बरामद 
वीरगंजबाट पथलैयातर्फ आउँदै गरेको ना ७ ख ९४२ नम्बरको ट्रकमा राखेर ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरीले पर्सा जिल्लाको वीरगंज महानगरपालिका १४ स्थित गण्डक ईलाकाबाट बरामद गरेको हो ।  पर्सा जिल्लाको वीरगंज महानगरपालिका १५ लक्ष्मनवास्थित पूर्व–पश्चिम लोकमार्गबाट चैत २५ गते सशस्त्र प्रहरीले करिब २८ लाख ४२ हजार रुपैयाँ बराबरको ईलेक्ट्रोनिक, हार्डवेयर तथा अन्य सामान बरामद गरेको छ ।


ना ३ ख ६९९ नम्बरको ट्रकमा राखेर नेपालतर्फ ल्याउँदै गरेको उक्त सामानको प्रज्ञापन पत्र नभेटिएपछि सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।  त्यसवेला उक्त ट्रक समेत बरामद गरिएको छ  । बरामद सामान तथा ट्रक राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको छ । यी त एक हप्ताभित्र सशस्त्र प्रहरी बलले पकउ गर्न सफल भएको तस्करीका सामान हुन् । यी बाहेक पक्राउ पर्न नसकेका तस्करीका सामान कति करोड, अर्बका वीरगञ्ज भंसार नाकाबाट पास भइरहेका होलान् भने सहजै अनुमान गर्न सकिन्छ । 

प्रतिकृया दिनुहोस