• मंगलबार-माघ-२२-२०८१

रजनीकान्तका निर्माता झुण्डिएको अवस्थामा मृत फेला

 

हैदाराबाद, २२ माघ । साउथका चर्चित निर्माता केपी चौधरीले गोवामा आत्महत्या गरेका छन् ।

 

उनी लामो समयदेखि आर्थिक संकटसँग जुधिरहेका थिए । व्यक्तिगत जीवनमा उनी डिप्रेसनको सामना गरिरहेका थिए । प्रहरीका अनुसार चलचित्र निर्माता पहिलेदेखि नै आर्थिक संकटमा परिरहेका थिए । यसबाहेक लागुऔषध मुद्दामा जेल परेपछि उनको मानसिक अवस्था पनि ठीक नभएको र डिप्रेशनमा परेको थियो । गोवा प्रहरीका अनुसार उनको शव गोवाको सियोलेममा भाडाको घरमा झुण्डिएको अवस्थामा फेला परेको थियो । उनी ४४ वर्षका थिए ।

 

सन् २०२३ मा हैदरावाद प्रहरीले उनलाई लागूऔषध मुद्दामा पक्राउ गरेको थियो । उनी एक प्रसिद्ध फिल्म निर्माता थिए र दक्षिण फिल्म उद्योगका मेगास्टार रजनीकान्तको फिल्म ‘काबली’ पनि निर्माण गरेका थिए तर सोही साल अर्थात सन् २०२३ मा हैदरावादको स्पेशल अपरेशन टोलीले उनलाई समातेको थियो । उनीविरुद्ध लागुऔषध सम्बन्धी मुद्दा चलेको थियो । 

 

उनीमाथि टलिउड र कलिउडमा लागुऔषध कारोबार गर्ने गरेको आरोप लागेको थियो । उनी गहिरो ऋणमा थिए र उनको ऋण तिर्नको दबाब तीव्र थियो । कोरोनाको समयमा उद्योग ठप्प हुँदा केपी चौधरी लागूऔषध व्यवसायमा लागे र त्यसबाट पैसा कमाउन थालेका थिए । उनले गोवामा ओएचएम नामको पब पनि खोलेका थिए । यो एक पब थियो, जहाँ उनी ग्राहकहरूसँग ड्रग्स डिल गर्थे र प्रसिद्ध सेलिब्रेटीहरूलाई पनि ड्रग्स आपूर्तिसमेत गर्ने गर्दर्थे ।

 

फिल्म काबलीको कुरा गर्दा यो फिल्मलाई फ्यानहरुले निकै रुचाएका थिए । जसमा साउथ सुपरस्टार रजनीकान्त मुख्य भूमिकामा थिए । रिपोर्टका अनुसार फिल्मको बजेट करिब १०० करोड थियो जबकि सकनिल्कको रिपोर्ट अनुसार फिल्मले ३ सय करोडभन्दा बढी कलेक्सनसमेत गरेको थियो । सन् २०१६ मा रिलिज भएको फिल्म ‘काबली’ मा राधिका आप्टेको महत्वपूर्ण भूमिका थियो ।

 

 

प्रतिकृया दिनुहोस