• मंगलबार-माघ-२२-२०८१

काठमाडौं महानगरमा प्रारम्भिक बाल विकास कक्षा, एकै दिन ९७१ जना भर्ना



काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्रका सामूदायिक विद्यालयहरुमा एकै दिन ९७१ जना बालबालिका प्रारम्भिक बाल विकास कक्षामा भर्ना भएका छन् ।


माघ २१ गते मनाइएको सरस्वती पूजाका दिन विशेष अवसरमा बालबालिका भर्ना भएका हुन् । यसरी भर्ना हुनेमा ५३२ जना छात्रा छन् भने ४३९ जना छात्र छन् । महानगरपालिकाभित्र ८७ वटा सामुदायिक विद्यालय छन् । यीमध्ये ८१ वटामा प्रारम्भिक बाल विकास कक्षा (इसिडी) छन् । 


सबैभन्दा धेरै विद्यार्थी भर्ना भएको विद्यालय कन्या माध्यमिक विद्यालय न्होखामा ६५ जना छात्रा छन् । ज्ञानोदय माध्यमिक विद्यालय, बाफलमा ६० जना, जनपथ माध्यमिक विद्यालय, कलंकीमा ४२ जना, कुलेश्वर माध्यमिक विद्यालय, कुलेश्वरमा ४१ जना विद्यार्थी भर्ना भए ।


यस्तै नीलवाराही माध्यमिक विद्यालय, टंकेश्वर, सरस्वती निकेतन माध्यमिक विद्यालय, व्रह्मटोल, सितला माध्यमिक विद्यालय, बालाजु हरेकमा ४० ÷ ४० बालबालिका भर्ना भएका छन् । प्रारम्भिक बाल विकास कक्षाहरुमा बाल केन्द्रित सिकाइको स्तर वृद्धि गर्न महानगरपालिकाले काठमाडौँ विश्वविद्यालयसँगको स्कूल टिच प्रोग्रामअन्तर्गत पूर्वाधार, उपलब्धता, उपलब्ध सामग्रीको प्रयोग, शिक्षकहरुको क्षमता लगायत कोणबाट अध्ययन गरेको थियो । 


सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाका अनुसार अध्ययनले देखाएको आवश्यकता पूर्ति गर्दै बाल बिकासका कक्षाहरुको स्तर वृद्धिमा काम भइरहेको छ । यसअन्तर्गत विद्यार्थीहरुको संख्या, उपलब्ध स्थानलगायत स्थानको आधारमा ८१ वटा विद्यालयका प्रारम्भिक बाल विकास कक्षामा शिक्षण सिकाइ सामग्रीका लागि ८ करोड ६५ लाख रुपैयाँ पठाइएको छ । 


यस्तै शिक्षकहरुलाई २ चरणमा ४८ घण्टे तालिम प्रदान गरिएको छ । यसपछि आया र इसिडीका अतिरिक्त सहजकर्ता पठाउने तयारी छ । 
 

 

 

प्रतिकृया दिनुहोस