• बिहीबार-चैत-१५-२०८०

कालो टीका लगाएर एकताको गीत ?

 

आफ्नै पार्टीका अध्यक्ष विरूद्ध कलङ्को कालो टीका लगाएर माधव नेपाल समूह एकताको गीत गाउँदै शेरबहादुरको ‘वेतलबी खेताला’ भएका छन् । दलीय लोकतन्त्रमा योभन्दा घटिया हर्कत अरू केही हुनै सक्दैन । सर्वाेच्चले फैसला गरिदियो त्यो आफ्नो ठाउँमा छ र त्यसको इतिहासमा व्याख्या तथा समीक्षा हुँदै जानेछ । तर एउटा लोकतान्त्रिक र संघर्षको इतिहास भएको एमालेमा भएको आत्मघाती कदमको इतिहासले जति नै भत्सर्ना गरेपनि त्यो कम नै हुने अवस्था बन्यो । 


राजनीतिक कार्यशैलीमा पार्टी अध्यक्ष केपी ओलीसँग मत भिन्नता हुन सक्दछ र भयो पनि होला । तर पार्टीलाई घात गर्दै अर्काे समूहलाई लिखित र कानुनी समर्थन गर्नु भनेको आफ्नो घरमा बाबुसँग वा अभिभावकसँग मन मिलेन भने अर्काे छिमेकीको बार्दलीमा चढेर आफ्नै घरको शिशा फुटाउने र ढुङ्गा बर्साउने कार्य जस्तो अनैतिक कार्य भएन? अब फेरि बाबुसँग ‘कुरा मिल्यो’ भन्दै घर फर्किंदा घरका फुटेका र टुटेका शिशा र संरचना त ध्वस्त भईसकेको हुन्छन् । त्यो फर्केर आउने होइन । योभन्दा कलंकको कालो टीका लगाउने काम अर्काे हुनै सक्दैन ।


सर्वाेच्चको फैसला र दलीयतन्त्र
दलीयतन्त्र वा दलीय प्रजातन्त्रमा दल मूल कुरा र पक्ष हो । दलकै चुनाव चिन्ह्मा जनताले मत दिएर पठाएका हुन्छन्् । दलको अनुशासनमा दलका मानिस बाँधिएनन् भने त्यहाँ भाँडतन्त्र हुन्छ, अराजकता हुन्छ । धारा ७६ (५) को व्याख्या गर्ने क्रममा अदालतले जसरी ह्वीप लाग्दैन साँसद्ले स्वतन्त्रतापूर्वक मत हाल्न पाउँदछन् भन्ने फैसला गरिदियो त्यसले दलीयतन्त्रको मर्ममाथि गतिलो प्रहार गरेको छ । यो फैसला एकदलीय सोचको नतिजा हो । उम्मेदवार हुने हदसम्म मात्र व्यक्तिलाई छुट दिने संविधान कानुनको मर्म हो । उम्मेदवारलाई समर्थन गर्ने हदमा दलको ह्वीप लाग्छ, लाग्छ र लाग्नुपनि पर्दछ । यस्तो भयो भने आज प्रधानमन्त्री ओलीलाई खाने ‘बाघ’ले भोलि जसलाई पनि खान सक्दछ ।


बूढी मरि होइन काल पल्कियो 
सर्वाेच्च अदालतको फैसला पूर्वाग्रहप्रेरित छ । दलीयतन्त्र ध्वस्त गर्ने सोच र नियत लुकेको देखिन्छ । आज एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा के फैसला गरियो भन्दा पनि सर्वाेच्चको फैसला अर्काे फैसलाले नकाट्दासम्म नजीर सरह लागू हुने भएकोले त्यसको दूरगामी प्रभाव पर्ने देखिन्छ । आज केपीलाई खाने ‘स्वतन्त्र सांसद्को हुईया’ले भोलि अरूलाई पनि नखाला भन्न सकिन्न । दलले आफ्ना सांसद्लाई आफ्नो अनुशासनमा राख्न नसक्ने र नपाउने हो भने त्योभन्दा ठूलो राजनीतिक अराजकता केही हुन्न । त्यसले संसद्मा एकलौटी बहुमत नभएको अवस्थामा र भएकै स्थितिमा पनि सासद्को ‘किनबेच’ हुने, राजनीतिक अस्थिरता जन्मने, भद्रगोल र वेइमानीको संस्कृति हुर्कने  अवस्था बन्न सक्दछ । त्यसैले यहाँआज के फैसला भयो भन्दा पनि त्यसले भोलिसम्म पनि कस्तो नराम्रो असर पर्ला भन्ने चासो हो । बूढी मरि होइन काल पो पल्कियो भन्ने हो । जनताले दशकौंको राजनीतिक, सामाजिक र सांस्कृतिक संघर्ष गरी ल्याएको लोकतान्त्रिक गणतन्त्र ‘भद्दा’ र विकृत बन्ने त होइन भन्ने चिन्ता बढेको छ । 


घरमा आगो लगाएर खरानीको भोज
माधव कुमार नेपाल समूहले आफ्नै बनिबनाउ घरमा आगो लगाएर डडेको घरको खरानीमाथि उफ्रेर ‘खरानीको भोज’ गर्दै आएका छन् । एमालेका निर्वाचित अध्यक्ष केपी ओलीलाई सत्ताबाट हटाएर विपक्षी शेरबहादुर देउवालाई कुर्सीमा ल्याउन यत्रो ‘जात्रा र हुर्दुङ्गा’ गर्नु पर्ने थिएन । आफ्नो पार्टीको बैठक र भेलामा नआएर विपक्षी गठवन्धनमा सामेल भई पार्टी विरूद्ध विषवमन गर्ने समूहलाई इतिहासले माफी गर्न सक्दैन । ठीक छ अध्यक्षको कमजोरी थियो वा सच्चाउनु पर्ने कुरा थियो भने त आफ्नै दलमा विधिमा बसेर ‘गाँड कोराकोर’ गरेकोे भए भईहाल्थ्यो । त्यो नगरेर बाहिर गएर तथानाम गर्ने अनि फेरि आफू एमालेको ‘फलाना नेता हुँ’ पनि भन्ने योभन्दा लाजमर्दाे हर्कत केही हुनै सक्दैन । घरमा आगो लाग्दा निभाउन लाग्नु पर्नेमा उल्टो खरानीमा नाच्न पाइने भन्दै ‘फुस्रा जोगीको जस्तो सोच’, चिन्तन र व्यवहार पाल्ने नेताले भोलि कुन मुखले फेरि जनतामा गएर म एमालेको नेता हुँ भन्दै भन्ने हो ? यो बढो गम्भीर सवाल आज जन्मिएको छ । 


कालो टीका र एकताको गीत
निधारमा राजनीतिक अपराधको अक्ष्यम्य कालो टीका लगाएर पार्टीका अध्यक्ष विरूद्ध तथानाम बोलेको होइन अदालती मुद्दा नै गरी सकेपछि फेरि पार्टीमा एकताको गीत गाउनेहरूलाई लाज र सरम लाग्नुपर्ने हो । योभन्दा बरू अगग्गै पार्टीको गठन गरी गए ठीक हुन्छ होइन ? गर्नुनगर्नु पनि गर्ने, बेठीक पनि भन्ने, सत्तोसराप पनि गर्ने र त्यतिले नपुगेर अर्काे दलसँग मिलेर मुद्दा गर्ने र लड्डु खाँदै हिंडेनेहरू फेरि कुन मुख र नैतिकताले एमालेमा एकताको ‘गीत’ गाउँदै हिड्दछन् ? यो नेपाली राजनीतिक इतिहासमा एउटा कलंक हो । कालो धब्बाको दाग हो । निधारमा नागाँ बाबा (जोगी) ले लगाउने कालो टीका जस्तो राजनीतिक अपराधको कालो टीका हो । अब कालो निधार देखाएर एमालेको एकता–एकता भन्नेहरू अपराधी हुन् । 


गल्ती, माफी र एकता
यद्यपि राजनीतिमा एक पटक गल्ती, कमजोरी र अक्षम्य खालको अपराध भएपछि जिन्दगीभरलाई सकियो भन्ने चाहिं हुन्न । त्यसैले आफूबाट भएको र गरिएको गल्तीलाई स्वीकार गरी अब आइन्दा नगर्ने कसम खाँदै पार्टी र जनता समक्ष शिर झुकाएर गल्ती भयो भन्नु पर्ने अवस्था  छ । यसो भयो भने पार्टी र जनताबाट आवश्यक क्षमा पनि हुन सक्दछ । पार्टीमा सार्थक र वस्तुपरक एकता आजको आवश्यकता चाहिं हो । त्यसैले जहाँ–जहाँबाट जे जस्ता गल्ती भएका छन् तिनमा आवश्यक गल्ती स्वीकार गरी माफी दिएर एकतालाई बलियो बनाउनु चाहिं पर्दछ । निधारमा लागेका ती काला टीकालाई पखाल्नु पर्दछ । 


कालो टीका नपखाली फेरि पनि पुरानै पार्टी विरोधी हर्कत गर्दै एकताको गीत गाउने हो भने १० बुँदे र जतिपनि बुँदे सहमतिको नौटङ्कीको कुनै अर्थ हुने छैन। एक माघले जाडो जाने त होइन । पार्टीलाई गम्भीर धोका र भँडखालोमा जाक्ने काम भएकै हो । अब त्यो अपराधको टीका त लाग्यो, लाग्यो । कहिल्यै पनि नपखालिने गरी लाग्यो । 


यद्यपि द्वन्द्व, झगडा र राजनीतिक कमजोरीमा एक पक्ष वा समूह मात्रै दोषी हुन्छ अर्काको कुनै कमजोरी हुँनै सक्दैन भन्नु पनि एकलकाट्टे विश्लेषण हुन सक्दछ । त्यसैले सबैले आफ्ना कमजोरी स्वीकार गर्नै पर्दछ । तर जसरी विश्लेषण गरेपनि पार्टी, समूह वा आफ्नो घरमा जति नै अन्याय भयो भनिए पनि अर्काे छिमेकीको घरको बार्दलीमा गएर आफ्नै घरमा ढुङ्गा हान्दै घरको शिशा चकनाचुर पार्दै रमाउने कामचाँही अक्षम्य नै हो । 


अब घर ध्वस्त भईसकेपछि खरानीमाथि उफ्रिएर ला गल्ती, कमजोरी भयो भन्दा धेरै विग्रियो । यस्तो कालो धब्बा लगाएर गरिने एकताको गीतले खासमा कति सार्थक एकता दिन सक्ला ? नेकपा एमालेको राजनीतिमा यसलाई बढो गम्भीर विश्लेषणका साथ विवेचना गर्नुपर्ने खाँचो छ । 


कुपात्र, ‘डेटएक्सपाएर मेडिसिन’ र टेको
नेपाली राजनीतिमा शेरबहादुर देउवा जस्तो असक्षम, बदमास, राष्ट्रघाती पात्र कोही छँदैछैन । राजनीतिका सारा विकृति भित्र्याउने बदनाम मूलपात्र देउवा नै हुन् । आफ्नो घरको रिसले यस्ता ‘पात्रलाई टेकोपुँरो दिनेहरू’ले नेपाली राजनीतिको भविश्यमा चौतर्फी क्षति व्योहोर्नुुपर्ने अवस्था छ । देउवा म्याद सकिएको (डेड एक्सपाएर) औषधि हुन् । जसको कुनै अर्थ र औचित्य छँदैछैन् ।
 

प्रतिकृया दिनुहोस