• बुधबार-असार-१८-२०८२

युवाको आवाज, न्यायोचित वित्तको बाटो : सेभियामा नेपाली नेतृत्वको विश्वमञ्चीय सन्देश

उच्चस्तरीय प्यानल छलफल : स्थानीय आविष्कार, विश्वव्यापी प्रभाव

सेभिया, स्पेन – जुलाई १, २०२५ । स्पेनको सेभियामा आयोजित विकासका लागि वित्तपोषणसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन (FfD4) अन्तर्गत एक विशेष साइड इभेन्टमा नेपालले नेतृत्व गरेको एउटा सशक्त युवा आवाजले विश्व समुदायको ध्यान खिचेको छ।

 

बागमती युनेस्को क्लब, BPW International र बागमती प्रदेश युवा परिषद् को सहकार्यमा आयोजित कार्यक्रमले युवा नेतृत्वद्वारा सञ्चालित स्थानीय आविष्कारहरूलाई दिगो विकासका उद्देश्यहरू (SDGs) हासिल गर्ने प्रभावकारी उपायको रूपमा प्रस्तुत गर्‍यो।

 

FIBES सम्मेलन स्थलको साइड इभेन्ट हल ७ मा सम्पन्न यस सत्रको अध्यक्षता बागमती युनेस्को क्लबका अध्यक्ष निश्चल बानियाँले गर्नुभयो। संयोजकका रूपमा सुश्री सव्यता पौडेल र  युवराज बजगाईंको उल्लेखनीय भूमिका रह्यो ।


कार्यक्रमको मूल मन्तव्य थियो – “युवाहरू न्यायोचित वित्तका वास्तुकार हुन्” भन्ने अवधारणालाई अघि बढाउँदै, युवाको नवप्रवर्तनलाई सहजीकरण गर्ने वित्तीय संरचना अपरिहार्य छ।

अवसर र अवरोधको बिचको संघर्षमा युवा


सत्रमा प्रस्तुत भनाइहरूमा युवाको विशाल सिर्जनात्मक क्षमता हुँदाहुँदै पनि उनीहरू पुँजीमा सीमित पहुँच, नीति निर्मातासँगको दूरी, जटिल प्रशासनिक प्रक्रियाहरू, र उनीहरूको सम्भावनाको सामान्य अवमूल्यन जस्ता गम्भीर चुनौतीहरूको सामना गरिरहेका छन् भन्ने विषयमा गहिरो विमर्श गरियो।

अन्तर्राष्ट्रियस्तरका वक्ताहरूको प्रभावशाली प्रस्तुति


कार्यक्रममा दुई अन्तर्राष्ट्रिय व्यक्तित्वहरू –

डा. जेनी एल्माको (BPW International/UNESCO तथा संयुक्त राष्ट्रसंघ, भिएना प्रतिनिधि) ले "लैंगिक आधारित जलवायु वित्त: युवा महिलाका लागि न्यायोचित पहुँच र प्रभाव सुनिश्चित गर्ने" विषयमा सशक्त प्रस्तुति दिइन्।

 एडोनिस कोर्टेस (UNOPS को युवा संलग्नता प्लेटफर्म सल्लाहकार) ले "स्थानीय आविष्कार: विश्वव्यापी प्रभाव" विषयमा आफ्ना अनुभवहरू र परियोजनाहरू प्रस्तुत गरे।

उच्चस्तरीय प्यानल छलफल : स्थानीय आविष्कार, विश्वव्यापी प्रभाव


मुख्य प्रस्तुतिपछि आयोजित प्यानल छलफलमा डा. एल्माको,  कोर्टेस, तथा संयुक्त राष्ट्र MGCY (Major Group for Children and Youth) का विकास रणनीतिकार  इमानुएल ओहिरी सहभागी थिए। छलफलको संयोजन MGCY की सुश्री नकिताले गरिन्।


प्यानल छलफलमा न्यायोचित वित्तीय पहुँचको खाडल पुर गर्न युवाहरूले खेलेको भूमिकाबारे गहिरो बहस भयो।

कार्यक्रमका उद्देश्यहरू


साइड इभेन्टले निम्न प्रमुख उद्देश्यहरूमा केन्द्रित थियो:

सफल युवा नेतृत्वमा आधारित परियोजनाहरूको प्रदर्शनी,

युवा उद्यमीहरूको आवश्यकतालाई सम्बोधन गर्ने पहुँचयोग्य वित्तीय संयन्त्रहरूको वकालत,

आविष्कारक, नीति निर्माता र लगानीकर्ताबीच ज्ञान आदानप्रदानको सुविधा,

सांस्कृतिक सम्पदा संरक्षणमा युवाको भूमिकालाई डिजिटल माध्यमद्वारा सहयोग।

नेपालको अन्तर्राष्ट्रिय उपस्थिति : नवप्रवर्तनको प्रतिनिधित्व


यस कार्यक्रममा नेपाली युवा संस्थाहरूको उपस्थितिले परम्परागत राज्य–केन्द्रित वा ठूला निजी क्षेत्रको लगानी मोडेलभन्दा पर जान सकिने विकल्पहरूको प्रस्तुति गर्‍यो।


स्थानीयस्तरमा आधारित आविष्कारहरूले जलवायु परिवर्तन, शिक्षा, उद्यमशीलता, र सामाजिक न्यायका जस्ता विश्वव्यापी चुनौतीहरूलाई कसरी सम्वोधन गर्न सक्छन् भन्ने कुराको प्रस्ट सन्देश दिइयो।

बृहत् सहभागी वर्ग र छलफलको प्रभाव


सत्रले FfD4 सम्मेलनका प्रतिनिधिहरू, सरकारी निकायहरू, अन्तर्राष्ट्रिय विकास एजेन्सीहरू, युवा संगठनहरू, अभिनव उद्यमीहरू, शिक्षाविद्, र सांस्कृतिक क्षेत्रमा संलग्न नागरिक समाज संस्थाहरूलाई लक्षित गरेको थियो।


सत्रले दिगो विकासका लागि न्यायोचित वित्तपोषण आवश्यक छ भन्ने वैश्विक बहसमा युवाको नेतृत्वलाई प्राथमिकतामा ल्याउने उद्देश्यसहित सशक्त संवाद सिर्जना गर्‍यो।

प्रतिकृया दिनुहोस