• शुक्रबार-बैशाख-१४-२०८१

चिनियाँ लामा नियुक्तिमा चलखेल

 

काठमाडौं । भूमि व्यवस्था, गरिबी निवारण तथा सहकारी मन्त्रालय अन्तर्गत रहेको बौद्ध घ्याङ गुठीको चिनियाँ लामा (पुजारी) नियुक्तिमा करोडौं बोकेर एक समूह दौडधुपमा लागेको चर्चा छ । विदेशी नागरिक भएर पनि यसअघिका भूमि व्यवस्था मन्त्री पद्मा अर्याललाई गुमराहमा पारी चिनियाँ लामा नियुक्ति भएका भूपतिबज्र लामा पुनर्नियुक्तिका लागि थैली बोकेर दौडिरहेको श्रोत बताउछ । उनले नागरिकता सच्याएको, गैरकानूनी रुपमा रातो पासपोर्ट लिएको विषयमा पनि अख्तियारमा उजुरी परेको छ ।

 

अख्तियारले यस विषयमा छानबिनसमेत गरिरहेको छ । विदेशी नागरिक भूपतिबज्र चिनियाँ लामा नियुक्ति भएर हङकङ गए र १ वर्ष उतै बसि भर्खरै फर्किएका हुन् । उनी जति रकम खर्चेर पनि पुनर्नियुक्ति हुनका लागि फर्किएका हुन् । विदेशी नागरिक र नागरिकता सच्याएको आरोपमा जेलमा हुनुपर्ने भुपतिबज्रलाई चिनियाँ लामा नियुक्ति गरेपछि बौद्ध घ्याङ गुठीका सम्पूर्ण गुठियारहरूले बहिस्कार गर्दै आएका छन् । 


  उनलाई जनप्रतिनिधिहरूको पनि समर्थन छैन । बौद्धनाथको विकासको लागि बाधक भएको भन्दै उनको नियुक्तिपछि महिनौंसम्म बौद्धनाथ स्तुपामा उनलाई प्रवेश निषेध गरिएको थियो । भूपतिबज्रले बौद्धनाथको चिनियाँ लामा पदलाई विदेशमा कमाउने भाँडो बनाएको आरोप छ । पुजारी भएपछि नियमित पुजा गर्नुपर्नेमा उनी वर्षदिनसम्म हङकङ बस्ने र पद भजाएर कमाउधन्दामा लिप्त हुने गरेकोमा बौद्धबासी रुष्ट छन् । पूर्व सामान्यप्रशासन मन्त्री लालबाबु पण्डितले विदेशी पीआर लिनेलाई सरकारी जागिर खान रोक लगाएका थिए । 


 त्यसैगरी भूमि व्यवस्था मन्त्रालयले नागरिकता सच्याएको र विदेशी पीआर लिएका भूपतिबज्रलाई नियुक्ति नगर्ने अपेक्षा बौद्धस्थित घ्याङ गुठीका गुठियार, धर्मगुरु र तामाङ कल्याण गुठीलगायतका संघसंस्थाले गरेका छन् । आफूलाई स्वघोषित औतारी लामा बताउँदै आएका र बुद्ध धर्मको अनुयायी भन्ने भूपतिबज्र लामाले १२ बोरको दुईनाले बन्दुक बोकेर हिँड्ने गरेका छन् । बुद्ध धर्ममा हत्या र हिंसा वर्जित छ । तर धर्मगुरु भन्दै हिँड्ने भूपतिबज्रले बन्दुक किन बोक्नुप¥यो भन्ने प्रश्न बौद्धबासीहरूबीच बारम्बार उठ्ने गरेको छ ।

 

उनले नागरिकतामा समेत औतारी लामा लेखेका छन् । पहिलो र दोस्रो प्रतिलिपिमा भूपतिबज्र लामा उल्लेख भएको नागरिकताको तेस्रो प्रतिलिपि लिँदा औतारी लामा थपिएको छ । नागरिकता सच्याएको अभियोगमा सर्वसाधारण नागरिकलाई जेल हालिन्छ । तर भूपतिबज्रले त्यही नागरिकताका आधारमा राहदानी विभागका अधिकारीलाई पनि प्रभावमा पारी हिज होलिनेस भूपतिबज्र लामा उल्लेख गरी रातो पासपोर्ट पनि लिएका छन् । 


 राहदानी विभागका अधिकारीले भूपतिबज्रबाट लाभ लिएर कूटनीतिक राहदानी दिएको खुलेको छ । भूपतिबज्रले नक्कली औतारी लामा लेखेको खुलासा भएको छ । नेपाल बौद्ध महासंघका अध्यक्ष आचार्य नोर्बु शेर्पाकाअनुसार औतारी लामा ३ किसिमबाट हुन्छन् । एउटा त आफ्नो मृत्युको घडीभन्दा अगाडि आफ्नो पुनर्जन्म हुने घोषणा लिखित रुपमा गर्ने र जन्मिसकेपछि पूर्वजन्मको गुम्बा, गुरु र गुम्बामा रहेका सामानहरू पहिचान गर्नेलाई औतारी लामा मानिन्छ । मृत्यु पछि पनि आफ्नो गुम्बा र आफ्ना सामानहरू चिन्नेलाई दोस्रो किसिमको औतारी मानिन्छ । तेस्रो, धेरै ठुला धर्मगुरुहरूले जोखाना हेरेर औतारी लामा चिन्ने गर्दछन् । आचार्य नोर्बु भन्छन् भूपतिबज्र यी ३ किसिमकै औतारीमा पर्दैनन् । 


बौद्धस्थित समाजसेवी टासीकुमार लामा भन्छन्, ‘चिनियाँ लामा नियुक्तिका लागि हरेक हिसाबले अयोग्य र विदेशी नागरिक भूपतिबज्रलाई नियुक्ति गरिए दुर्भाग्यपूर्ण हुनेछ । ५ वर्षसम्म उनले बौद्ध घ्याङ गुठीको पुजारीका रुपमा आफ्नो कर्तव्य निर्वाह नगरी विदेशमा बसेका थिए, अहिले पुनर्नियुक्तिका लागि नेपाल आएका छन् । चिनियाँ लामाको पदलाई विदेशमा भजाएर कमाइखाने भाँडो बनाउने अवसर भूमि व्यवस्था मन्त्रालय र गुठी संस्थानले नदिने अपेक्षा हामी बौद्धबासीले गरेका छौं । यदि हाम्रो विरोधका बाबजुद नियुक्ति गरिएमा हामी उनलाई बौद्धनाथमा प्रवेश गर्न दिनेछनौं ।’ 
 

प्रतिकृया दिनुहोस