• शुक्रबार-बैशाख-७-२०८१

संक्रमितको सामूहिक दाहसंस्कारको तस्बिर नछाप्नू : प्रेस काउन्सिल 

कोरोना संक्रमितको सामूहिक दाहसंस्कारको तस्बिर प्रकाशन तथा प्रसारण नगर्न प्रेस काउन्सिल नेपालले आग्रह गरेको छ । साथै कोरोनाबाट संक्रमित र मृत्यु भएका व्यक्तिको पहिचान खुल्ने तस्बिर तथा वैयक्तिक विवरण सार्वजनिक नगर्न पनि काउन्सिलले ध्यानाकर्षण गराएको छ । 

 

विभिन्न छापा तथा विद्युत्तीय माध्यमले पत्रकार आचारसंहिताविपरीत कोरोना संक्रमणसँग सम्बन्धित सामग्री प्रकाशन तथा प्रसारण गरेपछि काउन्सिलले त्यस्ता मिडियाको ध्यानाकर्षण गराएको थियो  । तर त्यस्ता गतिविधि यथावत् रहेपछि काउन्सिलले मंगलबार एक अपिल सार्वजनिक गरेर पत्रकार आचारसंहिताअनुसार सामग्री प्रकाशन तथा प्रसारण गरिदिन आग्रह गरेको हो । 


काउन्सिलका सूचना अधिकारी रामशरण बोहोराले मंगलबार सार्वजनिक गरेको अपिलमा सञ्चार माध्यमको पत्रकार आचारसंहिताविपरीतको कार्यले व्यक्तिको गोपनीयतासम्बन्धी मौलिक हकसँगै मानवीय संवेदनामाथिसमेत प्रहार गरेको उल्लेख छ । यस्ता सामग्रीले पीडितमाथि थप पीडा दिने मात्र नभएर संक्रमित बिरामीको आत्मबलमा समेत असर गरी थप क्षति हुनसक्ने सम्भावना दर्शाउँदै काउन्सिलले गम्भीर बनिदिन भनेको छ । 

 

‘सञ्चारमाध्यमले यसरी समाचार सामग्री सम्प्रेषण गर्दा गोपनीयतासम्बन्धी मौलिक हकको प्रतिकूल हुने, मानवीय संवेदना खल्बलिने, प्रभावित व्यक्तिलाई थप पीडा दिने तथा संक्रमित बिरामीको आत्मबलमा असर गरी क्षति हुनसक्ने हुँदा संवेदनशील यस घडीमा अझ जिम्मेवार र सजग भई थप सावधानी अपनाउन आमपत्रकार, सञ्चारकर्मी, सञ्चारमाध्यम, सामाजिक सञ्जालका प्रयोगकर्तामा प्रेस काउन्सिल नेपाल फेरि पनि हार्दिक अपिल गर्दछु,’ काउन्सिलद्वारा जारी अपिलमा भनिएको छ । 

 

यसैबीच, कोभिड–१९ संक्रमण, त्यसबाट भएका मानवीय क्षतिसम्बन्धी पत्रकारद्वारा सामाजिक सञ्जालमार्फत सार्वजनिक सामग्रीमाथि पनि काउन्सिलले एक अध्ययन गरेको छ । त्यसरी गरिएको सामाजिक सञ्जालको प्रवृत्तिगत अध्ययनलाई अभिलेखमा राखेको काउन्सिलले जनाएको छ । 

प्रतिकृया दिनुहोस