• बुधबार-बैशाख-२६-२०८१

प्रधानसेनापति थापा कति सफल कति असफल ?

 

अहिलेका प्रधानसेनापति पूर्णचन्द्र थापा भाग्य र संयोग दुवैले साथ दिएका प्रधानसेनापति हुन भन्न पनि मिल्छ । सायद राजेन्द्र क्षत्री प्रधानसेनापति नहुँदा हुन त अरु कसैले पूर्णचन्द्र थापामाथि सदासयता देखाउथे नै भन्न पनि सकिन्न । उनको रथीमा एकवर्ष पदावधि थपिनु नै उनको भाग्योदय हुन गएको हो । थापा प्रधानसेनापति हुनु अघि उपरथी दर्जामा संयुक्त राज्य संघको सिरियास्थित अन्डोफ मिशनमा फोर्स कमाण्डर भएको बाहेक उनको व्यक्तिगत चर्चा भने खासै हुने गरेको पाइँदैन । 


साथै उनको क्षमताकै कारणले गर्दा उनलाई नै प्रधानसेनापति बनाउनु पर्छ भन्ने जस्ता आवाज पनि सुनिदैन्थ्यो । जे होस् सबै चिजको समिश्रणले गर्दा थापाका लागि जे हुन लेखेको थियो त्यही नै भयो । जब उनले रथको लगाम समाते त्यसपछि सायदै रथले विश्राम पाए होला । उनले आफ्नो कार्यकालमा पछिल्ला प्रधानसेनापतिहरूको कार्यकालमा आएका बढुवा सम्बन्धी नियमावलीहरूमा देखिएका कमीजोरीहरूलाई सकेसम्म सच्च्याउने कोशिस गरे भलै यो पनि कमजोरी रहित नहोला र समयसँगै सच्चिदै जाला पनि ।

 

थापाले विशेषत भ्रष्टाचार नियन्त्रणलाई आफ्नो पहिलो प्राथमिकतामा राखेर अगाडि बढिरहेका छन् र यसमा यिनले सफलतापनि पाइरहेका छन् । हुन त यिनले आर्थिक सुधारतर्फ बढी ध्यान दिंदा व्यवसायिक पाटो ओझेलमा प¥यो भन्नेहरू पनि छन । यो खालि निराधार आरोप सिवाय केही होइन । नेपाली सेनालाई व्यवसायिक बनाउन त्यस्ता नेतृत्वहरू तह तहमा हुन्छन र तिनलाई जिम्मेवार विभागले गाईड गरिराखेका हुन्छन । यो यसरी निरन्तर चलि आएको तरिका हो ।

 

प्रधानसेनापतिले त खाली नीति निर्माण गर्ने, विशेष निर्देशन दिने र फौजमा कुनै समस्या उत्पन्न भएमा आवश्यक निर्देशन दिने हो । प्रधानसेनापति आफै ग्राउण्डमा उत्रिनु पर्ने जरुरी छैन । गुल्मपति, गणपति, वाहिनीपति, पृतनापति र त्यसमाथि पनि मुख्यालयका विभागहरू तह तहमा जिम्मेवार रहन्छन् । 


 भनिन्छ नि जब मानिसहरूले तपाईको क्षमतामा प्रश्न गर्न सक्दैनन तब उनीहरू तपाईको चरित्रलाई निशाना बनाउछन । हो त्यही शैली जस्तै हो । नेपाली सेनामा धेरै कुराहरू नीति नियमले चलिरहेका हुन्छन् तथापि आर्थिक पाटो एक त्यस्तो पाटो रहेको थियो जुन अदृश्य जस्तै थियो । हो जुन लुकेको गलत कुरा थियो त्यही कुरालाई अहिलेका प्रधानसेनापतिले अचुक निशाना बनाउन खोजेका छन् । व्यक्ति र व्यवसायिक कुरा दुवैलाई सुधार गर्न यसको सुधार अत्यन्तै आवश्यक थियो र छ ।

 

यदि यसो गर्नुलाई सही भन्न सकिदैन भने एक पटक ऐनामा आफूलाई हेरेर यो प्रश्न गरी हेरौं । त्यसरी त कुलमान घिसिङ्ग पनि गलत छन् । लालबाबु पण्डित पनि गलत हुन सक्छन् । कता कता मलाई प्रधानसेनापति थापाले तत्कालै प्रभाव पार्ने खालका कल्याणकारी र सहुलियतजन्य कुरामा चाहिं भने जस्तो गर्न सकेनन् कि भन्ने मनमा लागिरहेछ तै पनि समग्रमा यिनको कार्य प्रशंसनीय छ ।

 


पछिल्लो समय अब थापाको कार्यकाल सकिदैछ कति नै गर्न सक्लान र भन्ने गरेको पनि सुनिन थालिसकेको छ । म त भन्छु यस्ता व्यक्ति र कार्यलाई त सरकारले समेत निरन्तरता दिने विधि बनाओस् । होइन भने उनका उत्तराधिकारीले पनि उनको पदचाप पच्छाउन भन्ने कामना गर्नु पर्छ । तीन बर्षे कार्यकाल दुरगामी र ठूला कार्य गर्नको लागि अवश्य पनि छोटो समय हो तर छोटो समयमा पनि आफ्नो क्षमता देखाउन खोज्नु र आउने पीढीलाई मार्गनिर्देश तयार पारिदिनु पनि कम महत्वको कुरा होइन ।

 

हो एउटा व्यक्तिले सबैतिर उत्तिकै नजर पु¥याउन सक्दैन तर जति गर्न खोजेका छन त्यसमा स्वार्थजोडेर हेरेको खण्डमा बाहेक खोट लगाउन सक्ने ठाउँ भने विरलै छ । त्यसको लागि हरेक तहमा जिम्मेवारी लिएका नेतृत्वले पनि उत्तिकै जोड दिनुपर्छ । एकाधबाहेक अधिकांशमा यो मनोवृत्ति छैन । किनकि उनीहरूलाई प्रधानसेनापति थापा बाटोमा तगारो बनिदिए जस्तो महशुस भएको छ । तिनीहरूले कपोलकल्पित र आफ्नो स्वाभावको नजरबाट हेर्दै थापाले विगतको लामो कार्यकालमा किन यस्तो गरेनन त ? किन अहिले मात्र चम्केका त ? आफूलाई पुग्यो अनि अरुलाई कडाई गरिरहेका छन भन्ने जस्ता रटान लगाउन पनि पछि पर्दैनन । सम्पूर्ण रुपमा दूधले नुहाएको कोही नहोला तर कसले कति दूधको मात्रामा नुहायो भन्नेले पनि अर्थ राख्दछ ।

 

काग काराउदै गर्छ पिना सुक्दै जान्छ भने जस्तो प्रधानसेनापति थापा आफ्नो यात्रामा अविचलित भई आफ्नो बाटोमा अगाडि बढी रहेका छन । यदि अब पनि त्यसलाई निरन्तरता दिई आगामी एक वर्ष निष्कलङ्क बिताउन सके भने दाम त खोइ कति कामाउलान भन्न सकिन्न, तर नाम चाहिं उनले कम्तीमा आफ्ना तीन पुस्तालाई सम्मान पुग्ने गरि कामाइसकेका छन । भोलिका दिनमा यिनलाई भेट्दा उनीबाट दण्डित केही गलत व्यक्तिले नदेखेजस्तो गर्लान् तर एउटा साधारण विवेकी नेपाली व्यक्तिले चाहिं उनलाई छलेर हिंड्ने छैन भन्नेमा विश्वस्त रहन सकिन्छ ।

 

प्रधानसेनापति थापाको एउटा सबैभन्दा बलियो पक्ष भनेको उनी विवाहित र पारिवारिक व्यक्ति भएतापनि उनीमा पारिवारिक प्रभाव नगन्य रहेको र उनी आफै पनि यसलाई स्थान नदिने व्यक्ति हुन भनेर पनि भन्ने गरेको पाइन्छ । जुन यस अघि उल्लेख गरिएका प्रधानसेनापतिहरूमा रानी सा’बहरूको विशेष प्रभाव नै रह्यो भन्ने गरेको सुनिन्छ । त्यसैगरी प्रधानसेनापति थापाले सम्बोधनको क्रममा उल्लेख गरेको आफ्ना बाबुको आशीर्वादलाई मनन गर्दै हिंडेको पनि देखिन्छ ।

 

जसमा उनी केहीको मात्र नभई समग्र सकलदर्जाको प्रधानसेनापति भएर हिंड्ने कोशिस गरिरहेका छन् । नेपाली सेनाको इतिहासमा प्रधानसेनापति थापालाई सिर्जनशील र स्वच्छ सोचका भावि पीढीले एक आदर्श भने पक्कै बनाइराख्ने छन । यिनको कद अहिलेसम्मका प्रधानसेनापति भन्दा उचो हुनेमा दुईमत छैन ।

 

त्यसैले सहीलाई सही र गलतलाई गलत भन्न सक्ने साहस हामीमा भएन भने हाम्रो जस्तो देशमा थोरै केहीले त दोहोन गर्लान, रमाउलान तर समग्र देश र जनताले भने सँधै दुःख मात्र पाइरहनेछन । देश र संस्था कहिल्यै उभो लाग्न सक्दैन । मलाई उनको कार्यकालमा काम गर्न नपाउनुमा दुःख लागेको छ ।               – जंगे सिंह, (टिप्पणीकारः देशप्रेमी र सही कार्यको प्रशंसक अवकाशप्राप्त नेपाली सेनाको प्रथम श्रेणी अधिकृत)

प्रतिकृया दिनुहोस