• बिहीबार-चैत-१५-२०८०

राष्ट्रिय आविष्कार केन्द्रलाई डेढ लाख सहयोग

 


काठमाडौँ, १३ चैत (रासस) : नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाली जनसम्पर्क समितिले सङ्कलन गरेर पठाएको रकम राष्ट्रिय आविष्कार केन्द्रलाई हस्तान्तरण गरिएको छ । नेपाली जनसम्पर्क समिति साइप्रस, संयुक्त अरब इमिरेट्स, साउदी अरेबिया र कतारले पठाएको रकम नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार अविष्कार केन्द्रका प्रमुख महावीर पुनलाई हस्तान्तरण गर्नुभयो ।
 


पार्टीको विभिन्न सम्पर्क समितिबाट पठाएको रु एक लाख ३५ हजार ४४१ मा प्रवक्ता शर्माले रु १० हजार थपेर अविष्कार केन्द्रलाई हस्तान्तरण गर्नुभएको हो । प्रवक्ता शर्माले खाडी मुलुकमा काम गर्ने नेपालीले आविष्कार केन्द्रका लागि उठाएर पठाएको रकम हस्तान्तरण गर्न पाउँदा आफूलाई खुशी लागेको बताउनुभयो । “कोरोना सङ्क्रमणबाट लड्न सबै नेपाली हातेमालो गरेर अगाडि बढ्नुपर्छ”, उहाँले भन्नुभयो । 

 

केन्द्रका प्रमुख पुनले कोरोना सङ्क्रमणको जोखिमका बीच पनि विदेशमा बसेका नेपालीले केन्द्रलाई सहयोग गरेकोमा धन्यवाद दिनुभयो । सबै नेपालीको हातेमालो नै केन्द्र अगाडि बढ्ने उहाँको भनाइ थियो ।

तस्बिर : महाबीर पुन, राष्ट्रिय आविष्कार केन्द्र
–––

प्रतिकृया दिनुहोस