• शनिबार-बैशाख-८-२०८१

स्कूल जाने बालबालिकाको आआफ्नै व्यथा ! 

 

 

भविष्यको कर्णधारको रुपमा रहेका वर्तमानका विद्यालय उमेर समूहका वालवालिकाहरू कोही पढाइमा अब्बल  देखिन्छन् त कोही मध्यम भने कोही निकै कमजोर । कतिपयको सिकाइ उपलब्धी हासिल गर्ने क्रममै समस्या देखिन्छ भने कतिपय भने वातावरणद्वारा प्रभावित हुन्छन् ।  हामीले हाम्रा सन्तान तथा छोराछोरीहरू कमजोर भए भन्दै चिन्ता व्यक्त गरिरहँदा त्यसको कारण खोतल्ने प्रयत्न गर्दैनौँ । पढपढ भनेर अनेकौँ आश्वासन र त्रास देखाउँदै जवर्जस्ती पुस्तकको किरा बनाउँदा समेत तपाइँको बच्चाले राम्रो शैक्षिक उपलब्धि हासिल नगर्दा के यसको कारण जान्ने चेस्टा गर्नुभयो त ?

 


विद्यार्थी कमजोर हुनुमा अनेकौँ कारणहरू जिम्मेवार हुन्छन् ।  तीमध्य त्यति चर्चा नगरिएको तर अति महत्वपूर्ण कारण पारिवारिक वातावरण पनि हो जसले विद्यार्थीको व्यक्तित्व बिकास र चरित्र निर्माणका अलवा सिकाई प्रतिफल आर्जन गर्न समेत प्रत्यक्ष बाधा पुर्याइरहेको हुन्छ । विद्यार्थीप्रति अभिभावकको व्यवहार, पारिवारिक सम्बन्ध, आर्थिक स्थिति, सामाजिक बन्धनलगायतका कुराले विद्यार्थीको सिकाइ मनोविज्ञानमा प्रत्यक्ष प्रभाव पार्छ । यस पङ्क्तिकारको कक्षा १२ को शिक्षाशास्त्र सङ्कायको शिक्षण अभ्यासका क्रममा   विद्यार्थीको अवस्था अवलोकन गर्दा देखिएका केही घटनाक्रमहरू यहाँ प्रस्तुत गरिएको छ । 

 


सामुदायिक प्रार्थ्मिक विद्यालयको तेस्रो कक्षामा अध्ययनरत  एक दलित क्षात्रामा गरिएको अध्ययनले उनको पढाईमा घरपरिवारको वातावरणले प्रत्यक्ष प्रभाव पारेको देखिन्छ । शैक्षिक उपलब्धि मूल्याङ्कनका आधारमा कक्षाकी सबैभन्दा कमजोर देखिए तापनि उनको कक्षाको सक्रियता र बुझाइको स्तर हेर्दा उनी अब्बल दर्जाकै विद्यार्थीको रुपमा दर्ज हुनुपर्ने हो भन्ने लाग्छ कमजोर सामाजिक पृष्ठभूमि र तनावपूर्ण पारिवारिक वातावरणले उनलाई कक्षाका जान्ने विद्यार्थीको अनुक्रममा पुच्छरमा पु¥ाएको छ । शैक्षिकस्तर निर्धारणमा कमजोर देखिएता पनि उनको स्वभाव अतिनै मिलनसार र सहयोगी स्वभाव पाइयो ।

 

 दलित परिवारमा जन्मिए तापनि पारिवारिक आर्थिक अवस्था त्यति कमजोर छैन । शैक्षिक सामाग्रीको व्यवस्थापनमा समेत  समस्या बेहोर्नु पर्दैन । तर,  मातापिता बिचको तनावपूर्ण सम्बन्धले आफ्नो ध्यान पढाइमा जान नसकेको उनले गुनासो गरिन् । ‘म बाहिर  गृहकार्य गरिरहँदा ममी बाबा भित्र झैझगडा गरिरहनुहुन्छ । बेलाबेलामा लड्न पनि खोज्नुहुन्छ । मेरो हातले  कलम समाएको त हुन्छ तर मन भने बाबा ममीको झगडामा जान्छ’ उनले भनिन् ।  मातापिताले जाँडरक्सी सेवन गर्दै दिनहुँ गर्ने बाझाबाझको अन्त्य भएको खण्डमा आफ्नो पढाइ सुधार हुने उनको भनाइ छ । 

 


अर्का दलित छात्रको पढाइमा भने समाज बाधक देखिन्छ । दलितप्रति रहेको असहिष्णु सामाजिक व्यवहार र अन्धविश्वासी रुढीवादको सिकारबाट उनी पनि मुक्त छैनन् । ‘मैले छोएको पानी गाउँलेहरूले पिउँदैनन् । हामीलाइ दलित भन्छन् । हेप्छन् ।  मान्छेले किन यसरी हेप्छन् भनेर सोँचिरहन्छु ।  उनको यस  अभिव्यक्तिमा  चेहेराको विद्रुप निराश भाव र समाजप्रति घृणित आक्रोसको समिश्रण देखिन्थ्यो ।  आफू दलित भएर जन्मिन नपरेको भए आफ्नो अध्ययन राम्रो हुने  आशय उनले प्रकट गरे ।  हाम्रो कथित सामाजिक कुमान्यताले कलिला मुनाहरू फक्रन नपाउँदै ओइलिनुपर्ने यो कस्तो विवशता ?

 


चौँथो कक्षाकी वालिकाको भने मातृस्नेहको अभाव र कमजोर आर्थिक स्थिति अध्ययनको बाधक देखिन्छ । सानै उमेरमा आमाको मृत्युले मातृ वात्सल्यता प्राप्त हुन नसक्नु, सौतेनी आमाको सधैको टोकसोलगायतका कुराले उनको वालशुलभ चञ्चल मनोविज्ञानमा पहिरो गएको छ । अन्तरमुखी स्वभाव भएकी उनले प्राय समस्याहरू कसैलाई सुनाउदिनन् । सामाजिकीकरण सीप समेत सवल छैन । तर, कक्षा क्रियाकलापमा भने उनको सक्रियता उच्च छ । अन्य सिकारुको तुलनामा निकै छिटो बुझ्ने गुण उनीमा छ ।

 

 यद्यपि हाजिरी रजिस्टरले उनको विद्यालय उपस्थिति र अनुपस्थिति दर लगभग  बराबर देखाउँछ ।  खाना पकाउने, भाँडा माझ्ने, गाइ बाख्रा चराउनेलगायतका कार्य गर्नुपर्ने भएकाले विद्यालयलाई नियमितता दिन नसक्ने उनले बताइन   । पढ्ने समय पनि निकै कम हुन्छ । आर्थिक स्थिति कमजोर रहेकाले आवश्यक कापी कलम किन्न समेत धौःधौ हुने उनको भनाई छ । दसैँ तिहारमा  संकलन गरिएको पैसाले कापी कलम किन्नुपर्ने  भएकाले  वचत गर्ने चहाना पूरा हुन नसकेको उनको गुनासो छ ।  सानै उमेरदेखि नै उचित हेरचाह नपाएकी उनी प्रर्याप्त संभावनाका बाबजुद कमजोर पारिवारिक वातावरणले क्षमता र पठनप्रतिको रुची हुँदाहँुदै पनि आफ्नो कक्षाकी कमजोर विद्यार्थी देखिन्छिन् । 

 


तीन चार र पाँच कक्षाका प्रथम विद्यार्थीहरूमा गरिएको अध्ययनले उनीहरूको पढाइको स्तर सबल हुनुको प्रमुख कारण सम्वृद्ध सामाजिक परिवेश देखिन्छ ।  घरपरिवारको वातावरण राम्रो छ ।  आमाबुबा शिक्षित छन् । बिरलै मात्र घरायसी झैझगडा हुन्छ । पारिवारिक सदस्यहरू विच एकआपसको सुसम्बन्धले वाल मस्तिष्क आफ्नै दुनियामा रमाउन र हराउन स्वतन्त्र  छ । चिन्ता र निराशाको सिकारमा यस्तो परिवारका वालवालिकाहरू कमै मात्र पढन् । मोबाइल फोन, टेलिभिजन, कम्प्युटर, ल्यापटपलगायतका सूचना तथा सञ्चार प्रविधिका साधनहरूको उपभोग गर्ने वातावरणबाट यस्ता परिवारका  अभिभावकहरूले सन्ततिलाई वञ्चित गराउदैनन् ।  वालवालिकाको सही निगरानी गर्छन्  । व्यवस्थित समयतालिका बनाएर वालवालिकालाइ हरेक क्रियाकलापमा सरिक गराउने वातावरण मिलाउँछन् । फलतः यी वालवालिकाको शैक्षिक स्थिति सबल देखिन्छ ।

 


अध्ययनमा छात्र भन्दा छात्राहरू कमजोर हुनुको प्रमुख कारण अभिभावकको अवचेतन मनको विभेदी मानसिकता समेत जिम्मेवार देखियो । आफ्ना पुरुष र महिला सन्ततिप्रति अभिभावकको समान व्यवहार देखिदैन । केटाहरूलाई भन्दा केटीहरूलाई  घरमा पढ्ने समय कम हुन्छ । केटीहरूले घरायसी काम बढी गर्नुपर्ने भएकाले तुलनात्मक रुपमा  घरमा अध्ययन र गृहकार्य गर्ने अवसर दाजुभाइको तुलनामा कम पाउने बताउँछन् । 

 


प्रस्तुत दृष्टान्त तथा घटनाक्रमहरूबाट वालवालिकाको शैक्षिक स्तर र सिकाइ उपलब्धिको सुदृढीकरणमा  सामाजिक संरचना र पारिवारिक स्थिति समेत जिम्मेवार देखिन्छ । अभिभावक र वालवालिका बिचको प्रगाढ सम्बन्धको अभावमा  उच्च संभ्रान्त आर्थिक अवस्था भए तापनि वालवालिकाको वैयक्ति विकास अपेक्षित रुपमा अगाडि बढेको देखिदैन । वालवालिकालाई समय दिन नसक्दा उनीहरूमा विभिन्न समस्या र जटिलताहरू देखा पर्न सक्छन् । आमा वुवाको सामाजिक व्यवहार र सम्बन्धले समेत  वालवालिकाको सिकाई मनोविज्ञानलाई प्रभावित पारेको देखिन्छ ।  

 

झैझगडा हुने तनावग्रस्त पारिवारिक पृष्ठभूमिबाट हुर्किएको वालकमा  अझ समस्या देखिन्छ । समाजले गर्ने विभेद, पारिवारिक सदस्यहरूबाट हुने असमान व्यवहारलगायतले समेत वालवालिकाहरूको अध्ययनमा  नकारात्मक असर पु¥याएको हुन्छ । वालवालिकाको शैक्षिकस्तर कमजोर हुनुमा अभिभावकको आचरण र व्यवहार समेत प्रत्यक्ष जोडिएको हुन्छ । हामीले नै वालवालिकाको भविष्य बिगारेका त छैनौँ ? गम्भिरतापूर्वक सोचौँ । वालवालिकालाई अध्ययनप्रति उचित लगाव  लगाउने वातावरण सिर्जना गर्नु अभिभावकको दायित्व हो । पारिवारिक वातावरण शान्त र मनोरम बनाउदै विभेदकारी सामाजिक संरचन ामा सुधार ल्याउन सकिए त्यसले वालवालिकाको शैक्षिक यात्रामा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गर्न सकिन्छ ।  

प्रतिकृया दिनुहोस