• शनिबार-बैशाख-८-२०८१

छुवाछुत सामाजिक कलंक : प्रमुख चौधरी


इटहरी । इटहरी  उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीले छुवाछुत सामाजिक कलंक भएकाले यसलाई हटाउन सवै एकजुट हुनुपर्नेमा जोड दिएका छन्  । इटहरी उपमहानगर वडा नम्वर ४ ले आयोजना गरेको सहभोज कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख चौधरीले छुवाछुत, भेदभाव जस्तो सडेगलेको सोच सुन्दर समाज भित्रको कलंक भएकाले त्यस्तो सोच हटाउनुपर्नेमा जोड दिए ।

 

संविधानसभाकी सभासद अनिता परियारले जातीय छुवाछुत जस्तो जघन्य अपराध हटाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने वताइन  । उनले त्यस्तो कुप्रथा हटाउन सवै एकजुट हुन आग्रह गरिन् । 


 इटहरी ४ का वडाध्यक्ष चन्द्र भट्टराईले छुवाछुत जस्तो कुप्रथा हटाएर सद्भाव र भाइचारा अभिवृद्धि गर्न सहभोज कार्यक्रम आयोजना गरिएको  वताए  ।

 

अभियानकर्मी डिविशाह शंकरले छुवाछुत मनोरोग भएकाले यस्तो रोग हटाउन सामाजिक अभियान अपरिहार्य रहेकोमा जोड दिए  । इटहरी १७ का वडाध्यक्ष भगवान लाल साहले छुवाछुत समाजले नै सृजना गरेकाले समाजलेनै हटाउनुपर्छ भने ।

 

नागरिक समाजका इटहरीका अध्यक्ष दिनेश रसाइलीले इटहरीमै पनि अझै दलित समूदायका एक ब्यक्तिले कोठा नपाएर समस्यामा परेको वास्तविकता सुनाए  ।

 

उनले नागपञ्चमीको दिन अरु घरमा टास्दैआएर आफनो घर भने छुटाएको भन्दै दुख ब्यक्त गरे । मनकामना मन्दिर इटहरीमा आयोजित सहभोज कार्यक्रमको अध्यक्षता इटहरी ४ की दलित महिला सदस्य पार्वता वराइलीले गरेका थिए । 
 

प्रतिकृया दिनुहोस