म नेपाली सेनामा कार्यरत क्याप्टेन ढालबहादुर थापा मेरो घर हरिवन ११ सर्लाही हो । म विगत २५ वर्षदेखि यो संस्थामा कार्यरत छु । जागिरको उत्तरार्धमा केही सेवा सुविधा र आर्थिक लाभ पाउनुपर्ने बेलामा जस्तै मिसन, प्रमोसन हुने अवस्था सुरु भएपछि चार वर्ष अगाडि मलाई आंशिक रुपमा प्यारालाइसिस तथा रगतको क्यान्सर देखियो ।
चौथो स्टेजको रगतको क्यान्सर त्यो पनि चारपटक फर्किएको । यस्तो अवस्थामा पनि म यो रोगसँग डटेर लडिरहेको छु र हाल दोस्रो पटक बोनम्यारो प्रत्यारोपण गराएर राजिव गान्धी क्यान्सर अस्पताल दिल्लीमा डाक्टरको रोहबरमा उपचारकै क्रममा छु र केही सुधारका संकेतहरु देखिएका छन् जुन खुसीको कुरा पनि हो ।
संस्थामा मानवताको नाताले मलाई सहयोग गरिदिनुस् भनेर बारम्बार जाँदा पनि संस्थाले हैन बाहिरै चन्दा उठाएर उपचार गर्नुस् । हामी सक्दैनौ नियममा छैन ,नीतिमा छैन । नीति नियम परिवर्तन गर्न सकिँदैन । भन्ने जस्ता जवाफ दिनु मानवताको नाताले कतिको उचित हो म ठम्याउन सक्दिन ।
सुरुमै नेपाली सेना र नेपाल सरकारलाई मेरो एउटा विनम्र तर कटु अनुरोध छ । यदि तपाईंहरु मलाई जिउँदोमा साथ दिन सक्नुहुन्न भने मलाई मरेपछि सलामी पनि नदिनु । किनभने राष्ट्रमा भएको १० वर्षे जनयुद्ध होस् या जस्तासुकै विषम परिस्थितिमा पनि म छाती थापेर राष्ट्रको लागि अग्रमोर्चामा हिँडेको योद्धा हुँ ।
जीवन मरणको युद्धमा तपाईंहरुको अर्थात् मानवताको अनुपस्थितिले नै मलाई साँचो उत्तर दिइसकेको छ । म मरे भने 'हार्दिक श्रद्धाञ्जली' भनेर कुनै पत्रिकामा विज्ञापन नगरिदिनुहोला किनभने 'श्रद्धा' र 'अञ्जली' फरक-फरक शब्दहरू बनाएर हेर्ने हो भने विश्वास, आस्था, सम्मान, अर्पण गर्नु भन्ने बुझिन्छ । विश्वास टुटिसकेको छ । आस्था गुमिसकेको छ सम्मान जिउँदोमा पाइएन त्यसैले 'हार्दिक श्रद्धाञ्जली' अर्पण नगर्नुहोला ।
अ... साँच्ची भूकम्प पुनर्निर्माणमा धरहरा पुनर्निर्माणको लागि केही दिनको रकम काटिएको थियो । अहिले पनि देश त्यस्तै अवस्थामा छ । पुनर्निर्माण हुँदैछ । फेरि पनि मेरो एक महिनाको तलब काट्नुहोला । किनभने राष्ट्रको संस्थाले केही दिन सकेन भने हामीले दिनुपर्छ भनेर मैले तालिमहरुमा राम्रोसँग सिकेको छु । राष्ट्रका लागि यति गर्न सक्यो भने जीवनको उत्तरार्धमा मलाई राष्ट्र प्रति गर्व गर्ने ठाउँ हुनेछ । म नेपाली सेनाको एउटा साधारण तर गर्विलो सिपाही हुँ । राष्ट्रको झण्डा मुठ्ठीमा बोकेर २५ वर्ष मेरो युवावस्था, मेरो रगत–पसिना र मेरो जिन्दगी देशको सेवामा समर्पित गरें । हरेक कठिनाइमा राष्ट्रलाई अगाडि राखें, परिवारलाई पछाडि । यही विश्वासले म बाँचिरहेँ—“राष्ट्र मभन्दा ठूलो छ ।” तर, जीवनको उत्तरार्धमा जब भाग्यले मसँग कठोर परीक्षा लियो—क्यान्सर जस्तो निर्दयी रोगले आक्रमण गर्यो—त्यो बेलामा मैले भरोसा गरेको मेरो संस्था, मेरो नेपाली सेना, मेरो सरकार... सबै चुप भए ।
म हतियार लिएर देशको रक्षार्थ दौडिएको दिन सम्झँदा गर्व लाग्छ, तर आज जब उपचारका लागि करोडौं खर्च गर्नु परेको छ, तब मेरो गर्व पीडामा परिणत हुन्छ । संस्थाले “मानवता” नामको आधारभूत जिम्मेवारीसमेत पुरा गर्न सकेन । आज यो सैनिक आफ्नै आमाबुबा, दाजुभाइ र नेपाली दिदीबहिनीहरूको भरमा चन्दा उठाएर उपचार गरिरहेको छ ।
यो कुनै व्यक्तिगत पीडामात्र होइन, यो प्रश्न हो—राष्ट्रको लागि जीवन दिने सैनिकलाई राष्ट्रले किन जीवनको अन्तिम संघर्षमा एक्लै छोड्छ ? यदि म जस्तो सैनिकलाई पनि चन्दा उठाएर उपचार गर्नुपर्ने बाध्यता आउँछ भने, अनि आम जनताको अवस्था कस्तो होला ? आज म सरकारसँग, संस्थासँग विनम्र तर दृढ स्वरमा आह्वान गर्छु- सैनिक मात्र होइन, कुनै पनि नागरिकले रोगसँगको युद्धमा एक्लै लड्न नपरोस् ।
राष्ट्रको जिम्मेवारी नागरिकलाई मात्र नभई, नागरिकको स्वास्थ्य र जीवन सुरक्षामा पनि समान हुनुपर्छ । मलाई मेरो देशमाथि, नेपाली सेनामाथि अझै भरोसा छ । म विश्वास गर्छु—मेरो पीडा बाट अरू हजारौंलाई न्यायपूर्ण नीति, सहयोग र मानवता पाइने बाटो खुल्छ ।
चिफसाब सलाम ।
अन्त्यमा मेरो एउटा सुझाव पनि छ हुन त यो सुझाव मैले हजुर समक्ष पुर्याएको पनि थिए अब यो पुग्यो पुगेन त्यो म यकिन गरेर भन्न सक्दिन । तर हजुर सम्म पुगिसकेको पनि छ । म यहाँ सार्वजनिक गर्न जाँदैछु । जन्म र मृत्यु शाश्वत सत्य हुन् । हो मान्छे जन्मन्छ रोग लाग्छ । यो सामान्य कुरा हो । नीति नियममा दिन मिल्ने ठाउँ छैन त्यो मलाई पनि राम्रो राम्रोसँग थाहा छ तर यो नीति नियम कसले बनाएको हो ? यहाँ नीति नियम ठूलो हो कि मानवता ? नेपाली सेनामा कार्यरत नै लगभग १ लाख हाराहारी सदस्यहरु हुनुहुन्छ । रोग लाग्यो खर्च करोडौंमा गयो । अब मसँग समाउने ठाउँ पनि छैन टेक्ने जमिन पनि छैन ।
दैनिक सयौं मानिस मर्दछन् । मलाई थाहा छ तर पनि म मर्दा राष्ट्रलाई खासै असर पर्दैन तर मेरो परिवारमा ठूलो बज्रपात हुन्छ । किनभने यो मेरो परिवारको मेरो बालबच्चा आमाबुवा श्रीमतीको मेरुदण्ड भनेकै म नै हो । नेपाली सेनाको प्रत्येक सदस्यबाट सामूहिक रूपमा अथवा स्व -इच्छाले केही रकम सङ्कलन गर्न सकिन्छ । नेपाली सेनाको कुनै सदस्यलाई गम्भीर रोग लाग्यो र उसको बस भन्दा बाहिर खर्च गयो भने यो रकमबाट कति खर्च गरेको हो सोही अनुसारको केही सहायता कोष खडा गरेर दिन पनि सकिन्छ । बरु मलाई नदिए पनि हुन्छ तर म भन्दा पछाडि यसरी ठूलो करोडौंमा खर्च गर्नुपर्ने अवस्था आएको जो कोहीले पनि केही सहायता मानवताको नाताले संस्थाबाट पाओस् भन्ने सुझाव छ ।
संस्थामा मानवताको नाताले मलाई सहयोग गरिदिनुस् भनेर बारम्बार जाँदा पनि संस्थाले हैन बाहिरै चन्दा उठाएर उपचार गर्नुस् । हामी सक्दैनौ नियममा छैन ,नीतिमा छैन । नीति नियम परिवर्तन गर्न सकिँदैन । भन्ने जस्ता जवाफ दिनु मानवताको नाताले कतिको उचित हो म ठम्याउन सक्दिन । मेरो राष्ट्रप्रति र संस्थाप्रति म सदैव गर्व गर्दछु । तर मेरो पीडाले एउटा प्रश्न भने सधैँ उभ्याउनेछ । राष्ट्रका लागि छाती थाप्न तयार एक योद्धाले किन अन्तिम अवस्थामा राष्ट्र र संस्थाको साथ सहयोग पाउन सक्दैन ? 🙏
क्याप्टेन : D.B. Thapa Basu (हाल राजीव गान्धी क्यान्सर अस्पताल दिल्लीमा उपचाररत)
प्रतिकृया दिनुहोस