काठमाडौँ । अन्तर्राष्ट्रिय सन्त एवं धार्मिक अभियन्ता कालीबाबा (श्री श्री १००८ महामण्डलेश्वर स्वामी कृष्णनन्द परमहंश बाबा कालीदास) ले जेन–जी आन्दोलनका सन्दर्भमा छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारसँग आग्रह गरेका छन् ।
कालीबाबाले प्रधानमन्त्री सुशीला कार्कीलाई कार्यकालको सफलताका लागि भिडियो सन्देशमार्फत शुभकामना दिँदै जेन–जी आन्दोलनसँगै भ्रष्टाचारीलाई कारबाही गर्न शक्तिशाली आयोग गठन गर्न सरकारसँग आग्रह गरेका हुन् ।
कालीबाबाले देशमा व्याप्त भ्रष्टाचार निर्मूल गर्नका लागि शक्तिशाली आयोग बनाएर छानबिन गरी कडा कानुनी कारबाही गर्न पनि सरकारसँग आग्रह गरेका छन् ।
‘जेन–जी आन्दोलनमा भएको जनधनको क्षतिको छानबिन गर्न आयोग गठन गर्नुपर्छ, साथै भ्रष्टाचार गरेर हाम्रो देशलाई यो हालतमा लाने सबैलाई कानुनी दायरामा ल्याउन शक्तिशाली आयोग बनाउनैपर्छ,’ कालीबाबाले भनेका छन् ।
साथै कालीबाबाले जेन–जी आन्दोलनको जगमा पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा बनेको सरकारले प्रतिनिधिसभा निर्वाचन गर्ने, जेन–जी पुस्तासँगै सम्पूर्ण नेपालीको आकांक्षा पुरा गर्न अग्रसर हुने विश्वास व्यक्त गरेका छन् ।
कालीबाबाले प्रधानमन्त्री कार्कीसँगै नवनियुक्त मन्त्रीहरूलाई पनि राष्ट्रको हितलाई दृष्टिगत गरी नेपाललाई उन्नतिको पथमा अघि बढाउन देशभक्त भएर काम गर्न आग्रह गरेका छन् ।
‘मातृशक्ति, पूर्वप्रधानन्यायाधीश, सच्चा राष्ट्रसेवक सुशीला कार्की नेतृत्वको सरकारले देशलाई शीघ्र शान्ति कायम गर्न सफल हुनेछ, देशमा शान्ति, समृद्धि, एकता र अखण्डता बलियो बनाउँदै समुन्नत राष्ट्र बनाउने लक्ष्यतर्फ अघि बढ्न प्रेरित गर्ने छ, भ्रष्टहरूलाई कारबाही गरेर अन्तर्राष्ट्रिय रुपमा उदाउँदो देशका रुपमा नेपाल स्थापित हुनेछ भन्ने विश्वास लिएको छु,’ कालीबाबाले भनेका छन् ।
कालीबाबाले प्रधानमन्त्री कार्कीको नेतृत्वमा आगामी दिनमा नेपालले शान्ति, समुन्नति, आर्थिक विकास र रुपान्तरणको इतिहास निर्माण गर्दै सुन्दर शान्त र उन्नत राष्ट्रको इतिहास निर्माण गर्ने र यसका लागि आधारभूत तहका नागरिकलाई विश्वासमा लिने तथा आर्थिक, सामाजिक क्षेत्रसँगै अन्तर्राष्ट्रिय जगतलाई पनि विश्वासमा लिएर अघि बढ्न आग्रह गरेका छन् ।
‘भदौ २३ र २४ गते नसोचेको हिंसा भयो । तत्कालीन सरकारले युवा पुस्तामाथि दमन गरेपछि परिस्थिति गम्भीर बन्यो । राष्ट्रिय सम्पत्तिमाथि ठुलो क्षति भयो, नेपालमा मात्रै होइन, विश्वमै यस्तो घटना भएको थिएन, तत्कालीन सरकारको कुकर्मले नेपाल संकटको घडी आइपुग्यो । तत्कालै आयोग बनाएर दोषीलाई कारबाही गर्नुपर्छ,’ उनले भनेका छन् ।
तत्कालीन सरकारको कमजोरी र गैरजिम्मेवारका कारण देश संकटमा परे पनि सम्हालिएर अघि बढ्नुपर्ने उनले बताएका छन् । विश्वको इतिहासमै यस्तो घटना बिरलै मात्र हुने गरेको उल्लेख गर्दै आगामी दिनमा यस्तो दुःखद् स्थिति नआओस् भनेर सबैले शान्ति र सद्भाव बँचाइ राख्न उनले सबैलाई अपिल गरेका छन् ।
साथै कालीबाबाले प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिँदै आफ्नो कार्यकाललाई देश र जनताप्रति समर्पित गरेर नेपाल र नेपालीको शान्तिको चाहनालाई सम्बोधन गर्न सफलता मिलोस् भनेका छन् ।
प्रतिकृया दिनुहोस