• मंगलबार-भदौ-२४-२०८२

नाट्यशालाको आयोजनामा ‘एक चिहान’ नाटकको प्रज्ञामा मञ्चन 

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानमा हृदयचन्द्र सिंह प्रधानको चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटकको मञ्चन भएको छ ।

नाट्यशालाको प्रस्तुतिमा तयार गरिएको यस नाटकलाई रुपान्तरण तथा निर्देशन कलाकार तथा निर्देशक नकुल पौड्यालले गरेका हुन् ।


उपन्यास ‘एक चिहान’ नेपाली साहित्यमा सामाजिक यथार्थ, वर्गीय विभेद र मानवीय संवेदनशीलतालाई गहिरो ढङ्गले उतारेको कृति मानिन्छ । यसै कथावस्तुमा आधारित नाटकले समाजमा विद्यमान अन्याय, असमानता, दमन र मान्छेको अस्तित्वको संघर्षलाई शक्तिशाली रूपमा प्रस्तुत ग¥यो । नाटकको कथा, संवाद र अभिनयसँगै प्रकाश, ध्वनि र संगीत संयोजनले पनि दर्शकलाई भावनात्मक रूपमा गहिरो जोड्न सफल भएको देखियो ।


मञ्चनमा सहभागी कलाकारहरूले पात्रहरूको पीडा, संघर्ष र सपना यथार्थपरक ढङ्गले प्रस्तुत गरे । दर्शकदिर्घाले नाटकका दृश्यहरूमा आफूलाई नै प्रतिविम्बित भएको महसुस गरेको बताए ।


साहित्यकार, रंगकर्मी, विद्यार्थी तथा सर्वसाधारणको उपस्थितिमा प्रेक्षालय खचाखच भरिएको थियो। कार्यक्रममा बोल्ने समीक्षकहरूले ‘एक चिहान’लाई केवल मनोरञ्जन मात्र नभई समाजलाई आत्ममन्थन गराउने दर्पणका रूपमा मूल्याङ्कन गरे ।


यसअघि बुटवल, चितवन र हेटौंडालगायत विभिन्न सहरमा करिब ५४ पटक मञ्चन भइसकेको यो नाटकले जहाँ जहाँ पुगेको छ, त्यहाँ उत्साहपूर्ण दर्शक सहभागिता र सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ । काठमाडौँमा नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको पछिल्लो प्रस्तुतिले यस नाटकको लोकप्रियतालाई अझ उच्च स्तरमा पु¥याएको आयोजकहरूको भनाइ छ ।


निर्देशक पौड्यालका अनुसार, ‘एक चिहान’लाई शैक्षिक प्रयोजनसहित देशका विद्यालय तथा विश्वविद्यालयमा समेत लैजाने योजना छ ।

नाटकमार्फत विद्यार्थीहरूले समाजशास्त्र, साहित्य र मनोविज्ञानसँगै नेपाली समाजको ऐतिहासिक पृष्ठभूमि प्रत्यक्ष बुझ्न सक्ने भएकाले यसलाई अध्ययन–अध्यापनसँग जोड्ने तयारी भइरहेको उनले बताए ।


कार्यक्रमलाई सफल बनाउन निर्देशक, कलाकार, प्राविधिक टोली, संयोजक तथा स्वयंसेवकको उल्लेखनीय योगदान रह्यो ।

प्रकाश, ध्वनि र रंगमञ्चीय व्यवस्थापनमा गरिएको दक्षतापूर्ण प्रयासले सम्पूर्ण प्रस्तुति अझ प्रभावकारी बनेको थियो ।


नाट्यशालाले आगामी दिनमा पनि यस्ता स्तरीय तथा शैक्षिक महत्वका नाटकलाई निरन्तर प्रस्तुत गर्दै नेपाली रंगमञ्चलाई अझ सबल बनाउन योगदान गर्ने प्रतिबद्धता जनाएको छ । उक्त कार्यक्रमको संयोजन बेलकोटगढी नगरपालिकाका वडा २ का वडाअध्यक्ष  रामचन्द्र तिमल्सिनाले गरेका थिए ।
 

प्रतिकृया दिनुहोस