हेटौँडा, १८ भदाै । बागमती प्रदेशको राजधानी हेटौँडामा स्थानीय सरकारले औद्योगिक र सामाजिक रुपान्तरणका ठूला योजना अघि सारेको छ ।
उपमहानगर प्रमुख मिना कुमारी लामाले ऐतिहासिक हेटौँडा कपडा उद्योग पुनः सञ्चालन, काठमाडौं–हेटौँडा रोपवे पुनर्जीवन, पाँच वर्षे शिक्षा रणनीति र तेस्रो सन्तान प्रोत्साहन नीति प्राथमिकतामा रहेको बताएकी छन् ।
तीन वर्षअघि निर्वाचित भएकी लामाले आधा कार्यकाल सक्दा संघीय कानुनी अवरोध, बढ्दो बसाइँसराइ र स्रोतको सीमितता मुख्य चुनौती रहेको स्वीकार गरेकी छन् । तर उनले हेटौँडालाई राजधानी मात्र नभई आत्मनिर्भर औद्योगिक शहर बनाउने प्रतिबद्धता जनाएकी छन् ।
बन्द भएको हेटौँडा कपडा उद्योग पुनर्जीवनका लागि संघीय उद्योग मन्त्रालयसँग छलफल भइरहेको लामाले जानकारी दिइन् । हजारौँ रोजगारी सृजना गर्न सक्ने यो उद्योगलाई पुनः सञ्चालन गर्न कानुनी व्यवस्था मिलाउनुपर्ने उनको भनाइ छ ।
त्यस्तै, नेपालको पहिलो रोपवेका रूपमा चिनिने काठमाडौं–हेटौँडा रोपवेलाई पनि आधुनिक प्रविधि प्रयोग गरी पुनः सञ्चालन गर्ने सम्भावनाबारे अध्ययन भइरहेको उनले बताएकी छन् । उपमहानगरले पाँच वर्षे शिक्षा रणनीति लागू गर्दै मेगा विद्यालय अवधारणा ल्याएको उनले जानकारी दिईन् । गुणस्तरीय शिक्षक, यातायात सुविधा र प्रविधिमैत्री शिक्षा यस योजनाका मूल आधार हुन् ।
हेटौँडा चार वटा राष्ट्रिय राजमार्ग जोडिएको शहर भएकाले बसाइँसराइ बढ्दो छ । सडक, खानेपानी, शिक्षा, स्वास्थ्य र आवासमा दबाब चर्किंदै गएको अवस्थामा उपमहानगरले संघीय र प्रदेश सरकारसँग साझेदारीमा काम अगाडि बढाइरहेको लामाको भनाइ छ ।
लामाले तीन वर्षमा स्थानीय राजस्वबाट कृषि प्रवर्द्धन, किसानलाई मलदेखि पुँजीसम्म सहयोग, ड्र्यागन फल, मेवा, केरा जस्ता उत्पादनको निर्यात वृद्धि र आठ हजार घरपरिवारलाई निःशुल्क पानी वितरणलगायत उपलब्धि उल्लेख गरिन् । प्रमुख मिना कुमारी लामासँग सोधिएका १० प्रश्न र तिनका जवाफको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।
प्रतिकृया दिनुहोस