• बिहीबार-श्रावण-२९-२०८२

‘स्मार्ट’ शौचालयमा स्नान र स्तनपान कक्ष !

 

काठमाडौँ : सार्वजनिक शौचालय भन्ने  बित्तिकै दिसा, पिसाब गर्ने स्थान भन्ने बुझिन्छ । यस्ता शौचालयमा पस्ने बित्तिकै नाक थुन्नुपर्ने पनि हुनसक्छ । 

 

अर्काेतर्फ, यस्ता शौचालयमा फरक क्षमता (अपाङ्गता), स्नान, स्तनपान कक्ष तथा स्यानिटरी प्याड तथा डाइपर फेर्ने सुविधा पाउनु त कल्पना बाहिर । तर आजदेखि कलङ्की नागढुङ्गा राजमार्गअन्तर्गत चन्द्रागिरि–१५ ढुङ्गेअड्डास्थित बस बिसौनी नजिक सञ्चालनमा ल्याइएको अत्याधुनिक (स्मार्ट) सार्वजनिक शौचालयमा ती सुविधा  छन् । उपत्यका बाहिरिन र भित्रिन सधैँ काठमाडाँै महानगरपालिका र चन्द्रागिरि नगरपालिकाको सीमा क्षेत्र ढुङ्गेअड्डामा सधैँ भीडभाड हुने गर्दछ । यात्रु, सर्वसाधारण तथा बटुवाले सार्वजनिक शौचालयका अभावमा अत्यन्त सकस खेप्दै आएका थिए ।  

 

चन्द्रागिरि नगरपालिकाको सहकार्य, चन्द्रागिरि–१५ को सहजीकरण तथा एरोसान सस्टेनेवल स्यानिटेशनको करिब रु एक करोडको लागतमा सो ‘स्मार्ट’ शौचालय करिब दुईआना जमिनमा बनेको हो । यसको सञ्चालन तथा व्यवस्थापन सोही संस्थाले गर्ने जनाइएको छ । 

 

शौचालयमा रोग सङ्क्रमण न्यूनीकरणका लागि स्वचालित उपकरणजस्तै स्वचालित फ्लस, बत्ती, साबुन, धारा छन् भने अलग स्नानकक्ष र महिलाको लागि स्तनपान कक्ष तथा ‘स्यानिटरी प्याड’ किन्ने व्यवस्था गरिएको छ । नगर क्षेत्रमा पहिलोपटक वातावरण तथा महिलामैत्री शौचालय सञ्चालमा आएको हो । 


 
चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले एरोसान सस्टेनेवल स्यानिटशनेसँगका सहयोग र सहकार्यमा नगरका अन्य विभिन्न तीन स्थानमा यस्तै ‘स्मार्ट’ शौचालय बनाइने जानकारी दिनुभयो ।  

 

चन्द्रागिरि–१५ का वडाध्यक्ष घनश्याम लुइँटेलले सर्वधारणाको चाप रहने स्थानमा शौचालयको सुविधा दिनुपर्ने स्थानीय सरकारको दायित्व र सर्वधारणाको हक समेत रहेको हुँदा एरोसान सस्टेनेवल स्यानिटेशनसँगका सहयोग र सहकार्यमा स्मार्ट शौचालय सञ्चालनमा ल्याएको बताउनुभयो । उहाँले भन्नुभयो, “सर्वसाधारणले फोहर फाल्दै आएका स्थानलाई उपयोग गरेर  शौचालय बनाइएको र यसले ओगटेको क्षेत्र बाहिर हरियाली उद्यान बनाइने छ ।”  

 

शौचालयलाई वातावरणमैत्री बनाउन शौचालयबाट निस्केको ठोस तथा तरल पदार्थलाई स्रोतमै व्यवस्थापन गर्न बायोग्यास प्लाण्ट, आकाशेपानी सङ्कलन गरिने लक्ष्य रहेको एरोसान सस्टेनेवल स्यानिटेशनका कार्यक्रम अधिकृत अर्चना श्रेष्ठले जानकारी दिनुभयो । 

 

नेपालमा ‘स्मार्ट’ सार्वजनिक शौचालयको परिकल्पनाकार स्व प्रकाशचन्द्र अमात्य अवधारणाअनुसार सो ‘स्मार्ट’ शौचालय सञ्चालनमा ल्याइएको हो । उहाँ  एसोसान नेपालका संस्थापक अध्यक्ष समेत हुनुहुन्थ्यो ।  

 

एरोसान सस्टेनेवल स्यानिटेशनले काठमाडाँै र ललितपुर महानगरपालिकासँगका सहकार्यमा ती सहरका विभिन्न स्थानमा स्नानगृहसहितको नौवट ‘स्मार्ट’ शौचालय निर्माण तथा सञ्चालन गर्दै आएको छ । 

प्रतिकृया दिनुहोस