• शनिबार-श्रावण-२४-२०८२

तीजको रौनक हराउँदै, देखावटी संस्कृतिको अन्त्यतर्फ ?


हिन्दू महिलाहरूको प्रमुख चाडका रूपमा मनाइने तीज अब केही दिनमै आउँदैछ । विगतमा तीज आउनु महिनाअगावै महिलाहरूले दर खान सुरु गर्थे । विभिन्न पार्टी प्यालेसदेखि आफन्तको घरसम्म दर खाने कार्यक्रमको चटारो हुन्थ्यो । गरगहना र महँगा कपडामा सजिएर महिलाहरूले यस्ता कार्यक्रममा भाग लिन भ्याइनभ्याइ हुन्थ्यो ।

सहकारी संस्थाहरूले समेत तीजको अवसरमा भव्य कार्यक्रम गर्थे । महिलामुखी भनिए पनि, यस्ता कार्यक्रममा पुरुष सेयरधनीहरू पनि सहभागी हुन्थे । कतिपय ठाउँमा तीजको नाममा मदिरा सेवन र बेतिथि फैलिन्थ्यो । तर, यस वर्ष त्यस्तो रौनक देखिएको छैन । यसको प्रमुख कारण हो — बैंक तथा वित्तीय संस्थाको धराशायी अवस्था र आर्थिक मन्दी ।

धनीहरू भ्रष्टाचार र छलकपटबाट झन् धनी बन्दै गएका छन् । गरिबहरू बेरोजगारी र अशिक्षाका कारण झन् गरिब बन्दै गएका छन् । “आफू पनि बचौं, अरूलाई पनि बचाऔं” भन्ने भावनाको ठाउँमा “जसरी हुन्छ, अरूलाई ठगौं अनि आफू मोज गरौं” भन्ने प्रवृत्ति हावी छ ।

सहकारीहरू डुब्दै गएपछि चटारो र नाटकचटक हराउँदै गयो । लघुवित्त संस्थाहरूको अवस्था पनि उस्तै छ । अर्कोतर्फ, आम नागरिक नै आर्थिक संकटको चपेटामा छन् । पैसा नहुँदा तीज आउन तीन साता बाँकी हुँदासमेत पार्टी प्यालेसहरू सुनसान छन् । तीजको भीड पर्खिरहेका प्यालेसहरू यसपटक पनि ठण्डाराम हुने देखिन्छ ।

विगतमा तीज नजिकिँदा सुन र कपडाको पसल, माछामासु तथा डेरीमा ग्राहकको लर्को लाग्थ्यो । अहिले भने कपडा, मासु र डेरी पसलहरूमा भीड घटेको छ । बरु, सुन पसलमा भीड छ, तर किनमेलको लागि होइन-बेच्नका लागि । सुनको मूल्य केही दिनअघि तोलामा एक लाख ९८ हजार ५ सय रुपैयाँ पुग्यो । २०२२ सालमा यही सुनको मूल्य तोलामा ८० रुपैयाँ मात्र थियो । लाखौँ रुपैयाँको फाइदा देखेपछि सुन बेच्नेको भीड लागेको हो ।

सुन किन्न नभई बेच्न मात्र आउने भएपछि ज्वेलर्सहरू पनि हैरान छन् । धेरैलाई ‘पैसा छैन’ भन्दै फर्काउनुपर्ने अवस्था छ । तीज मूलतः परिवारको सुख-स्वास्थ्यका लागि मनाइने चाड हो । तर पछिल्ला वर्षमा यो चाड बढी देखावटी र प्रतिस्पर्धात्मक बन्दै गयो- ‘तैले बढी गहना लगाउने कि मैले ?’ भन्ने होडबाजीसम्म ।

पहिले तीजको दर घरमै पकाइन्थ्यो, शुद्ध शाकाहारी परिकार बनाइन्थे, अनि भोलिपल्ट व्रत बसिन्थ्यो । दाजुभाइ दिदीबहिनीलाई लिन जान्थे । तर, पछि बैंक, सहकारी र राजनीतिक दलहरूले तीजको नाममा महिनौंअगावै पार्टी प्यालेसमा महँगो दर कार्यक्रम गर्न थाले । यसमा भ्रष्टाचारको पैसा र देखावटी खर्चको खुलेआम प्रयोग भयो ।

कलाकारहरूले पनि तीजलाई विकृत बनाउन भूमिका खेले । चेलीबेटीको पीडा र आत्मसम्मानबारे गीत गाउनुपर्नेमा समाजलाई उत्तेजित पार्ने गीत आइपरे । ‘यो तीजमा पोइला जान पाऊँ’ जस्ता गीतले चाडको मर्म ओझेलमा पार्‍यो । नेतादेखि सांसद र सञ्चारकर्मीसमेतले यस्ता गीत र कार्यक्रममा भाग लिए । समाजमा पर्ने असरबारे सोच्ने प्रवृत्ति हरायो ।

राजनीतिक दलहरूले तीजलाई भोट बढाउने साधन बनाए । कतिपयले आफ्ना कार्यकर्ता भेला गर्न, सदस्यता बढाउन र लोकप्रियता कमाउन भ्रष्टाचारको पैसाले तीज कार्यक्रम चलाए । जनताले त्यो पैसा कहाँबाट आएको हो भनेर कहिल्यै सोचेन् । यसरी चाडबाडका नाममा विकृति फैलाउनमा दल, कलाकार, सहकारी, बैंक -सबैको हात छ ।

अब सहकारी डुब्दै जाँदा तीजका देखावटी कार्यक्रम घटेका छन् । तीन वर्षअघि डस्टबिनमा दर फ्याँक्नेहरू आज भोकै बसिरहेका छन् । जीवनभरको कमाइ रमाइलोमा डुबाउने प्रवृत्ति आफैंमा विनाशकारी थियो । बुढापाकाले भन्छन्- “बलेको आगो सबैले ताप्छन्, निभेको आगो कसैले ताप्दैन ।”

तीजका नाममा खर्चिने लाखौं रुपैयाँले यदि झाेलुङ्गे पुल बनाइन्थ्यो भने धेरै गाउँमा आवागमन सजिलो हुन्थ्यो । विद्यालय बनाइन्थ्यो भने पुस्तौँ पुस्ता शिक्षित हुन्थे । तर, नेतादेखि आम नागरिकसम्म कसैले त्यो सोचेनन् । अर्काको पीडा देखेर पनि हात नखुल्ने, तर देखावटी कार्यक्रममा लाखौँ खर्च गर्ने मानसिकता नै हाम्रो समाजको वास्तविक चित्र हो ।

धनीहरू भ्रष्टाचार र छलकपटबाट झन् धनी बन्दै गएका छन् । गरिबहरू बेरोजगारी र अशिक्षाका कारण झन् गरिब बन्दै गएका छन् । “आफू पनि बचौं, अरूलाई पनि बचाऔं” भन्ने भावनाको ठाउँमा “जसरी हुन्छ, अरूलाई ठगौं अनि आफू मोज गरौं” भन्ने प्रवृत्ति हावी छ ।

तीजको रौनक घट्नु मात्र आर्थिक कारणले होइन, देखावटी संस्कृतिको अन्त्यतर्फको संकेत पनि हो । यो अवसरलाई आत्मसुधार र समाजसेवातर्फ मोड्न सके मात्र तीज फेरि आफ्नो वास्तविक मर्ममा फर्किन सक्छ ।

प्रतिकृया दिनुहोस