• बुधबार-असार-३२-२०८२

कास्कीमा मनसुन जोखिम न्यूनीकरणका लागि सवारी सञ्चालनमा समय तालिका लागू

 

गण्डकी, ३१ असार : जिल्ला प्रशासन कार्यालय कास्कीले मनसुनजन्य क्षति न्यूनीकरणका लागि जिल्लाका विभिन्न स्थानमा नीजि तथा सार्वजनिक सवारीसाधनका लागि समय तालिका निर्धारण गरेको छ ।

    
जिल्ला सुरक्षा समितिको आजको बैठकले भोलिदेखि लागू हुने गरी सात दिनसम्म अत्यावश्यकबाहेकका सार्वजनिक÷निजी यात्रुवाहक सवारीसाधनका लागि समय तालिका निर्धारण गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिनुभयो । 

 

यस वर्षको मनसुन सक्रिय अवस्थामा रहेकाले बर्सातको समयमा सुरक्षा संयमता अपनाउन र बाढी, पहिरोको कारणबाट यात्रु तथा सवारीसाधनमा हुनसक्ने सम्भाव्य क्षति न्यूनीकरणका लागि यस्तो निर्णय गरिएको एक सूचना जारी गरी उहाँले जानकारी दिनुभएको हो । 

    
सूचनामा काँहुखोलादेखि सिक्लेस जाने सवारीसाधन साँझ ५ः०० बजेभित्र प्रस्थानविन्दुबाट गन्तव्यस्थलको लागि छुटिसक्नुपर्ने भनिएको छ । यस्तै, सिक्लेसदेखि काँहुखोला जाने सवारीसाधन बिहान ५ः०० बजेपछि प्रस्थानविन्दुबाट गन्तव्यस्थलको लागि छुट्नुपर्ने छ ।

    
विरेठाँटीदेखि घान्द्रुक, विरेठाँटीदेखि उल्लेरी र काँहुखोलादेखि ताङतिङसम्म आवतजावत गर्ने सार्वजनिक÷निजी यात्रुवाहक सवारीसाधन सञ्चालनका सम्बन्धमा यसअघि असार २५ गतेदेखि १५ दिनका लागि जारी गरिएको सूचना यथावत् रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

 

उक्त सूचनामा घान्द्रुक, उल्लेरी र लान्द्रुक जाने सडक (वीरेठाँटी–घान्द्रुक, वीरेठाँटी–उल्लेरी र लुम्ले–लान्द्रुक) मा सञ्चालित सवारीसाधनले बिहान ५ः०० बजेपछि मात्र प्रस्थान गर्न पाउने र साँझ ५ः०० बजेभित्र आफ्नो प्रस्थान विन्दुबाट गन्तव्यका लागि छुटिसक्नुपर्ने भनिएको थियो । 
    

यस्तै, काहुँखोलाबाट ताङ्तिङ जाने सवारीसाधनले बिहान ५ः०० बजेपछि मात्र यात्रा सुरु गर्नसक्ने र साँझ ४ः३० बजेभित्र प्रस्थान बिन्दुबाट छुटिसक्नुपर्ने तालिका निर्धारण गरिएको थियो ।
---

प्रतिकृया दिनुहोस