• मंगलबार-असार-३१-२०८२

दुबईमा श्रमिक संवाद: सुरक्षादेखि अधिकारसम्मको खुला बहस

दर्जनौं अधिकारी र सयौं श्रमिकको सहभागितामा प्रभावकारी संवाद

दुबई, यूएई – आषाढ ३०, २०८२ । गैरआवासीय नेपाली संघ (NRNA) यूएई र नेपाली समाज यूएईको संयुक्त आयोजना तथा नेपाली राजदूतावास, अबुधाबीको संरक्षकत्वमा १४ जुलाई २०२५, “सुरक्षित आप्रवासन सम्बन्धी सचेतना तथा श्रमिक संवाद कार्यक्रम” दुबईमा भव्य रुपमा सम्पन्न भएको छ। यूएईमा कार्यरत नेपाली श्रमिकहरूको अधिकार, सुरक्षा र भलाइप्रति समर्पित यो कार्यक्रम नेपाली आप्रवासी समुदायका लागि उल्लेखनीय उपलब्धिको रूपमा हेरिएको छ।

श्रमिक हकहित र सुरक्षा केन्द्रमा


कार्यक्रमको मुख्य उद्देश्य यूएईमा कार्यरत नेपाली श्रमिकहरूलाई वैदेशिक रोजगारीको क्रममा अपनाउनुपर्ने सावधानी, प्रचलित कानूनी व्यवस्था, अधिकार र सुरक्षासम्बन्धी जानकारीहरू दिनु रहेको थियो। वैदेशिक रोजगारका क्रममा आइपर्ने समस्या र त्यसको समाधानबारे प्रत्यक्ष संवाद, गुनासा सुन्ने र सम्बद्ध निकायबाट जवाफ दिने अवसर समेत यो कार्यक्रमले उपलब्ध गरायो।

कार्यक्रममा यूएईका निर्माण, सुरक्षा र सेवा क्षेत्रहरूमा कार्यरत सयौं श्रमिकहरूको उल्लेखनीय सहभागिता रह्यो। उनीहरूले रोजगारीको क्रममा भोगेका अनुभव, चुनौतीहरू र सल्लाहहरू साझा गरे। श्रमिकहरूको सशक्त सहभागिताले कार्यक्रमको प्रभावकारिता र उद्देश्यतालाई स्पष्ट बनाएको थियो।

उच्चस्तरीय सहभागिता


कार्यक्रममा नेपाली राजदूतावास अबुधाबीका  राजदूत तेज बहादुर क्षेत्री, दुबईस्थित नेपाली महावाणिज्यदूतावासका महावाणिज्यदूत हरि प्रसाद ओडारी लगायत अन्य कूटनीतिक प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। साथै, यूएईमा क्रियाशील विभिन्न सामाजिक संस्था, कम्पनी तथा संघसंस्थाका प्रतिनिधिहरूको समेत उपस्थितिले कार्यक्रममा व्यापकता प्रदान गर्‍यो।

दुबई प्रहरीको तर्फबाट Lieutenant Ms. Maitha Mohamed, Major Ali, र Crime Prevention Team का Sergeant Mr. Yar Mohamed Qasem को विशेष उपस्थिति रहेको थियो। Sergeant Qasem ले दुबईमा बसोबास तथा कार्यरत नेपालीहरूले कानूनी सुरक्षा र मर्यादित आचरण कसरी अपनाउने भन्ने विषयमा विस्तृत जानकारी दिए। उनले Dubai Police App मा रहेको “Police Eye” सुविधाको प्रभावकारी प्रयोग गर्न आग्रह गर्दै श्रमिकहरूलाई सजग र सुरक्षित रहन आग्रह गरे।

श्रमिक सेवामा दूतावासको सक्रियता


कार्यक्रमका श्रम काउन्सेलर दीपेन्द्र पौडेल ले श्रमिकहरूले सामना गरिरहेका प्रमुख समस्या र त्यसको समाधान प्रक्रिया बारे धारणा राखे। प्रथम सचिव  तिल बहादुर सुनार ले पासपोर्ट नवीकरण, कन्सुलर सेवा तथा आप्रवासी आवश्यकतामा दूतावासको सहयोगका बिषयहरू प्रस्तुत गरे। श्रम सहचारी  पंकज लाभ कर्ण ले सामाजिक सुरक्षा कोषसँग श्रमिकहरूको सम्बन्ध, योगदान र लाभबारे सहजीकरण गरे।

कार्यक्रमको समापन गर्दै  राजदूत  क्षेत्रीले, “सीमित स्रोत र जनशक्ति हुँदाहुँदै पनि राजदूतावास प्रवासी नेपालीहरूको सुरक्षाका लागि सतत प्रतिबद्ध छ,” भनी जोड दिए। साथै, निकट भविष्यमा “श्रमिकसंग संवाद” शीर्षकमा दूतावासको आधिकारिक फेसबुक पेजबाट लाइभ कार्यक्रम सञ्चालन गरिने जानकारी दिँदै, श्रमिकहरूलाई जहाँ बसे पनि आफ्नो समस्या तत्काल राख्न सक्ने डिजिटल प्रणालीको प्रयोग गर्न आह्वान गरे।

डिजिटल पहुँच र प्रत्यक्ष संवाद

कार्यक्रम प्रत्यक्ष रूपमा विभिन्न सामाजिक सञ्जाल र संस्थाहरूको माध्यमबाट प्रसारण गरिएको थियो, जसमा ७,००० भन्दा बढी नेपाली दर्शकहरू प्रत्यक्ष रूपमा सहभागी भए। यसले कार्यक्रममा सहभागिता जनाउन नपाएका अन्य श्रमिकहरूसमक्ष पनि जानकारी पुर्याएको थियो।

कार्यक्रममा उठाइएका गुनासा र सुझावहरू तुरुन्तै राजदूतावासका प्रतिनिधिहरूद्वारा सम्बोधन गरियो। सहभागीहरूले दिएका सल्लाह, सुझाव र गुनासा NRNA र नेपाली समाज यूएई का अध्यक्षद्वारा संकलन गरी श्रम काउन्सेलर र श्रम सहचारी समक्ष हस्तान्तरण गरिएको थियो।

दीर्घकालीन प्रभाव र अपेक्षा


कार्यक्रमले नेपाली श्रमिकहरूको सचेतना अभिवृद्धि, श्रमिक–राजदूतावास–समुदाय समन्वय बलियो बनाउने प्रयास, र सुरक्षित आप्रवासनका लागि आवश्यक चेतनाको विकास गर्न उल्लेखनीय भूमिका खेलेको छ।

समापन मन्तव्यमा  राजदूतले यो प्रकारको संवादलाई अझ नियमित बनाउने प्रतिबद्धता जनाए। सहभागीहरूबाट प्राप्त उत्साहजनक प्रतिक्रिया र सुझावका आधारमा आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम आयोजना गरिने संकेत पनि दिइयो।

प्रतिकृया दिनुहोस