काठमाडौं । राष्ट्रिय अनुसन्धान (गुप्तर) विभागका प्रमुख हुतराज थापा आगामी २०८२ भदौ २४ गते तीन वर्षे कार्यकाल पूरा गरेर अवकासमा जाने भएका छन् । उनी २०७९ भदौ २४ गते विभागको चिफमा बढुवा भएका थिए । उनको अवकाशपछि विभागको नेतृत्व सम्हाल्न अतिरिक्त प्रमुख अनुसन्धान निर्देशक ओम जोशी र टेकेन्द्र कार्कीकोबीचमा चर्को प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । अतिरिक्त निर्देशक जोशी सुदूरपश्चिम बैतडीको शैक्षिक क्षेत्रमा धेरै ठुलो योगदान दिएका शिवदत्त जोशीका पुत्र हुन् ।
प्रमुख अनुसन्धान निर्देशक रहेका वर्तमान हुतराज थापा र जोशी दुवैजना २०७९ साउन चार गते एकैदिन अतिरिक्त मुख्य अनुसन्धान निर्देशकमा बढुवा भएका थिए । त्यसबखत पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको कोटाबाट जोशी र पूर्व प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कोटाबाट थापालाई बढुवा गरेको गुप्तचर स्रोतले दावी गरेको छ । स्रोत भन्छ–‘अध्यक्ष प्रचण्डले रोल्पाका थापालाई काखी च्याप्दा सभापति देउवाले पनि बैतडीका गुरूका छोरा जोशीलाई बढुवा गर्नैपर्ने’अडान राखेका थिए ।
यही कारण रातारात विभागको ओ.एण्ड एम. गराएर एक अतिरिक्त मुख्य अनुसन्धान निर्देशक दरबन्दी थप गरी जोशीलाई बढुवा गरिएको स्रोतको दावी छ । २०७९ भदौ २४ मा तत्कालीन प्रमुख यदुलाल खरेल अवकास भएसँगै थापाले विभागको नेतृत्वमा बाजी मार्न सफल भएका थिए । थापाको चिफमा बढुवा भएसँगै टेकेन्द्र कार्कीको पनि अतिरिक्त मुख्य अनुसन्धान निर्देशकमा बढुवा भएको थियो । आगामी २०८२ भदौ २४ गते जोशीलाई चिफमा बढुवा गर्ने आश्वासन गृहमन्त्री रमेश लेखक र नेपाली कांग्रेसका सभापति देउवाले दिएको बताइन्छ ।
तर, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले भने कर्णाली प्रदेश निवासी टेकेन्द्र कार्कीलाई चिफ बनाउनुपर्ने पक्षमा रहेको गुप्तचर स्रोतबाट बुझिएको छ । जोशीलाई चिफ हुन नदिन विभागभित्रैबाट असहयोग हुन थालेको स्रोतले जानकारी दिएको छ । उनी संगठनभित्र इमान्दार, आफ्नो जिम्मेवारीप्रति कर्तव्यनिष्ठ, सरूवा–बढुवामा कसैलाई अन्याय गर्नु हुँदैन भन्ने पक्षमा उभिंदै आएका छन् । त्यसकारण उनी कार्यक्षमता र जेष्ठताका आधारमा संगठनभित्र बढुवाको परिपाटी बसाल्नु पर्नेमा दृढकासाथ उभिंदै आएका पनि छन् ।
कर्मचारीलाई क्षमता अनुसारको जिम्मेवारी दिनुपर्छ भन्दा थापाको कार्यकालभरी उनलाई ओझेलमा पार्ने काम गरिएको स्रोतले दावी गरेको छ । जसले गर्दा प्रमुख थापाले जोशीलाई भन्दा पनि कार्कीलाई काखी च्याप्ने गरेको बताइन्छ । तर, यसपटक भने गृह मन्त्री रमेश लेखक पनि सुदूर पश्चिमको भएकाले कार्की नभएर जोशी नै चिफमा बढुवा हुने चर्चा सुदूरपश्चिम प्रदेशको राजनीतिक वृत्तमा चल्ने गरेको छ । जोशीले चिफमा बाजी मारेको खण्डमा एक वर्षपछि कार्की पनि स्वत चिफको लाइनमा रहने बताइएको छ ।
त्यसैले यसपटकको बढुवामा जोशीलाई अन्याय गर्न नहुने पक्षमा गृहमन्त्री लेखक र कांग्रेस सभापति देउवा दुुवै रहेको स्रोतले दावी छ । यतिखेर विभागमा पाँच रूपैयाँको टिकट टाँसेर विना प्रतिस्पर्धा जागिर खाने डिएसपी भन्दा माथिका हिाकमहरूको फुर्तिफार्ती निकै बढेको बताइन्छ ।
कुनै गतिलो सूचनाको स्रोत नभएका एसपी, एसएसपी र डिआईजी, सहायक सूचक, सूचक र अनुसन्धान सहायकले दिएका सतही सूचनाका आधारमा खेलेर आकर्षक जिल्लाको प्रमुख र दुई–तीन वर्षमा बढुवा पड्काउने प्रवृत्ति मौलाउँदै गएको छ ।
तिनै हाकिमहरु नै तल्लो तहका कर्मचारीहरूको बढुवामा भने कुस्त थैली असुलेर चलखेल गर्दै आएको पीडितहरु बताउँछन् । गुप्तचरमा बढुवा हुन र घर पायक सरूवा हुन कि त थैली, कोसेली भेट, वा मन्त्री अथवा प्रधानमन्त्री कार्यालयबाट सोर्सफोर्स लगाउनु पर्ने बाध्यता रहेको स्रोतले बताएको छ । जतिसुकै मेहनत गरेर काम गर्दा, १०–१२ वर्षले सिनियर, शैक्षिक योग्यता र कार्य सम्पादनले अगाडि हुँदा पनि बढुवा हुन दुई÷तीन महिनाको तलव माथिल्लो निकायमा अग्रिम रुपमा नटक्र्याइकन बढुवा र घर पायक सरुवा नहुने पीडित स्रोतले गुनासो गरेको छ ।
अझ घर पायक सरूवा हुन पनि थैली भेट गर्नुपर्ने प्रवृत्ति मौलाएको बताइन्छ । सो प्रवृत्ति यसअघि संगठनको नेतृत्व गरिसकेका दिलीप रेग्मी, गणेशप्रसाद अधिकारी, यदुलाल खरेल कार्यकालबाट सुरु भएको गुप्तचरहरु गुनासो गर्छन् । यस्तो प्रवृत्ति वर्तमान मुख्य अनुसन्धान निर्देशक थापाका पालामा अझ बढी मौलाएको बरफबाग स्रोतको दावी छ ।
त्यसभन्दा अगाडि प्रमुख रहेका गोविन्द कर्म थापा, हरिबहादुर चौधरी, देवीराम शर्मा, अशोकदेव भट्ट, मोतिराज गुरूङको कार्यकालमा भने यसरी अतिरिक्त रकमको लेनदेन हुने गरेको थाहा नभएको बरफबाग स्रोतले बताएको छ । ०७४ सालमा विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमातहत लगेपछि भने थप ओझेलमा पर्दै गएको बताइन्छ । (साँघु साप्ताहिक, २०८२ असार १६)
प्रतिकृया दिनुहोस