• शुक्रबार-असार-२०-२०८२

रामकुमारी झाँक्रीमाथि कारबाहीको तयारी : एकीकृत समाजवादीको नेतृत्व द्वन्द्व सतहमा

झाँक्रीको विस्फोट : ‘अर्ली महाधिवेशन’ र नेतृत्व परिवर्तनको माग

असार १९, काठमाडौं।  एकीकृत समाजवादी (एस) पार्टीभित्रको अन्तरविरोध अब खुला टकरावमा उत्रिएको छ । २०८२ असार १४ गते शनिवार लुम्बिनी प्रदेशमा आयोजित युवा संघको अधिवेशनमा पार्टी नेतृ रामकुमारी झाँक्रीद्वारा दिइएको अभिव्यक्तिपछि पैदा भएको विवादले नाटकीय मोड लिएको छ ।


पार्टी अध्यक्ष माधवकुमार नेपालमाथि ‘सिनो काँधमा बोक्न नसकिने’ अभिव्यक्ति दिएपछि एस पार्टीमा अहिले झाँक्रीमाथि कारबाहीको प्रक्रियामा अगाडि बढेको छ ।

झाँक्रीको विस्फोट : ‘अर्ली महाधिवेशन’ र नेतृत्व परिवर्तनको माग


युवा कार्यकर्तामाझ रामकुमारी झाँक्रीले पार्टीको नेतृत्वको पुनःसंरचना आवश्यक रहेको भन्दै अर्ली महाधिवेशनको माग गरेकी छिन् । उनले भनिन्, ‘अबको अवस्थामा नेतृत्व फेरबदल अपरिहार्य छ, महाधिवेशन नगरिए अर्को अध्यक्ष मनोनयन गरेरै भए पनि परिवर्तन गरिनुपर्छ।’ यति मात्र होइन, उनले अध्यक्ष नेपाललाई ‘सिनो’ भन्दै तिखो व्यङ्ग्य गरिन्-‘सिनो काँधमा बोकेर हिँड्न सकिन्न, हामी अब नयाँ युगको राजनीतिको खोजीमा छौं।’

 

झाँक्रीको उक्त भनाइ सार्वजनिक भएसँगै पार्टीभित्र तरंग उत्पन्न भयो । त्यसै दिन साँझ महासचिव घनश्याम भुसालले झाँक्रीलाई लक्षित गर्दै अध्यक्ष नेपालविरुद्ध ‘नबोल्न र नलेख्न’ निर्देशन जारी गरे । भुसालले २०८२ असार १५ गते जारी निर्देशनमा नेतृत्वको आलोचना सार्वजनिक रूपमै नगर्न पार्टी पदाधिकारीहरुलाई सचेत गराएका थिए ।

सचिवालय बैठक र अनुशासन आयोगको सक्रियता


यसै घटनाक्रमको पृष्ठभूमिमा एस पार्टीको सचिवालय बैठक २०८२ असार १९ गते बस्यो । बैठकमा झाँक्रीको अभिव्यक्तिलाई गम्भीर अनुशासनहीनता मान्दै कारबाहीको बाटो खोल्ने निर्णयतर्फ छलफल भयो । पार्टी स्रोतका अनुसार, सचिवालय बैठकले अनुशासन आयोगलाई सक्रिय गराउँदै झाँक्रीमाथि कारबाही प्रक्रिया अघि बढाउने संकेत दिएको छ ।

 

स्रोतका अनुसार, झाँक्रीलाई स्पष्टीकरण सोध्ने तयारी गरिएको छ, त्यसपछि अनुशासन समितिबाट कारबाही सिफारिस हुने र सचिवालयले निर्णय गर्ने योजना पार्टी अध्यक्ष नेपाल पक्षको रहेको छ ।

 

हालका लागि पार्टीले अर्को सचिवालय बैठक २०८२ असार २२ गते आइतबारका लागि स्थगित गरेको छ । सो बैठकमा झाँक्रीप्रति स्पष्ट निर्णय हुने अपेक्षा गरिएको छ ।

नेतृत्वको द्वन्द्व कि वैचारिक बहस ?


रामकुमारी झाँक्री पार्टीभित्र सशक्त र स्वतन्त्र रूपमा बोल्ने नेतृको छवि बोकेकी छिन् । केही समयअघि पार्टीका पूर्वमहासचिव डा.विजय पौडेललगायतले पार्टी परित्याग गरेपछि एस पार्टीभित्र सुधारको आवाज झाँक्रीमार्फत अझ बुलन्द रूपमा सार्वजनिक भएको छ ।

 

उनको हालको अभिव्यक्ति भने व्यक्तिगत असन्तुष्टिभन्दा गहिरो, संस्थागत सुधार र नेतृत्वको पुनःगठन सम्बन्धी रहेको भन्दै पार्टीभित्रै केही नेताहरुले झाँक्रीलाई समर्थन पनि गरेका छन् । तर अध्यक्ष नेपाल र महासचिव भुसाल पक्ष भने यो अनुशासनहीनता र नेतृत्वको सार्वजनिक होच्याइ भएको तर्क गर्दै कारबाही अपरिहार्य रहेको धारणा बनाइरहेका छन् ।

एस पार्टी भित्रको संकट : रणनीतिक मोडमा

२०८२ सालसम्म आइपुग्दा एस पार्टी दुई तहको संकटमा फसेको देखिन्छ-पहिलो, नेतृत्वप्रति व्यापक असन्तुष्टि; दोस्रो, संगठनात्मक दिशाविहीनता । अख्तियार दुरूपयाेग अनुसन्धान आयाेगले अध्यक्ष नेपालमाथि सार्वजनिक प्रश्न उठाउने झाँक्रीलाई कारबाही गर्दा पार्टी झनै विभाजित हुने संकेत देखिएको छ ।

 

झाँक्रीमाथि कारबाहीले केहीलाई थमाउने प्रयास भए तापनि, यसले नयाँ विद्रोह जन्माउने सम्भावना पनि उत्तिकै बलियो छ । खासगरी एसका विद्यार्थी संगठन यथार्थमै विभाजित भइसकेका छन्, पूर्वमहासचिव विजय पौडेल गुट अलग्गिइसकेको अवस्था छ, यस्तोमा झाँक्री जस्ता असन्तुष्ट नेतृलाई दबाउने रणनीति दीर्घकालीन रूपमा पार्टीको हितमा पर्छ कि पर्दैन भन्ने प्रश्न पनि पार्टीिभत्रै अब चर्किन थालेको अवस्था छ ।

 

निष्कर्ष : कारबाही कि आत्मालोचनाको बाटो ?

झाँक्रीमाथि कारबाहीको तयारीले एस पार्टीभित्रको वैचारिक बहसलाई दमन गर्ने खतरा बढेको छ । पार्टीको अस्तित्वलाई अझ सशक्त बनाउने उद्देश्यले आन्तरिक लोकतन्त्रलाई सुदृढ गर्नुको सट्टा असहमतिको स्वर दबाउने परिपाटीले संस्थागत रूपमै एस कमजोर हुने संकेत देखिन्छ ।

 

अबको सचिवालय बैठक (२०८२ असार २२) निर्णायक बन्नेछ-या त झाँक्रीलाई कारबाही गर्दै नेतृत्वले कठोर सन्देश दिनेछ, या झाँक्रीले स्वीकारे आलोचनालाई आत्मालोचनामा बदल्दै पार्टीभित्रको बहसलाई सशक्त बनाउने दिशातर्फ अघि बढ्नेछ ।

 

संवादको संस्कृति बनाउने कि कारबाहीको डण्डा चलाउने ? यो प्रश्न अहिले एस पार्टीको नेतृत्वमाथि चिच्याउँदैछ ।

प्रतिकृया दिनुहोस