• बुधबार-असार-१८-२०८२

काठमाडौंमा मोटरसाइकल चोरीमा संलग्न ३ जना ट्राफिक प्रहरीको नियन्त्रणमा

 

काठमाडौं । काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट मोटरसाइकल चोरीमा संलग्न तीन जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूलाई हराइरहेको अवस्थामा रहेका मोटरसाइकलसहित पक्राउ गरिएको हो।

प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा धादिङको गजुरी गाउँपालिका–७ स्थायी घर भई हाल काठमाडौंको पशुपतिमा बसोबास गर्ने २२ वर्षीय सन्तोष कोइराला र सोही ठाउँका २७ वर्षीय सजिर श्रेष्ठ रहेका छन्। उनीहरूलाई काठमाडौंको पशुपति मन्दिर नजिकैबाट बागमती प्रदेश नम्बर ०२–०५५ प ४०६८ नम्बरको मोटरसाइकलसहित ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो।

उक्त मोटरसाइकल काठमाडौंको बालाजुबाट हराएको भनी गोरखाका सुरज तामाङले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए। प्रारम्भिक अनुसन्धानपछि दुवैजनालाई थप अनुसन्धानका लागि प्रहरी वृत्त बालाजु पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो।

यस्तै, अर्को घटनामा काभ्रेपलाञ्चोक स्थायी घर भई काठमाडौं जोरपाटी बस्ने ३७ वर्षीय देवराज योञ्जन पनि मोटरसाइकलसहित पक्राउ परेका छन्। उनलाई काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६, बेशीगाउँबाट बागमती प्रदेश नम्बर ०२–०२२ प ३४४८ नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार सो मोटरसाइकल काठमाडौंको बूढानीलकण्ठ क्षेत्रबाट हराएको थियो। सोलुखुम्बु स्थायी घर भई हाल चाबहिलमा बस्दै आएका काजी शेर्पाले उक्त मोटरसाइकल हराएको भन्दै ट्राफिक प्रहरीमा निवेदन दिएका थिए। पक्राउ परेका योञ्जनलाई अनुसन्धानका लागि प्रहरी वृत्त बौद्ध पठाइएको प्रवक्ता गिरीले बताउनुभयो।

प्रवक्ता गिरीका अनुसार, सवारी चोरी नियन्त्रणको प्रयास निरन्तर भइरहे पनि सवारीधनीहरू आफैँ पनि सजग रहनु आवश्यक छ। सवारी साधन सुरक्षित स्थानमा पार्क गर्ने, ह्यान्डल लक, डिस्क लक, चेन लक, ह्विल लकजस्ता सुरक्षा उपकरण प्रयोग गर्ने तथा एकान्त र सुनसान ठाउँमा सवारी नछाड्न आग्रह गरिएको छ।

सवारी साधन हराएको खण्डमा तुरुन्तै ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ वा नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा सम्पर्क गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन प्रहरीले अनुरोध गरेको छ।

— साँघु न्यूज डटकम

प्रतिकृया दिनुहोस