केही साताअघि भारतमा भयावह विमान दुर्घटना भयो। एअर इन्डियाको विमान उडेपछि दुई मिनेटमै एक भवनमा ठोक्किएको थियो। सो भवनमा एमबीबीएस अध्ययन रिरहेका धेरै विद्यार्थीको घटनास्थलमै मृत्यु भयो।
सडकमा हिँडिरहेका सर्वसाधारण पनि ज्यान गुमाउन बाध्य भए। विमानमा २४२ यात्रु सवार थिए, तीमध्ये केवल एकजना मात्र बाँच्न सके। भारतमा भएको यस भीषण घटनाले नेपालका बासिन्दा पनि त्रसित बनेका छन्।
सरकार भने यो संवेदनशील विषयमा अझै पनि मौनजस्तै छ। त्रिभुवन विमानस्थल आसपास घर भएकाहरूलाई अहिले आफन्तले अर्को सुरक्षित स्थानमा सर्न सुझाव दिइरहेका छन्। तर, यहाँको घरजग्गालाई बैंकहरूले समेत धितोमा लिने नगरेका कारण जोखिमको सूचक झनै बलियो भएको छ।
नेपालमा हाल अन्तर्राष्ट्रिय विमानस्थल बनाउने होड चलेको छ। तर, कुनै पनि विमानस्थल व्यवस्थित छैनन्। जति विमानस्थल छन्, ती सबैका वरिपरि घना बस्ती विस्तार भइसकेको छ। दुर्घटना हुँदा क्षति नियन्त्रण बाहिर जान सक्ने खतरा स्पष्ट छ।
भारतको दुर्घटनापछि काठमाडौंका त्रिभुवन विमानस्थल आसपास बसोबास गर्ने हजारौं घरधनी र डेरावाल त्रासमा छन्। कतै विमान आफ्नै घरमा ठोक्किने हो कि भन्ने डर उनीहरूमा दिन–रात छ। डेरावाल त सर्न सक्छन्, तर घरधनीको हालत बेहाल छ-छोडे जिन्दगीभरको कमाइ गुम्ने, बस्यो भने ज्यान जोखिममा पर्ने।
कुनैबेला भाडामा सहजै जाने घनाबस्तीहरू मूलपानी, गोठाटार, काँडाघारी, पेप्सिकोलादेखि बौद्ध, सिनामंगल, जोरपाटी, गैरीगाउँ, दक्षिणढोकाजस्ता क्षेत्रहरू अहिले खाली कोठा र फ्ल्याटले भरिएका साइबाेर्ड मात्रै देखिन्छन् । स्थानीय भन्छन्, “पहिला कोठा पाउन मुस्किल थियो, अहिले त कोठा नै कोठा खाली छन्।”
यी क्षेत्रमा रहेको अधिकांश जग्गा पशुपति गुठी, सरकारी वा ऐलानी रहेको बताइन्छ। तर, बस्ती द्रुत गतिमा विस्तार भयो। अहिले घरधनीहरू आफ्नो सम्पत्ति बेच्न खोजिरहेका छन्, तर किन्ने कोही छैन। कारण स्पष्ट छ-एअरपोर्ट आसपास बस्न अब जोखिमपूर्ण मानिन्छ।
विमानको मात्र होइन, इन्धन डिपोको समेत जोखिम छ। काठमाडौंको जडीबुटी र थानकोट क्षेत्रमै पेट्रोल, डिजेल, मट्टितेल र विमान इन्धनको डिपो सञ्चालनमा छन्। विश्वका धेरै देशमा विमानस्थल आसपास सयौं मिटरसम्म खाली क्षेत्र राखिन्छ, ताकि दुर्घटना हुँदा ठूलो क्षति हुन नपाओस्। तर, हामीकहाँ एअरपोर्ट छेउछाउ घनाबस्तीले भरिएको छ।
सन् २०१२ (वि.सं. २०६९ असोज १२) मा सीता एअरको विमान काठमाडौंबाट लुक्लातर्फ उडेपछि मनोहरा फाँटमा दुर्घटनाग्रस्त भयो। विमानमा १९ जनाको ज्यान गयो। त्यसपछि २०७४ फागुन २८ मा युएस–बंगलाको विमान त्रिभुवन विमानस्थलमा दुर्घटना हुँदा झण्डै पाँच दर्जनको ज्यान गयो। पछिल्लोपटक २०८१ साउन ९ गते सौर्य एयरको जहाज पोखरा उड्ने क्रममा विमानस्थलभित्रै दुर्घटनामा पर्यो-१८ जनाको मृत्यु भयो।
यी घटनामा भाग्यले साथ दिएर विमान बस्तीमा पर्नबाट जोगियो। तर, सधैं भाग्यले साथ दिने हो भन्ने छैन।
सरकार भने यो संवेदनशील विषयमा अझै पनि मौनजस्तै छ। त्रिभुवन विमानस्थल आसपास घर भएकाहरूलाई अहिले आफन्तले अर्को सुरक्षित स्थानमा सर्न सुझाव दिइरहेका छन्। तर, यहाँको घरजग्गालाई बैंकहरूले समेत धितोमा लिने नगरेका कारण जोखिमको सूचक झनै बलियो भएको छ।
विकल्प के छन् ? सरकारसँग अब केवल दुई विकल्प बाँकी छन्-या त विमानस्थल सारियोस्, वा बस्ती नै हटाइयोस्। विमान चौबिसै घण्टा उड्छन्, अवतरण गर्छन्-कसैको घरमा ठोक्किन सक्ने सम्भावना निरन्तर रहन्छ। यस्तो अवस्थामा सरकारले जनताको जीवन र सम्पत्तिको सुरक्षा सुनिश्चित गर्न सक्रियतापूर्वक कदम चाल्नैपर्छ।
चार दशकअघि यो क्षेत्र प्रायः खुला थियो-खेतबारी, थोपा घर, कम जनसंख्या। तर भूमाफियाले योजना बनाई जग्गा बाँडफाँड गरे, घर बनाए, सरकारले न त नियमन ग¥यो, न त योजना बनायो। अहिले यो संकटपूर्ण स्थितिमा आइपुगेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले अहिले विमानस्थल सार्ने वा बस्ती हटाउने प्रस्ताव मन्त्रिपरिषद्मा लैजानुपर्ने अवस्था आएको बताएका छन्। उनले भनेको यो सुझाव अब निर्णयमा बदलिनुपर्छ-नत्र सरकारलाई पछुतो बाहेक केही बाँकी रहनेछैन।
दुर्घटना सधैं चेतावनी दिएर आउँदैन। सरकारले समयमै सचेत हुन जरुरी छ। जनताको ज्यान जोगाउनु सरकारको प्रमुख दायित्व हो-त्यसबाट उन्मुक्ति पाइँदैन।
त्यस्तै, जनता स्वयं पनि सचेत हुनुपर्छ। जीवन अमूल्य छ। जोखिमपूर्ण क्षेत्रमा बस्ने निर्णय फेरि विचार गर्न आवश्यक छ। सम्पत्ति जोगाउने नाममा ज्यान गुमाउने अवस्थाबाट बच्नुपर्छ। किनभने–ज्यान छ भने अरू सबै फेरि कमाउन सकिन्छ।
एउटा विमान घरभित्र पसेको भारतको दृश्य ताजै छ। नेपालमा त्यस्तो नहोस् भनेर अब हामी सबै सजग, सचेत र जिम्मेवार बन्नु आवश्यक छ।
प्रतिकृया दिनुहोस