ढाका, २१ जुन २०२५। नेपाल सरकारकाे पर्यटक प्रवर्द्धन अभियान अन्तरगत “छिमेकी नेपाल: जीवनभरको अनुभवको भूमि” भन्ने नारासहित ढाकामा २० जुनकाे साँझमा ‘नेपाल–बंगलादेश पर्यटन भेट’ कार्यक्रम सम्पन्न भएको छ। नेपालकाे ढाका अवस्थित दूतावास र नेपाल पर्यटन बोर्ड (NTB) को संयुक्त आयोजनामा भएको उक्त कार्यक्रमले दुई देशबीचको पर्यटन तथा जनस्तरको सम्बन्धलाई थप सशक्त बनाउन महत्वपूण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा उपस्थित नेपाली राजदूत घनश्याम भण्डारीले बंगलादेशी पर्यटकहरू माझ नेपालप्रति बढ्दो आकर्षणको चर्चा गर्दै नेपालको अनुपम प्राकृतिक सौन्दर्य, समृद्ध सांस्कृतिक सम्पदा र साहसिक गतिविधिहरूको अद्वितीय मिश्रण रहेको बताए । उनले पर्यटन तथा जनस्तरको आदानप्रदानलाई साझा सांस्कृतिक सम्पदा र मित्रताको उत्सवको रुपमा व्याख्या गर्दै, दुई देशका ट्राभल व्यवसायीहरूलाई बी-टू-बी सम्बन्धलाई अझै प्रगाढ बनाउँदै आपसी सम्बन्धलाई थप बलियो बनाउनेतर्फ आग्रह गरेका छन् ।
नेपाल पर्यटन बोर्डका कार्यबाहक निर्देशक रोहिणी प्रसाद खनालले नेपालको पर्यटकीय सम्भावनाहरू समेटिएको विस्तृत प्रस्तुतिमा पर्वतारोहण, पदयात्रा, प्याराग्लाइडिङ, बन्जी जम्पजस्ता साहसिक गतिविधिदेखि लिएर योग, ध्यान तथा वेलनेस टुरिज्म, चिकित्सा पर्यटनजस्ता उदाउँदै गरेका क्षेत्रहरूलाई समेत समेट्दै नेपाललाई “अनुभव गर्न सकिने” गन्तव्यको रूपमा चित्रण गर्नुभयो। उहाँले “नेपाल हेर्न मात्र होइन, महसुस गर्न पनि हो” भन्ने सन्देशमार्फत बंगलादेशी पर्यटकहरूलाई नेपाल भ्रमणमा आउन आह्वान गरेका थिए ।
बंगलादेशको नागरिक उड्डयन तथा पर्यटन मन्त्रालयका संयुक्त सचिव श्री एकेएम मोनिरुज्जमानले दुई देशबीच पर्यटनले साँचो मैत्रीपूर्ण सम्बन्ध प्रगाढ बनाउने माध्यम भएको उल्लेख गर्दै, नेपाल र बंगलादेशलाई पूरक पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्दै संयुक्त टुर प्याकेज विकास गर्न आवश्यक रहेकोमा जोड दिएका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य दिँदै नेपाली दूतावासकी उप–प्रमुख श्रीमती ललिता सिलवालले नेपाल सरकार बंगलादेशसँग पर्यटन क्षेत्रमा सहकार्य गहिर्याउँदै यस क्षेत्रको सम्भावनालाई पूर्ण रूपमा उपयोग गर्न प्रतिबद्ध रहेको उल्लेख गरिन् ।
बंगलादेशी आरोही इकरामुल हसन शाकिलले हालैको १३७२ किलोमिटर लामो ‘सी टु समिट’ यात्रा -जसको अन्त्यमा उनले १९ मे २०२५ मा सगरमाथा शिखरको सफल आरोहण गरेका थिए-बारे प्रेरणादायी अनुभव साझा गरे ।
कार्यक्रममा बंगलादेश ट्राभल एजेण्ट संघ (ATAB) का अध्यक्ष अब्दुस सलाम अरेफ र एशियन टुरिज्म फेयरका अध्यक्ष मोहिउद्दिन हेलालले पनि मन्तव्य राखेका थिए ।
🎶 सांस्कृतिक कार्यक्रम र पुरस्कार आकर्षण
नेपाली लोक सांस्कृतिक प्रस्तुतिहरूले कार्यक्रममा सांगीतिक र सांस्कृतिक रङ थपेका थिए। साथै, सहभागीहरूको आकर्षण बढाउन राफल ड्रा आयोजना गरिएको थियो, जसमा ढाका–काठमाडौं दुईतर्फी हवाइ टिकट (हिमालय एयरलाइन्स र बिमान बंगलादेश एयरलाइन्सको प्रायोजनमा) र नेपाली ट्राभल एजेन्सीहरूले प्रायोजन गरेका विशेष छुटका अवकाश प्याकेजहरू प्रदान गरिएको थियो।
🤝 बी-टू-बी सत्र र प्रतिनिधिमण्डलको सहभागिता
कार्यक्रम प्रारम्भ हुनु अघि नेपाल र बंगलादेशका ट्राभल एजेन्सी तथा पर्यटन व्यवसायीहरूबीच प्रत्यक्ष भेटघाट (B2B Networking) सत्र आयोजना गरिएको थियो, जसले व्यावसायिक साझेदारीलाई सुदृढ बनाउने उद्देश्य राखेको थियो।
नेपालबाट उक्त कार्यक्रममा पर्यटन बोर्डका अधिकारीहरू सहित १३ वटा ट्राभल तथा टुर कम्पनीका प्रतिनिधिहरू सहभागी थिए। कार्यक्रममा बंगलादेश सरकारका अधिकारी, ट्राभल एजेन्सी प्रतिनिधि, होटल व्यवसायी, एयरलाइन्स प्रतिनिधि र पर्यटन क्षेत्रमा आबद्ध १५० भन्दा बढी व्यक्तिहरूको उपस्थिति रहेको थियो।
प्रतिकृया दिनुहोस